चितवन कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले नै हो

|

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले राजनीतिक माहोल गर्माएको छ। सबै राजनीतिक दलका नेताहरु चुनावी रणनीति बुन्दै गाउँ गाउँ धाउन थालिसकेको छन्। चुनावको घोषणा पत्रसमेत तयारीको तयारीमा दलहरु जुटेका छन्। 

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकार छ। पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म लानेबारे गठबन्धनमा छलफल भइरहेको छ। गठबन्धनमा सामेल भएका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा राष्ट्रिय रुपमा चुनावी तालमेलको प्रयासमा छन्। तर, कांग्रेस आवश्यकताको आधारमा मात्रै गठबन्धन गर्ने योजना बनाइरहेको छ। 

गठबन्धनलाई मुख्यगरी ६ वटा महानगर भागवण्डाको सकस पर्ने देखिन्छ। ०७४ सालको निर्वाचनमा कांग्रेसको साथमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहाल निर्वाचित भएकी थिइन्। तर, अहिले माओवादीले भरतपुर महानगर दाबी गर्दै आइरहेको छ। तर, कांग्रेसले चितवन छाड्ने मनस्थिति बनाएका छैन। ०७४ सालमा रेणु दाहाल ४३ हजार १२७ मत ल्याएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन्। 

चुनावी गठबन्धनको ‘मियो’को रुपमा देखिएको भरतपुर महानगरमा कांग्रेसको अवस्था कस्तो छ? चुनावी तालमेल के हुन्छ? चितवन कांग्रेस कसरी अगाडि बढ्न भन्ने बिषयमा केन्द्रित रहेर कांग्रेस केन्द्रीय सदस्य तथा चितवनका कांग्रेस नेता दिनेश कोइरालासँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानीः 

स्थानीय तहको निर्वाचन त आइसक्यो। कांग्रेस चितवनको चुनावी तयारी कस्तो छ? 

कांग्रेस चितवनको मात्रै होइन देशभर चुनावी अभियान सुरु भइसकेको छ। अहिलेको निर्वाचन कांग्रेसलाई जिताउने अवसरको रुपमा हामीले लिएका छौँ। कांग्रेसको पक्षमा जनलहर बढेको छ। यस्तो अवस्थामा हामीले देशभर अत्याधिक मतले जिताउन सबै लागिरहेका छौँ। तपाईंले चितवनको कुरा गर्नुभयो हामी। त्यहाँ पनि आफ्नो पार्टीको आधार बलियो भएकाले तयारीमा होमिसकेका छौँ। 

पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म सँगै लाने प्रयास भइरहेको छ। त्यसलाई के भन्नुहुन्छ? 

गठबन्धनबारे पार्टीले जे निर्णय गर्छ। त्यो स्वभाविक रुपमा लिनुपर्छ। मेरो व्यक्तिगत धारणा त गठबन्धन नगरौँ नै भन्ने हो। तर, केन्द्रिय स्तरबाट गठबन्धन नै भनेर ह्वीप जारी हुँदैन नै। तर, आवश्यक ठाउँमा गठबन्धन हुन्छ। कांग्रेस एक्लै निर्वाचनमा जान सक्षम छ। कांग्रेसलाई निर्वाचनमा जाँदा कसैको सहयोग चाहिँदैन। तर, पनि सत्ता गठबन्धन भएकाले आवश्यक ठाउँमा चुनावी तालमेल हुनसक्छ।

चितवनको भरतपुर महानगर ०७४ सालमा छलफल नै नगरी एक्कासी भएकाले त्यो दुर्घटना भएको हो। तर, अहिले हामी छलफलमा छौँ। तर, अहिले भरतपुरमा कांग्रेस पहिलो पार्टी छ।

नेकपा फुटेका बेला, एमाले पनि फुटेका बेला त्यस्तो बेलामा हामी एक्लै जानुपर्छ भन्ने हो। केन्द्रीय समिति बैठकमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने कुरा उठेको हो। तर पार्टीले स्थानीय तहमा  आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ। चितवनको भरतपुरमा माओवादीले निःस्वार्थ सहयोग गरेमात्र गठबन्धन हुन सक्छ। माओवादीले ०७४ को चुनावमा धोका दिएको छ। इमानदारीका साथ उहाँहरूले निःस्वार्थ सहयोग गछौँ भने मात्र चितवनमा गठबन्धन हुन्छ, नत्र हुँदैन। 

कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका शिर्ष नेताहरुले गठबन्धनको पक्षमा हुनुहुन्छ। त्यस्तो अवस्थामा चितवनमा गठबन्धन के हुन्छ? 

