|

म्याग्दी : भनिन्छ– ८४ वर्ष काटिसकेका वृद्धवृद्धा देवतास्वरुप हुन्।’ सांसारिक मोह, माया, प्रलोभन र प्रपञ्चबाट पर भै भगवानको स्मरण, ध्यान र आराधनामा लाग्नु पर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षिय खड्गबहादुर थापा र उनकी पत्नी खिरकुमारी थापा एक गाँस खानका लागि अरु कसैको आश गर्दै दाजुभाइको भैँसी बाध्ने गोठमा बास बसेर कालको प्रतीक्षा गर्न बाध्य छन्।

समयले ९६ वसन्त पार गरे पनि जीवनमा कहिल्यै वसन्त (सुख) अनुभव गर्न नसकेका थापाले बिरक्तिएर पटकपटक आत्महत्या गर्ने सोच बनाए पनि पत्नी खिरकुमारीले नमानेपछि अहिलेसम्म बाँचेको बताए। ‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,’ थापाले भने, 'यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ।’

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने ९६ वर्षिय थापाको मनमा पीडा र दुःखको भेल नै गड्गडाइरहेको महशुस गर्न सकिन्छ। लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध-दही ल्याएर खाने गरेका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर सहाराको बन्धन (पत्नी) आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला) कि भन्ने चिन्ताले थापा पिरोलिइरहन्छन्।

​सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न)। आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीका सन्तान विवाह भएर गएकी एकमात्र छोरी छन्, ती पनि नबोल्ने (अपाङ्ता भएकी) छन्। बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्छन्।

३८ वर्षअघि २०४० सालमा आफ्नो छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो। त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) उकुच बनेर चहर्‍याइरह्यो, दुःखी रह्यो।

३८ वर्षअघिको अवस्था सम्झदै थापाले भने, ‘घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदिएँ अनि झारेगैरा (तराई) गएँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आएँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौं।’

थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन्। सोही रकमले घरको केही खर्च चल्ने गर्छ। ‘अहिलेसम्म बिरामी परेर उपचारका लागि खर्च गर्न परेको छैन, बिरामी पर्ने हो भने यो रकमले के भ्याउँथ्यो र,’ थापाले भने।

सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ। खिरकुमारीले पनि ८० वसन्त पार गरेकी छन्। शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्छिन्।

‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ,’ खिरकुमारीले गहभरि आँसु पार्दै भनिन्, ‘बुढेसकालले छोपेपछि जीउन निकै सकस भएको छ। हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ। निकै कष्टकर जीवन बिताउनु परेको छ। यस्तो कसैलाई पनि नपरोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.