|

काठमाडौं : पछिल्लो समय कोरोना संक्रमण शिथिल बन्दै गएपछि सर्वसाधारणहरूले हेलचेक्रयाई गर्न थालेका छन्। अधिकांश सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेका छन्।

आसन्न स्थानीय तहको चुनावी तयारीका लागि सानाठूला सबै राजनीतिक दलहरूले भेला, सभा सम्मेलन गरिरहेका छन्। देश विकासका गफ चुट्दै जनतालाई सपना देखाउन दौडधुप गरिरहेका तल्ला तहदेखि उच्च तहका नेता कार्यकर्ताले स्वास्थ्यका सामान्य मापदण्डलाई समेत बेवास्ता गरेका छन्।

सर्वसाधारणहरू पनि आफ्नो स्वास्थ्यको लागि खासै सचेत भने देखिँदैनन्। जसका कारण अहिले मास्क प्रयोगकर्ता कम हुँदै गएका छन् र सरकारले जारी गरेको निर्देशन दिनदहाडै उल्लघंन भइरहेको छ।

विस्तारै सामान्य अवस्थामा फर्किएको जनजीवनसँगै स्वास्थ्यका साधारण नियम उल्लंघन हुँदा नियम पालना गर भन्ने निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि निरीह बनेको छ।

संक्रमणले आफ्नो ज्यानै गुमाउन लाग्ने अवस्थामा सरकार र मन्त्रालयलाई दोषारोपणमा उत्रिनेहरू पनि यतिखेर आफ्नो तर्फबाट गरिने सामान्य व्यवहार परिवर्तनमा चुकेका छन्।

अझै पनि स्वास्थ्यका मापदण्ड अनिवार्य नै पालना गर्न मन्त्रालयले आग्रह गरेको छ। कोरोना संक्रमण दर कम भएपनि जोखिम नै रहेकाले कोरोना अघिकै समयमा जसरी पुग्न अहिले हतारो हुने मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारी बताउँछन्।

‘अहिले हामीले हेर्दा संक्रमण पुष्टि हुने दरमा कमी आएको छ। यसलाई मध्यनजर गर्दा जनजीवनलाई सहज बनाउँदै लानुपर्छ’, उनले भने, ‘यो दुई वर्षमा हामीले जानेका स्वास्थ्य सतर्कता बिर्सेर कोभिड अगाडी जसरी नै जाने हो भने नयाँ भेरियन्ट आइहाल्यो भने तीव्र गतिमा फैलिन्छ।’

हामी कहाँ खोप लगाउनेहरू बढ्दै गए पनि अझै चुनौती रहेको उनले बताए। 'केही प्रतिशत जनसंख्याले खोप लगाउनै बाँकी हुनुहुन्छ। यस्तो अवस्थामा हामीले मास्क लगाउन छाड्नु हुँदैन’, उनले भने।

संक्रमण पुष्टि हुने र दैनिक अस्पतालमा भर्ना हुने संक्रमितहरू कम भएपनि अहिले नै जोखिम कम भयो भन्न नसकिने डा. अधिकारीले बताए। 

अहिल्यै निष्कर्षमा पुग्न हतारो हुने भन्दै डा अधिकारीले भने,‘ हामीले जानेको स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिउँ। मास्कले कोभिड १९ मात्रै होईन अन्य संक्रामक रोगलाई पनि कम हुन्छ।’

कोरोना संक्रमण रोक्न अनिवार्य गरिएका सामान्य स्वास्थ्य मापदण्डहरूले अन्य संक्रामक रोग तथा धुलो धुवाँबाट पनि जोगाउने भन्दै मास्क अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ।

स्वास्थ्यविद् पनि शत प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप नपाएको अवस्थामा हेलचेक्रयाई गर्न उपयुक्त नहुने सुझाउँछन्।

संख्यात्मक रुपमा शिथिल अवस्थामा पुगेको बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘आफ्नो दैनिकी सामान्य बनाउँदै लैजानुस् तर पूर्ण रुपमा स्वास्थ्यका मापदण्डलाई वेवास्था नगर्नुस्।’

कोरोनाको खोप लगाइरहेको अवस्थामा अहिले स्वास्थ्य मापदण्ड पालना गर्न अहिले छोडि हाल्न नमिल्ने उनले बताए।  उनले थपे ‘ खास गरी १२ वर्ष मुनिका बालबालिका खोप लगाउन बाँकी नै छ। सकेसम्म हेलचेक्रयाई नगरौं।’

नेपालमा अझै ३६ प्रतिशतले पूर्ण मात्राको खोप लगाउन बाँकी नै छ।  हालसम्म १२ देखि १७ वर्ष उमेर समुहका ९१ प्रतिशतले कम्तीमा एक मात्रा खोप पाएका छन् भने ६९ प्रतिशतले पुर्ण मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

यस्तै, १८ वर्ष माथिका ९३ प्रतिशतले पहिलो मात्रा र ८२ प्रतिशतले पुर्ण मात्राको खोप पाएका छन्।

सरकारले ५ वर्ष देखि १२ वर्षसम्मका बालबालिकाका लागि पनि यही चैत मसान्तसम्ममा खोप ल्याउने लक्ष्य राखेको छ। तर, चैतको दोस्रो साता बित्नै लाग्दा समेत समयमै खोप आउनेमा मन्त्रालयका अधिकारीहरू ढुक्क छैनन्।

मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले भने, ‘बालबालिकाका लागि खोप ल्याउने चाजोपाँजो सबै मिलाइसकेका छौं। हाम्रो तर्फबाट आवश्यक सबै पूर्वतयारी पुरा गरेका छौं।’

मन्त्रालयका अनुसार खोप उपलब्ध गराउने निकायले कहिलेसम्म खोप दिने तय गरिसकेको छैन।

हालसम्म नेपालले अनुदान र खरिद गरी ४ करोड ७८ लाख ८२ हजार ८०० डोज खोप प्राप्त गरिसकेको छ। ती मध्ये ३ करोड ९६ लाख ४१ हजार १४२ डोज खोप लगाइ सकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.