|

खुसी समस्याहरूको अभाव होइन, खुसी त समस्याहरुलाई सामना गर्ने क्षमता हो।

स्टीव माराबोली

विश्व खुसी सूचकांक २०२२ को सर्वेक्षणले फिनल्याण्डलाई नम्बर १ मा राखेको छ अर्थात् त्यहाँका नागरिक खुसीयालीयुक्त जीवन बाँच्नमा अग्रपंक्तिमा छन्।

प्रतिवेदनले बताए अनुसार ८४ औं स्थानमा रहेको नेपालदक्षिण एसियाको सबैभन्दा खुसी राष्ट्रको सूचीमा छ । त्यसैगरी, बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) स्थानमा परेको छ । उत्तरी छिमेकी चीन नेपालभन्दा माथि ७२औँ स्थानमा छ ।

करिब १५० देशका मानिसहरूबाट विश्वव्यापी सर्वेक्षण तथ्यांकको आधारमा यो प्रतिवेदन तयार गरिएको संयुक्त राष्ट्र सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कमा उल्लेखित छ ।

यसअघि यसरी खुसी नदेखिएका नेपालीहरु खुसीको सूचकाङ्कमा माथि पर्नुको कारण के होला त ? जबकि, राष्ट्रमा मुद्रास्फीति बढेको छ । सुशासन छैन । राजनीतिक अस्थिरता त सामान्य नै भयो । भ्रष्टाचार अवधारणा सूचकाङ्कमा कुनै सुधार आएको छैन । सरकारी सेवा प्रवाह कमजोर रहेको गुनासो बाँकी नै छ ।

कोरोना महामारीको विनाश ठूलो नै थियो। लगभग सबै आर्थिक परिसूचकहरू तल खस्केका छन्। तर पनि नेपालीहरु असन्तुष्ट देखिदैंनन् । किन होला त ? किनकी खुसी भौतिक सम्पदाबाट प्राप्त हुँदैन। यो आन्तरिक गुणवत्ता हो।

परिवारसँगको खुसी

 देशमा स्थिरता छैन, युवा छोराछोरी पढाईमा लगानी गरेर कमाई खाने बेलामा विदेश पठाउनुपर्ने बाध्यता छ । देशको उर्जावान जनशक्ति दैनिक पलायन हुँदैछ । वेरोजगारी बढ्दै छ, देशमा बसेर काम गर्न सक्ने अवस्था छैन । जता हेर्यो त्यतै अव्यवस्था, यस्ता कैयन कारण छन् दुखी र असन्तोष बन्नको लागि। खुसी देशसँग खोज्नु फेरि आफ्नो चेतनालाई बाहिरै भड्काउनु हो।

प्रतिकूल परिस्थितिमा पनि म कसरी संयम हुन सक्छु। परिवार मेरो सबैभन्दा ठूलो सम्पत्ति हो। यसलाई मैले कसरी खुसी राख्न सक्छु भन्ने कुरा केन्द्रमा रह्यो भने परिवारका सदस्यबीच एक अर्काको सहयोग र विश्वासबाट खुसीको जीवन बाँच्न सकिन्छ ।

परिवारमा, घरमा जे छ, जो जस्तो अवस्थामा जसरी सहयोग गर्न सक्नेछ। उसको कामको, कमाइको प्रशंसा गर्दै, आफूसँग भएको सम्पदाको पूर्ण प्रयोग गरी जीवनलाई सहज र सरल बनाउनु खुसीको मापन हो।

आफ्नो परिवारका सदस्यलाई अरूसँग तुलना नगर्ने, अरूको कमाई र भड्किलो जीवनशैलीसँग आफ्नो तुलना नगर्ने र आफूसँग जे छ त्यसको सम्मान गर्ने किनकी त्यहि कुरा अरू धेरैसँग छैन र पनि खुसी छन्। बहुर्मुखी मनलाई, अरूको मात्र राम्रो देख्ने मनलाई आफ्नो केन्द्रतिर फर्काउने र आफ्नो सुन्दर परिवार, हाँसो, खुसी, स्वास्थ्य, एक अर्कामा प्रेम र सौहार्दता बढाउने क्षमता नै खुसी हुने माध्यम हो।