गठबन्धन भयो भने आवश्यक ठाउँमा तालमेल हुनसक्छ। हामीले सिंगल जित्छौँ त्यहाँ तालमेल हुँदैन। सत्ता गठबन्धनमा रहेका साथीहरुले जित्ने ठाउँमा तालमेलको आवश्यक भएन। तर, आवश्यक ठानिएको ठाउँमा दलहरूको ०७४ सालमा आएको भोटको आधारमा तालमेल हुनसक्छ। त्यसको आधार भनेको यसअघिको नतिजा नै हो। 

यसअघि पनि तपाईंहरुले भरतपुर महानगर माओवादीलाई छाड्नुभयो। आगामी निर्वाचनमा पनि छाड्ने सम्भावना छ? 

अहिलेको निर्वाचनमा भरतपुर चितवन महानगर माओवादीलाई छाड्ने एक प्रतिशत पनि सम्भावना छैन। हामीले किन छाड्ने? एउटा आलोपालो आधारमा पनि छाड्नु पर्दैन। किनभने एउटै पार्टीभित्र त एउटै मान्छेलाई जनताले भोट हाल्न गाह्रो मान्छन्। भने, अर्को पार्टीलाई चुनावी तालमेल भएपनि पटक पटक दिन सकिँदैन।

चितवनको भरतपुर महानगर ०७४ सालमा छलफल नै नगरी एक्कासी भएकाले त्यो दुर्घटना भएको हो। तर, अहिले हामी छलफलमा छौँ। तर, अहिले भरतपुरमा कांग्रेस पहिलो पार्टी छ। हामी एक्लै चुनाव जित्न सक्षम छौँ। हामीलाई अहिलेको परिस्थितीमा गठबन्धन आवश्यक पनि छैन। तर, तालमेल भएपनि भरतपुर महानगर कांग्रेसले नै लिन्छ हरेक क्षेत्रबाट। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन कांग्रेसले भनेर केही हुँदैन सबै निर्णय माथिबाटै हुन्छ भनिराख्नुभएको छ। त्यसो भएको खण्डमा के गर्नुहुन्छ? 

लोकतान्त्रिक पार्टीमा तलमाथि भन्ने हुँदैन। कांग्रेस माओवादी जस्तो पार्टी होइन। सबैको हैसियत एउटै हुन्छ। माथिको निर्णय भएपनि जिताउने तलबाट हो। तलको गरिब जनताको पनि एक भोट नै हो। उहाँ (प्रचण्ड)ले जे बोल्नुभएको छ। उहाँले दम्भ देखाउनुभएको छ। त्यो गलत कुरा हो।  त्यसै त मान्छेहरूलाई राजनीतिदेखि नै वितृष्णा भइरहेको छ।

तलमाथि भन्ने भन्ने हुँदैन। सबै इकाइ बराबरी हुन्छ। सल्लाह र छलफलमा कुरा हुनुपर्छ। लोकतान्त्रिक पार्टी भएकाले केन्द्रिय समितीको बैठकमा लामो छलफल चलेको बिषयमा हो। पार्टी सभापतिज्यूले भन्नुभएको कुरा त पार्टीभित्र निर्णय हुन सकिरहेको छैन। अर्को पार्टीको अध्यक्षले माथिबाटै निर्णय गर्छु भन्ने ? त्यो उहाँको दम्भ नै हो। अरु केही होइन। 

अहिले प्रचण्डको निर्वाचन क्षेत्र र उहाँकै छोरी रेणु पनि उहाँकै मेयर भएकाले गठबन्धनको मुख्य सकस नै भरतपुर महानगरलाई भन्ने गरिन्छ नी!

