|

काठमाडौं सरकारले वैशाख ३० मा स्थानीय चुनावको मिति तय गरेको छ। विकास र पूर्वाधारलाई मुख्य चुनावी एजेण्डा बनाएर निर्वाचन जितेका जनप्रतिनिधिले कार्यकाल सकिँदा पनि प्रतिबद्धता पूरा नगरेको भन्दै विभिन्न स्थानमा विरोध हुन थालेको छ।  

जनताको हरेक समस्याको समाधान गर्ने आश्वासन देखाई स्थानीय निर्वाचन जितेका जनप्रतिनिधिले काम नगरेको भन्दै स्थानीयले विरोध जनाउन थालेका हुन्। जनप्रतिनिधिको कार्यकालको अन्त्यमा विकास निर्माणको काम नभएको भन्दै विभिन्न स्थानमा स्थानीय विरोध गर्दै प्रदर्शनमै उत्रिएका छन्।

स्थानीयहरूले कतै ठेकेदारका फोटो सडकपेटीमा राखेका छन्, कतै सवारी आगमन रोकेर प्रदर्शन गरेका छन्। कतै जनप्रतिनिधिलाई कार्यालय प्रवेशमा रोक तथा सांसदलाई सडकमै घेरेर नाराबाजी लगाएका छन्।

कालोपत्रे सडक माग गर्दै काठमाडौंको चाबहिल-साँखु सडकखण्डअन्तर्गत थली बजारका स्थानीयले बिहीबार बिहानैदेखि प्रदर्शन गरे। वर्षौंदेखि हिलो र धुलोले आक्रान्त स्थानीयले जनप्रतिनिधिलाई कार्यालय प्रवेश गर्न रोक लगाई विरोध गरेका थिए। साथै‚ एमालेका नेता एवं बागमती प्रदेशको पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँललाई समेत बीच सडकमा रोकेर स्थानीयले सडक बनाउन माग गर्दै नाराबाजी गरेका थिए।

चाबहिल-साँखु सडक साता वर्षदेखि कालोपत्रेको पर्खाइमा छ। स्थानीय निर्वाचनअघि नै सडक विस्तारको चर्चा चलेको थियो। तत्कालीन एमालेका नेता तथा पूर्वप्रधानमन्त्री (हाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष) माधवकुमार नेपाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख हरिकृष्ण थापा, उपप्रमुख विन्दु सिम्खडाले सोही सडक निर्माणलाई चुनावी एजेण्डा बनाएर निर्वाचन जिते। तर‚ सडक कालोपत्रे नभएको स्थानीयको गुनासो छ। हालसम्म पनि हिलो धुलोको सास्ती कायमै छ।   

सडकको नाममा राजनीति गर्नेका कुर्सी फेरिए पनि सडकको अवस्था उस्तै रहेको स्थानीयको भनाइ छ। सडक निर्माणको माग गर्दै स्थानीयले पटक-पटक आन्दोलन गरे। आन्दोलनरत पक्षसँग पटकपटक विभिन्न सम्झौता पनि भयो। तर‚ त्यो सम्झौता कार्यान्वयन भयो न सडक नै निर्माण भयो। स्थानीय हरिबोल कुइँकेल भन्छन्, ‘चुनाव जित्नका लागि मात्र एजेण्डा बनाएका रहेछन्। कार्यकाल सकिँदा पनि निर्माण भएन। आज भोलि भन्दै टारियो।’ 

कालोपत्रे माग गर्दै बर्सेनि आन्दोलन

बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोगेका स्थानीयले सडक कालोपत्रे माग गर्दै पटकपटक आन्दोलन गरे। आन्दोलन गरेको केही दिन काम गरेजस्तो गर्ने र विस्तारै हराउने गरेको स्थानीयको आरोप छ। सडक कालोपत्रे माग गर्दै आजसम्म १० पटक आन्दोलन गरेको स्थानीय कुइँकेल बताउँछन्।  