खुसी हुन धेरै आर्थिक सम्पन्नता नै चाहिन्छ जरूरी छैन। विश्वास र प्रेम भएपछि जे छ त्यसमै रमाउने र खुसी हुने कलाको विकास हुन्छ। हाम्रो नेपाली परिवारमा यो भावना अझै जीवित छ त्यसैले पनि हुनसक्छ सूचकांकमै माथि आएको।

दयाको भावना

 जो दिन तयार छ, दिने भावना नै दयालु भावना हो। व्यक्तिलाई लाग्छ मलाई पुगेर मात्र अरूलाई दिन सक्छु। मेरो त्यति धेरै कमाई छैन जुन अरूलाई दिन सक्छु। यस्तै अभाव मनस्थिति लिएर बसेको हुन्छ र अरूलाई दिन सक्ने कुरा नै भेट्दैन। दोस्रोलाई सहयोग गर्ने भावना, शुभेच्छाको भावना, प्रेमको भाव, अरूलाई खुसी कसरी दिन सकिन्छ, परोपकारको भावना, दु:खी गरिबलाई एक छाक खाना नै किन नहोस्, कसैलाई स्कूल पढाएर, औषधि उपचार गर्न नसकेकालाई सहयोग गरेर, जहाँ, जति गर्न सकिन्छ र गर्ने भावना जागृत हुन्छ त्यो नै दिने भावना हुन्। 

मानिसमा यति धेरै लोभ जागृत हुन्छ कि ऊ आफूलाई कहिल्यै दिनको लागि काबिल ठान्दैन। अरू त अरू अस्तित्वले विनामूल्य उपलब्ध गराएका चिजप्रति त धन्यवाद दिन जान्दैन।

बुद्ध भन्नुहुन्थ्यो– कसैले सहयोग गरेन। तर असहयोग नगर्नेप्रति नै धन्यवाद देऊ । तिम्रो लागि धेरै राम्रो गर्ने र सोच्ने त छदै छन्, धेरै नराम्रो नसोच्नेप्रति पनि धन्यवाद देऊ । जीवनको चुनाव धेरै खराब र कम खराबकै बिचमा हुने हो। जसले तिमीप्रति कम खराब भावना राख्दछ ऊ पनि त धन्यवादको पात्र भयो।

एउटा लेखकले आफ्ना लेखबाट, कविले कविताबाट, गायकले गीतबाट, संगीतकारले संगीतबाट, चित्रकारले चित्रबाट र नृत्यकारले नृत्यबाट खुसी दिने जुन प्रयास गरेका हुन्छन् त्यो पनि दिने भावना हो।

जब मनबाट दिने भावना जागृत हुन्छ तब प्रेम स्वप्रष्फुटन भएर आउँछ। किनकी अरूलाई ध्यान दिनु नै प्रेम हो। अरूको लागि केहि गर्न उद्धृत हुनु नै प्रेम हो। प्रेम नै दया हो, करूणा हो र आत्मसन्तुष्टि पनि हो। यसले नै स्वान्त सुखायको भावदशालाई वृद्धि गर्दछ। सायद नेपालीहरूमा यो भावना कायमै छ त्यसैले पनि खुसी छन्। किनकी, यो त मानिसको आन्तरिक स्वभाव हो।

सामाजिक दायित्व

मानसिको स्वभाव आफ्नो परिवारलाई मात्र केहि गरूँ नभएर समाजलाई योगदान गर्ने भावना पनि छ । समाजमा बाटोघाटो, चौतारी, मन्दिर, गुठि, स्कूल, शौचालय, अस्पताल बनाउने प्रचलन आज मात्र नभएर परम्परा नै हो।

यसो हेर्यौँ भने हामी देख्न सक्छौं देशले देशलाई गरेको सेवा अर्थात्, राजनीतिक नेतृत्व र सरकारले नागरिकलाई गरेको भन्दा धेरै समाजका अगुवाहरूले समाजमा धेरै परोपकार र सामाजिक हितका काम गरेका छन्। विभिन्न संघ, संस्था, सम्प्रदाय, सेवा समितिहरूले धेरै सामाजिक कार्यमा योगदान दिएका छन्।

मानिस भएर मानिससँग तादात्म्य बनाई राख्नु, मवियताको भूमिका निर्वाह गर्न सक्नु नै खुसी रहने उपाय हुन्। जिउँदाको जन्ती मर्दाको मलामी भन्ने हाम्रो नेपाली संस्कारले पनि हामीलाई खुसी राख्न मद्धत गरेको छ।