उहाँहरुको चाहना भरतपुर महानगर होला। तर, सबैको चाहना एकैचोटी पुरा नहुन सक्छ नी! ०७४ सालमा विभिन्न परिस्थिती बन्यो उहाँहरुको चाहना पुरा भयो। एकपटक आफ्नो चाहना पुरा भएपछि फेरि इच्छा व्यक्त गर्नु स्वभाविक नै हो। हामीले त्यसलाई अन्यथा लिनु हुँदैन। तर, हाम्रो तर्फबाट यसपालि भरतपुर महानगर कुनैपनि हालतमा ‘कम्प्रमाइज’ हुँदैन। यो कांग्रेसकै भागमा पर्छ। 

कम्युनिष्टहरुले दुई तिहाइको सरकारमा पुग्दा समेत देश चलाउन सकेनन्। यो मुलुकमा कम्युनिष्टले चलाउन सक्दैनन् भन्ने प्रमाणित भइसक्यो। अहिले जुन गठबन्धन बनेको छ। त्यो परिस्थितीको उपज हो।

भनेपछि यसपालिको निर्वाचनमा चितवन कांग्रेस कार्यकर्ताले रुखमै भोट हाल्ने वातावरण बनाउनुहुन्छ ? 

मैले पहिल्यैदेखि भन्दै आएको छु। त्यसमा कुनै दुईमतको कुरै छैन। कांग्रेसले भरतपुर महानगरमा रुखमै भोट हाल्न पाउने वातावरण बन्छ। हामी त्यसतर्फ केन्द्रित भइसकेका छौँ। 

पार्टी सभापतिले नै चितवनमा कांग्रेसले चुनाव जित्नसक्छ भन्ने विश्वास राख्नुभएको छैन। त्यहाँ तपाईंहरुको जितका आधार केके छन् ? 

हिजो पनि हामीले जितेका क्षेत्र हो। अहिले पनि जितेको क्षेत्र हो। देशभरिबाट सुशील कोइरालालाई सुरक्षित बनाउन उहाँलाई चितवन लगेर अत्याधिक मतले विजयी गराएको ठाउँ पनि हो। त्यसकारण भरतपुर महानगर कांग्रेसको पकड छ। मतदाता, शुभेच्छुक पनि सचेत भएको क्षेत्र हो। त्यसकारण कांग्रेस चितवनमा पहिलो पार्टी छ।

हामी जित्न सक्षम छौँ। हिजोदेखि पकड छ। आज पनि कम्युनिष्टहरुले दुई तिहाइको सरकारमा पुग्दा समेत देश चलाउन सकेनन्। यो मुलुकमा कम्युनिष्टले चलाउन सक्दैनन् भन्ने प्रमाणित भइसक्यो। अहिले जुन गठबन्धन बनेको छ। त्यो परिस्थितीको उपज हो। परिस्थितिअनुसार मुलुक धान्ने र चलाउन कांग्रेस भएको जनताले बुझिसकेका छन्। अब कांग्रेसको विकल्प छैन। सचेत व्यक्तिहरु पार्टीको क्षेत्रबाहेक अधिकांश कांग्रेससँग नजिक छन्। 

चितवनमा अहिलेको परिस्थितीलाई आकलन गर्दा कुन पार्टीको कस्तो पोजिसन देख्नुहुन्छ ? 

चितवनमा पहिलो पार्टी कांग्रेस नै हो। त्यसमा हाम्रो मुख्य प्रतिस्पर्धी नेकपा एमाले नै हुन्छ। तेस्रोमा माओवादी छ। सहयोगी दल भएकाले माओवादीसँग आवश्यकताको आधारमा तालमेल गरौँ भन्ने कुरा भएको हो। त्यसले देशव्यापी रुपमा हामी गठबन्धन गर्दैनौँ नै भनेका हौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.