|

रूकुम पूर्व : रूकुम पूर्वको प्रख्यात हिमाल नै हो सिस्‍ने। यही हिमालको नामबाट सिस्‍ने गाउँपालिकाको नामकरण गरिएको छ। यही गाउँपालिको वडा नम्बर १ मा पर्छ सिस्‍ने गाउँ।

यस गाउँमा ढुङ्गाले छाएका र माटोले लिपपोत गरिएको चिटिक्क घर छन्। वर्षमा एक बाली मात्र उत्पादन हुने अर्गानिक खाद्यन्न यहाँ पाइन्छ। यही गाउँबाट बिहान उठ्न बित्तिकै टलक्क टल्किएको सिस्‍ने हिमालको दृश्यावलोकन गर्न पाइन्छ।

सडक सञ्जालको पहुँच नभएकाले डोल्पा–रुकुम, रुकुम–डोल्पा आउजाउ गर्नेको संख्या उल्लेख्य छ। मुख्यगरी यार्सा गुम्बा टिप्ने समयमा मान्छेको लावालस्कर हुने गर्दछ। त्यस समयमा यार्सागुम्बाबाट मनग्य आम्दानी त हुने नै भयो। साथसाथै बाटोघाटोका पसल र होटल व्यवसाय पनि राम्रै चल्ने गरेको स्थानीय रवि बुढाले बताए। अघिपछिका दिनमा भने आधारभूत पूर्वाधार विकास देखि टाढा रहेकाले जनजीवन पीडादायी रहेको उनको भनाइ छ।

छैन आधारभूत पूर्वाधार

पछिल्लो समय सूचना प्रविधिले विश्वलाई एउटै गाउँ जस्तै बनाइदिएको छ। तर‚ सिस्‍ने–१ भने सञ्चार सुविधासँगै यातायातको पहुँचबाट टाढा रहेको छ।

सिस्‍नेवासीको दैनिकी पीडादायी रहेको स्थानीय कोपिला बिसीले बताइन्। त्यहाँका नागरिकलाई गाउँपालिकाको केन्द्र रुकुमकोटसम्म आउन एक दिन पैदल यात्रा लाग्छ। अशक्त व्यक्तिलाई २ देखि ३ दिनसम्म लाग्छ।

‘एक ठाउँबाट अर्को ठाउँमा खबर पुर्‍याउनका लागि मान्छे स्वयं नै जानु या आउनु पर्छ‚’ बिसीले भनिन्‚ ‘विकास पूर्वाधारका लागि महत्त्वपूर्ण पक्ष विद्युत, सञ्चार, यातायात नभएकाले सधैँ सास्तीको बोक्नु पर्दछ।’

यस गाउँमा वर्षमा एक बाली मात्र उत्पादन हुने भएकाले त्यसले वर्षभरि नपुग्ने बिसीले बताइन्। आफूले उत्पादन गरेको खाद्यन्नले नपुगेपछि बजारबाट किनेर खानु पर्छ। तर‚ यातायातको सुविधा नभएकाले खच्चडमार्फत ढुवानी गर्दा मूल्यभन्दा भाडा बढी पर्ने गरेको उनको भनाइ छ।

भौगोलिक विकटताका कारणले सोचे अनुसार काम हुन नसकिराखेको वडाध्यक्ष मानबहादुर बुढा बताउँछन्। विकास निर्माणलाई छिटोछरितो हुनमा मुख्य त सडककै आवश्यक पर्ने भए पनि  कडा पहराका कारणले सडक निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.