कुनै पूजाआजा होस् या जात्रा, संस्कार र परम्परा एकै ठाउँ भेट हुने, एक अर्कालाई सहयोग र साथ दिने अनि अपनत्वको भाव प्रकट गर्ने हाम्रो संस्कार हो। मैत्रीभाव सबै भन्दा ठूलो सहयोगको माध्यम हो। बाहिर सामान्य कुरामा दुस्मनी देखिएपनि परेको बेला खटेर लाग्ने हामी नेपालीको बानी छ।

हृदयबाट सहयोग गर्ने भावना जागृत हुनु, एक अर्काको संस्कार र परम्परालाई सम्मान गर्ने भाव नै मैत्रीभाव हो। त्यसैले भनिन्छ मित्रता प्रेम भन्दा पनि उच्च स्थानमा हुन्छ। मित्रता भावको परिणाम नै उमंग हुने भएकोले व्यक्ति दुःखी हुनै सक्दैन ।

म के र कहाँ हुनुपर्ने भन्दा पनि म भन्दा अशक्त र दुःखमा परेकालाई म के सहयोग गर्न सक्छु त्यो मैत्री भाव हो। जसले सामाजिक दायित्व महसुस गराउँछ। अरू कस्तो छ त्यसको प्रतिकारमा उत्रिनु भन्दा पनि उसका गुण अवगुणलाई स्वीकार गर्दै आफ्नो स्वभाव अनुसार केहि ठूलो सोच राख्दै कल्याणकारी कार्यमा अग्रसर रहन्छ। यस्तो व्यक्ति सधैं खुसीको जीवन बाँच्न एक स्तर माथि हुन्छ। मैत्री भावले सामाजिक दायित्व महसुस हुन्छ र यसबाट व्यक्तिमा इमोसनल बैंक अकाउन्ट वृद्धि हुन्छ जसले खुसी र सन्तुष्ट रहनमा मद्धत गर्दछ ।

जागृत चेतना र त्यसको अभ्यास

निराशा निम्न मनोदशा हो भने जागृत अवस्था हो जे छ त्यसप्रति अहोभावले भरिनु। मानिसको आदत छ अस्थिरता, अनि जे छैन त्यो देख्ने, भएको चिज नदेख्ने । दुःख र तनावको मूल कारण नै आफूसँग भएको चिजहरू नदेख्नु र जे छैन त्यसको बारेमा धेरै अपेक्षा राख्नु ।

प्रतिकूलतामा पनि  सहज बन्दै संयम, सजग र धैर्य कायम राख्नु जागृत चेतनाको अवस्था हो। जीवनमा आफूले पाएका दुःखलाई गणना गर्न छोडेर पाएका सम्पदाको गणना गर्ने।

हामीले सोचेको अभाव भन्दा प्राप्त चिज नै प्रशस्त छन् । हामीलाई २–४ कुराको अभाव होला तर त्यसको बदलामा हजारौं चिज प्राप्त छन्, तिनको गन्ती गर्न शुरू गरौं । आफूले आफैंलाई उत्प्रेरित गर्ने कला हो यो ।

हाम्रो परिवार छ, रोजीरोटीको उपाय चलेकै छ, स्वास्थ्य अहिलेसम्म ठिक छ, सम्बन्ध, नातेदार सबै ठिक छ। जति आर्जन गरेका थियौं त्यसले अधिकांशको जीवनमा सुख सुविधा जुटेकै छ ।

बाहिरको सन्तुष्टि र भित्रबाट ध्यान, योग अभ्यास बढाउदै शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिकरूपमै शान्त रहने अभ्यास बढाउदै जानु जागृत अवस्था हो।

धन भनेको हाम्रो स्वास्थ्य हो। हाम्रो स्वास्थ्य राम्रो हुनु जीवनको सबैभन्दा ठूलो धन आर्जन गर्नु हो । जीवनभर आफ्नो स्वास्थ्य र सम्बन्धको ख्यालै नगरी आपाधापी र दुःख गरेर धन कमाउने अनि बुढेसकालमा अनेक रोगले ग्रस्त भएर त्यो कमाएको धन अस्पतालमा खर्च गर्ने तरिकाले कस्तो सुख र आनन्द देला ?