१० पटकमा आश्वासन मात्र पाएको उनको भनाइ छ। उनले भने, ‘कहिले नगरपालिकाको क्षेत्राधिकारभित्र पर्दैन, मुआब्जा विवादले काम भएन, कहिले ठेकदार सम्पर्कमा आएन, काम गरेन भन्दै पन्छिए।’

सर्वोच्च अदालतले उपलब्ध भएको स्थानमा कालोपत्रे गर्ने आदेश दिइसकेको छ। त्यति हुँदाहुँदै पनि काम गर्न नसक्नु भनेको अक्षमता भएको स्थानीयको भनाइ छ। जनताको काम गर्नका लागि आएका जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल कुर्सीमै बसेर बिताएको स्थानीय विनय सिंखडाको आरोप छ।

सात वर्षसम्म एउटै समस्या, भएन समाधान 

सरकारले चाबहिल–साँखु सडक निर्माण  तत्कालै सम्पन्न हुन्छ भन्दै आश्वासन देखाएको सात वर्ष पूरा भयो। तर‚ सडक कालोपत्रे भएन। १२ किलोमिटर लम्बाइको उक्त सडक चौडा विस्तार गरेर चार लेन फराकिलो बनाउने, सडकका दुवैतर्फ फुटपाथ र २/२ मिटर अपांगमैत्री संरचना बनाउने गरी २२ मिटर चौडा बनाउन २०७२ सालमै सम्झौता भएको थियो। तर‚ स्तरोन्नति सुरु गरेको सात वर्षमा करिब ८ किलोमिटर मात्र कालोपत्रे गरेको सडक विस्तार गरिएको आयोजनाले जनाएको छ।

पाँच चरणमा काम भइरहेको उक्त सडकको काम अझै पूरा हुन सकेको छैन। युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु–च्याङमिलारखानी जेभी, बज्रगुरु–विरुवाखानी जेभी र बिटी–सुनकोशी र वर्ल्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पछि लामा र समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ। चाबहिलदेखि नारायणटारसम्म भने सम्पन्न भएको छ।

जग्गाको मुआब्जाका कारण स्थानीयको अवरोध गरेको भन्दै सडकको काम अगाडि बढ्न सकेको थिएन। सरकारले उपलब्ध भएको जग्गामा कालोपत्रे गर्नू भनी आदेश दिएको तीन वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन। 

'ठेकदार सम्पर्कमा नआएकाले समस्या भएको छ,' नगरप्रमुख कृष्णहरि थापाले भने, ‘ठेकेदारसँग बसेर छलफल गरी तत्कालै सक्ने गरी काम सुरु गर्नेछौँ।’ उक्त सडकको म्याद १९ दिन बाँकी छ। ठेकेदारले धमाधम काम गरे सकिने अवस्था रहेको उनको भनाइ छ। 

 चापागाउँ-सातदोबाटो सडकमा आगमनमा रोक

सडक कालोपत्रे माग गर्दै चापागाउँ-सातदोबाटो सडकमा पनि स्थानीयले सवारी साधन प्रवेशमा रोक लगाएका छन्। वर्षौंदेखि हिलोधुलोको समस्या रहेको र कालोपत्रे नभएको भन्दै स्थानीयले दुई दिनदेखि आन्दोलन गर्दै आएका छन्। बिहान ११ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्ने घोषणासमेत गरेका छन्। 

चापागाउँ-सातदोबाटो सडक निर्माण अन्तिम चरणमा रहेको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। सडक कालोपत्रे माग गर्दै आन्दोलन भएको छ। तर‚ काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख कृष्णनाथ ओझाले बताए।

उस्तै छन् काँठका अन्य सडक 

देशको संघीय राजधानी काठमाडौंका सडकहरू वर्षौंदेखि अलपत्र छन्। उपत्यकाको चक्रपथ बाहिरका सडकहरू वर्षौंदेखि कालोपत्रे हुन नसक्दा हिलो र धुलोको सास्ती कायमै छ। इमाडोल–सिद्धिपुर, गोदावरी खोला, लुभु, लामाटार, कर्मनासा खोला, हरिसिद्धि, जोरपाटी–सुन्दरीजल, चाबहिल–साँखु, गोदावरी कुण्ड‚ भक्तपुर-नगरकोटलगायत सडकखण्डका स्थानीयले वर्षौंदेखि हिलोधुलोको सास्ती भोग्दै आएका छन्।

