|

धनकुटा : धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको सिमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ। धर्मदेवी नगरपालिका–३ संखुवासभामा रहेको झरना पर्यटकीय रूपमा प्रचुर सम्भावना रहे पनि संरक्षण प्रचारप्रसारको अभावमा गुमनामझैँ रहेको छ।

पूर्वको प्रमुख पर्यटकीय स्थल तिनजुरे मिल्के जलजलेको प्रवेशद्वारको नजिकै रहे पनि झरना ओझेलमा परेको हो। उक्त क्षेत्र तिनजुरे मिल्के जलजलेको प्रवेशद्वार वसन्तपुर बजारबाट करिब आधा घण्टाको पैदल दूरीमा पर्छ। झरनासम्म पुग्न कच्ची सडकसमेत बनेको छ।

यस क्षेत्रका विकासका लागि स्थानीय बासिन्दाले पटकपटक पहल थाले पनि सार्थकता पाउन सकेको छैन। यसको विकास गरेमा पर्यटकीय क्षेत्रको रूपमा विकास हुने स्थानीय बासिन्दाले जनाएका छन्। यो स्थानमा बाह्रै महिना यसरी झरना बग्ने गरेको महालक्ष्मी–१ धनकुटाका विकास गुरुङले बताए।

झरना संरक्षणका लागि कतैबाट ध्यान नहुँदा गुमनाम बनेको हो। स्थानीय बासिन्दाका साथै स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान नपुगेको र यो झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने हो भने पर्यटकको आगमनसँगै आर्थिक गतिविधि समेत बढ्ने गुरुङले बताए। सम्बन्धित निकायले चासो नदिँदा ओझेलमा परेको उनको भनाइ छ।

जंगलको बीचमा रहेको यो झरनासम्म कच्ची सडक पुगेको छ। झरना संरक्षणमा स्थानीयले पछिल्लो समय चासो देखाउन थालेका छन्। झरना तीन जिल्लाको सिमाना रहेकाले धनकुटा, तेह्रथुम र संखुवासभाले संरक्षणमा ध्यान नदिएको लालिगुराँस नगरपालिका–२ तेह्रथुमका गोपाल भुजेलको भनाइ छ।

झरनामा घाम लागेका वेला इन्द्रेणी देखिने भएकाले यो झरनाको नाम इन्द्रेणी झरना राखिएको स्थानीय बासिन्दा बताउँछन्। कच्ची सडक झरनाको छेउसम्म पुगे पनि झरना संरक्षणको अभाव रहेको वसन्तपुरबाट झरना हेर्न पुगेका पर्यटक मनीष श्रेष्ठले बताए।

स्थानीय सरकार गठन भएको करिब ५ वर्ष बित्न लाग्यो तर यी र यस्ता पर्यटकीय गन्तव्यको विकासमा ध्यान नदिँदा सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरू अझै ओझेल परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.