हाम्रो जीवनशैलीलाई सरल, सहज, आनन्दित र स्वस्थ बनाउने योग र ध्यानरूपी धन भने आर्जन गर्नु पर्दैन ? जसरी बैंकमा राखेको पैसरूपी धन दुःख पर्दा प्रयोगमा ल्याउन सकिन्छ। त्यसैगरी, हामीभित्र संचित ध्यान र योगको धनले जस्तोसुकै प्रतिकूलतामा सहयोग गर्दछ ।

जीवनमा हाम्रो पहिलो प्राथमिकतामा के पर्छ ? हामीले के गुमायौं होइन अझै हामीसँग कति चिज बाँकी छन्। हामी नकारात्मक र तर्कवान बनेर क्षणिक उपलब्धि मिल्छ। तर दीर्घकालिन सुख र आनन्दको लागि प्राकृतिक स्वभाव, सत्यम्, शिवम्, सुन्दरमको कर्म कायम राख्नुको विकल्प छैन ।

जीवनको उत्तरार्द्धमा लक्ष्मीप्रसाद देवकोटाले समेत भन्न बाध्य हुनुभएको थियो– आखिर श्रीकृष्ण रहेछ एक ! त्यो एक श्रीकृष्ण भनेको हाम्रो सत्यकर्म, विवेक, सजगता, धन्यवादको कला र स्व–बोध हो। आत्मबोधमा स्थिर रहनु जागृत अवस्था हो।

सृजनात्मकता

जब मानिस फुर्सदमा हुन्छ तब आफ्नो भित्रको सृजनशीलतालाई प्रस्फुटन गराउन तत्पर हुन्छ । हाम्रो पुरानो चलन हेर्दा घरको काम सकेर आमा हजुरआमाहरू बत्ती बनाउने, मन्दिर सफा राख्ने, पूजा सामग्री जोहो गर्ने, भजन र श्लोकका किताब पढ्ने आदि काममा समय दिनुहुन्थ्यो।

बा हजुरबाहरू दाम्लो बनाउने, बारी बगैंचा सफा राख्ने, डोको, नाम्लो बुन्ने, जनै बनाउने, सारंगी, बाँसुरी बजाउने केहि न केहि काममा आफ्नो रचनात्मक सीपलाई उपयोग गर्नुहुन्थ्यो।

मन्दिर, गुठि देवालयतिर हामी देख्न सक्छौं कुनै काम नभए पनि मन्दिरको संरक्षण र सरसफाईमा अनुहारमा मुस्कान सहित बसेका वृद्ध बा आमा। सृजना अरूले गरेको देखेर गर्ने काम होइन, आफ्नो भित्रबाट जस्तो भाव प्रकट हुन्छ जे गर्नमा आफूलाई आनन्द आउँछ त्यो गर्नु हो।

हातको सिप, कलाकौशलता होस् या भान्छामा खाना बनाउने नयाँ तरिकाको अभ्यास, गीत संगीत सुन्ने या गुन्गुनाउने होस् या चित्रकला र करेसाबारीमा फलफूल, तरकारी फलाउने काम सबै नयाँ सृजना प्रष्फुटन गर्नु हो। सृजनात्मक स्वभावले मितव्ययिता, संयमता, समझ र जागरणको अभ्यास बढाउँछ। यसले सरसफाई, स्वास्थ्य र खानपानको कलामा सुधार ल्याउँछ ।

भित्रबाट एउटा आन्तरिक गुणवत्ता निखारीदै आउँछ। बाहिर भड्किने मन आफ्नो रचनामा केन्द्रित हुन थाल्दछ। कल्पनात्मक क्षमता वृद्धि हुँदै जान्छ। आफ्नो मौलिकताको पहिचान हुन्छ । सृजनात्मक हुनु आफ्नो नयाँ प्रतिभाको पहिचान पनि हो।

आजको समयमा त संचार प्रविधिले अझ धेरै अवसर उपलब्ध गराएको छ। घरै बसेर बिदेशी भाषा सिक्ने कि, गायन, नृत्य र बाध्य वादन सिक्ने, लेखपढ धेरै किसिमका रचनात्मक कार्य गर्ने सुबिधा छन्। यि सबै खुसी बढाउने माध्यम हुन्। सूचकांकमा देखिए वा नदेखिए पनि हामी चाहिं खुसी भएर बाँचौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.