वर्षाको समयमा हिलोको सास्ती खेपेका स्थानीयले यति वेला धुलोको सास्ती भोगिरहेका छन्। कालोपत्रेको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गर्दै आए तर सुनुवाइ हुन सकेको छैन। सरकारको बेवास्ता र ठेकेदारको ढिलासुस्तीको मारमा भने स्थानीय पर्दै आएका छन्। 

सरकारले विस्तार गर्ने बहानामा चक्रपथ बाहिरका सडक क्रमशः भत्कायो तर कालोपत्रे भएनन्। गत आर्थिक वर्षमै सकिनुपर्ने काम कोरोना भाइरसका कारण ठप्प भएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। कोरोना संक्रमणका कारण काम गर्न नसकेको सडक विस्तार आयोजनाका प्रमुख ओझाले बताए। गत आवमा गरिसक्नुपर्ने काम कोरोनाको कारण देखाउँदै म्याद थपिएको थियो। चैत ३० गतेदेखि  ठेक्काको म्याद सकिँदै छ।  

‘चैतसम्म सबै काम सकिसक्नु पर्ने हुन्छ। ठेक्काको म्याद फेरि थपिने छैन’‚ आयोजना प्रमुख ओझाले भने, ‘काँठक्षेत्रका सडक निर्माण गर्न धेरै बाँकी छैन। लगातार काम गरेको खण्डमा १० दिनमा सकिन्छ।’

 इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभु-लामाटार 

इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभु-लामाटार सडक विस्तारका २०७७ जेठमा सम्पन्न गर्ने गरी २०७३ मा सम्झौता भएको थियो। पहिलो चरणको करिब ३ किलोमिटर सडक निर्माणका लागि डाँफे–समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो। हालसम्म सो सडकमा कालोपत्रे हुन सकेको छैन। 

दोस्रो चरणको काम गर्न करिब ३ किलोमिटर सडक निर्माणका लागि २९ चैत २०७६ मा सम्पन्न गर्ने गरी  ३० असार २०७४ मा आशिष सी एम ड्रागन जेभीसँग ठेक्का सम्झौता भएको थियो। तेस्रो चरणको ४ किमी सडक निर्माणका लागि २८ पुस २०७७ मा सम्पन्न गर्ने गरी ३० असार २०७४ मा लामा–समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो। कोभिडको कारण देखाउँदै सरकारले ठेकेदारको म्याद थप  गर्‍यो। सो सडक हालसम्म सम्पन्न हुन सकेको छैन। चैतसम्म सबै काम सकिने आयोजनाको भनाइ छ। 

ढोलाहिटी–चापागाउँ–लेले सडक 

ढोलाहिटी–चापागाउँ–लेले सडक आयोजनाअन्तर्गत हालसम्म ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ। उक्त खण्डको लेले क्षेत्रमा बेस हालिएको छ। ढोलाहिटीमा सब–बेस र कालोपत्रेको काम बाँकी छ। उक्त खण्डमा ग्रेडिङ हाल्ने काम भइरहेको छ। ०७३/७४ मा शुरु भएको यस आयोजनामा यथास्थितिमा भए पनि यही चैतभित्र पूरा गरिने भनिएको छ।

नख्खु खोला–भैँसेपाटी–बुङमती सडक 

नख्खु खोला–भैँसेपाटी–बुङमती सडक यस सडक आयोजनाअन्तर्गत दुईवटा प्याकेजमा ५ किलोमिटर सडकमा काम भइरहेको छ। उक्त सडक अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। ०७३/७४ मा शुरु भएको हो। कोरोनाका कारण काम गर्न नसकिएको भन्दै यी सबै सडकको म्याद थप गरिएको सडक विस्तार आयोजनाले जनाएको छ। आगामी चैतसम्म म्याद रहेको आयोजना प्रमुख ओझाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.