|

इलाम : अग्ला पहाड बीचको बजारमा करिब ५ सय घरधुरी होलान्। सिमा वारीपारी उस्तै घर संख्या। सिमा छुट्याउने पिलर बाहेक दुइ देशीय सिमाना हो भनेर छुट्याउन अरु आधार खोज्न केही समय लाग्ला।

दुवै तर्फको रहनसहन पनि उस्तै। व्यवसायीक र पर्यटकीय बजार भएकाले व्यवसाय पनि धेरै मिल्दोजुल्दो नै छन् सूर्योदय नगरपालिका–१ र पश्चिम बंगालको सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा। जंगे पिलरले छुट्याएको बजारको नेपाल–भारत जोड्ने माध्यम चाहि फुटबल हो।

हरेक वर्ष मानेभञ्ज्याङ मैदानमा आयोजना हुने प्रतियोगिता नेपाल र भारतका खेलाडीले भरिन्छ। नेपाली टिमको खेल भएको दिन दर्शकको संख्या भारतीय र नेपालका उत्तिकै हुन्छन्। मानेभञ्ज्याङ गोल्डकप एउटा उदाहरण मात्र हो फुटबलको माध्यमबाट दुई देशीय सम्बन्ध जोड्ने।

बाँसबोटे, रिम्बिक, बिजनबारी, सुकिया, लामागाउँ लगायतका क्षेत्रमा हुने प्रतियोगितामा नेपाली टोली अनिवार्य जस्तै छन्। यता नेपालको फिक्कल, पशुपतिनगर, जोगमाई, जमुना लगायतका क्षेत्रमा समेत भारतीय टोलीको सहभागिता रहन्छ।

२०७६ सालको माई भ्याली गोल्डकपमा सहभागिता जनाएको मानेभञ्ज्याङ फुटबल क्लबले यस वर्ष पाँचौ संस्करणको झापा गोल्डकप खेल्यो। मोरङको अमरदहमा भेट्रान्स फुटबलको उपाधि चुम्यो। ७ साइडको प्रतियोगिताबाट सुरु गरेको फुटबल यात्रालाई मानेभञ्ज्याङले नेपालको शिर्ष गोल्डकप प्रतियोगितामा समेत अभ्यस्त गराउँदैछ।

सीमा आसपासका क्षेत्रमा गोल्डकपदेखि टोलकपसम्म प्रतियोगितामा दुई देशका खेलाडीको सम्मीश्रण पाइन्छ। कतिपय नेपाली खेलाडीको बाँच्ने माध्यम भारतमा आयोजना हुने प्रतियोगिता नै रहेको जिल्ला फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठ बताउँछन्।

‘२ देशको सम्बन्ध आफ्नै ठाउँमा छ तर खेलाडीको हकमा भन्दा भारतमा हुने प्रतियोगिता फाइदाजनक छ। खेपका लागि यताका खेलाडीहरू धेरै जसो भारतमा बिताउँछन्, उनीहरूको आम्दानी समेत राम्रो हुन्छ’, श्रेष्ठले भने, ‘ सिमा क्षेत्रमा हुने फुटबलकै माध्यमबाट केही खेलाडीहरूलाई बाँच्ने आधार मिलेको छ।’ भारत तर्फ हुने प्रतियोगितामा आयोजकहरूले कम्तीमा २ लाख रुपैया पुरस्कार राशी राख्ने गरेका छन्।

नेपालबाट प्लेइङ सेभेन, माईभ्याली फुटबल क्लब, मिलियन फ्रेन्डर्स क्ल्ब (एमएफसी) लगायत इलामका उल्लेख्य क्लबहरू भारतका फुटबल प्रतियोगिताको अतिथि हुन्। नेपाल तर्फ हुने साना प्रतियोगितामा समेत भारतका टोल स्तरिय टिमहरूले सहभागिता जनाउँछन्। जसका कारण खेलाडी आदान प्रदान र मित्रतालाई समेत प्रगाढ बनाउँदै गएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष उमेश गुरुङ बताउँछन्।

सदियौँदेखि सीमावारीपारीका सम्बन्ध प्रगाढ बनाउन फुटबलले काम गरेको छ। दुवै देशका टाढाटाढाबाट दर्शकहरू प्रतियोगितामा सहभागी आफ्ना क्षेत्रका टिमलाई हौस्याउन पुग्छन्।

हावापानी संस्कृति भाषा मिलेकाले मात्र होइन, फुटबलले बनाएको भाइचाराले पनि समग्र एकता कायम गरेको छ। फुटबलकै बहानामा सम्बन्ध गाँसेर बिहेवारी गर्ने पनि उत्तिकै भेटिन्छन्। त्यस मध्येका एक अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य निरोज खड्गी समेत हुन्।

दार्जिलिङका विभिन्न क्षेत्रमा फुटबल खेल्ने र खेलाउने क्रममा पोख्रेबुङकी सुरेखा थापासँग मायापिरती गाँसेर उनले जीवनसंगिनी नै बनाए। ‘फुटबलकै माध्यमबाट इलाम र वेस्टबंगालमा पारिवारिक सम्बन्ध विस्तार हुने गरेको छ। हामी बोर्डरमा बस्छौ, भारत तर्फ धेरै गेम हुन्छ। फुटबलको माध्यमबाट धेरै समय देखि भाइचाराको सम्बन्ध विस्तार भएको छ’, खड्गीले भने, ‘फुटबल यस्तो माध्यम बनेको खेलकुद पर्यटनसंगै पारिवारिक सम्बन्धलाई विस्तार गरेको छ।  म आफै खेलाडी मेरो ससुराली इन्डिया गोल खेल्ने क्रममा नै बिहे गरेर ल्याएको त्यस्ता धेरै इलामका साथीहरू छन्, जसले फुटबलको माध्यमबाट सम्बन्ध विस्तार गर्ने काम गरेका छन्।’

सिमानाका क्षेत्रमा हुने प्रतियोगिताले दुई देशलाई रोटीबेटीको सम्बन्धको रुपमा मात्र जोडेको छैन। दुवै देशमा रहेको पर्यटकीय गन्तव्यहरूको प्रचारपसारमा समेत महत्वपुर्ण सहयोग पुग्दै आएको छ। भारतका विभिन्न क्षेत्रका खेलाडीहरू समेटिएर आउने पाहुना टोलीले नेपालका पर्यटकीय गन्तव्यहरूको समेत भ्रमण गरेर पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको बुझाई छ।

‘स्थानीय सरकारले फुटबलका प्रतियोगिताहरू बर्सेनि आयोजना गर्छौं, भारतका टिमहरू समेत आउँछन्। उनीहरू फुटबल खेल्न मात्रै आउँदैनन् यहाँका पर्यटकीय क्षेत्रहरू समेत घुम्न आउँछन्’, राईले भने, ‘ फुटबलकै माध्यमबाट पर्यटन प्रवर्द्धन समेत भइरहेको छ। हाम्रो पालिकामा मेग्मा गुम्बा, उत्तरे पोखरी, थुम्के रानी लगायतका क्षेत्रमा फुटबल खेल्न आउने पर्यटकहरू घुम्न समेत जाने गरेका छन्। ’

नेपालका प्रतियोगिता मात्रै होइन् भारतीय क्षेत्रमा हुने प्रतियोगितामा समेत नेपाली टिमको सहभागिताले उत्साह थपिएको छ। नेपालका राष्ट्रिय टोलीबाट समेत खेलिसकेको खेलाडीहरू भारतका प्रतियोगिताको मुख्य हिस्सा हुँदै आएका छन्। सिक्किम, दार्जिलिङ, आसाम लगायतका क्षेत्रमा हुने प्रतियोगितामा राष्ट्रिय तहका खेलाडीहरूको विशेष रोजाई पर्ने गर्छ।

पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ, प्रवेश कटुवाल मात्र हैनन्, अहिले नेपाली टोली र उमेर समुहमा रहेका पुजन उपरकोटी, सन्जोग राई, निशान्त खड्का, रेजिन सुब्बा लगायतका खेलाडीहरू धेरै समय भारतीय प्रतियोगितामा नै रमाउँछन्।

कतिपय खेलाडीहरूको आम्दानीको माध्य नै भारतमा हुने फुटबल प्रतियोगिता हो। नेपाली खेलाडीहरूको सहभागिताले मित्रवत सम्बन्धमा अझै प्रगाढ बनाउँदै लगेको भारतको मानेभञ्ज्याङ फुटबल क्लबका अध्यक्ष टासी छिरिङ भुटिया बताउँछन्। ‘हाम्रो टिम पनि नेपालमा विभिन्न खेल खेल्न जान्छ उताको टिम पनि यता आउँछ, फुटबलको माध्यमबाट यसरी नै मित्रता बढेको छ। कतिपय खेलका लागि खेलाडी आदानप्रदान समेत गर्छौ', उनले भने।

सीमावारीपारीबिचको फुटबलले खेल प्रतिभा निखार्नेसँगै आपसी सम्बन्ध र सद्भाव विस्तारमा समेत उत्तिकै सघाएको छ। यस्तै सिमानाका क्षेत्रमा हुने प्रतियोगिताबाट खारिएर कतिपयले २ देशका शिर्ष लिग प्रतियोगितामा समेत अवसर पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.