तेस्रो पटक म्याद थप्दा पनि काम अधुरै

|

काठमाडौं :  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत ११ वैशाखमा तामझामका साथ काठमाडौंमा ऐतिहासिक धरहराको उद्घाटन गरे। ओलीले धरहरा उद्घाटन गरेको एक वर्ष बित्यो तर निर्माण सम्पन्न हुन सकेको छैन।

५० प्रतिशत मात्र निर्माण भएको अवस्थामा उद्घाटन गरिएको धरहराको काम यतिवेला ७० प्रतिशत मात्र सकिएको छ। धरहराको मुख्य कामसमेत नसकिएको अवस्थामा हतार-हतार उद्घाटन गरिएको धरहराको वरिपरिको निर्माण अझै सकिएको छैन।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र रमन कन्स्ट्रक्सनबीच भएको सम्झौताअनुसार यही ३० चैतमा सम्झौताको म्याद सकिँदै छ। धरहरा निर्माण गरिरहेको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले काम सक्न धरहरा निर्माणको म्याद फेरि थप्न माग गरेको छ। कोभिड तथा विभिन्न कारणले समयमै काम नसकिएकाले म्याद थप गर्ने तयारी भएको रमन  जेभीका प्रोजेक्ट म्यानेजर संजय नकर्मीले बताए।

धरहरा पुनःनिर्माण गर्न २०७५ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र रमन कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो। २० असोज २०७७ मा सबै काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो। कोभिड १९कै कारण सरकारले ६/६ महिना गरी दुई पटक आयोजनाको म्याद थपेको थियो। सरकारले आयोजनाको म्याद पछिल्लो पटक चैत मसान्तसम्म थपेको थियो। थपिएको म्याद सकिँदा पनि काम भने सकिने अवस्था छैन।

नकर्मीले भने, ‘समयमै साइट क्लियर नहुँदा, कोरोनालगायत कारणले समयमै काम सम्पन्न हुन सकेन। म्याद थप गर्नका लागि धरहरा निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास कार्यालयलाई प्रस्ताव पेश गरेका छौं।’ 

म्याद सकिँदा ७० प्रतिशत भौतिक प्रगति 

५० प्रतिशत मात्र काम सकिँदा उद्घाटन गरिएको धरहरा एक वर्षमा (हाल) ७० प्रतिशत भौतिक प्रगति भएको धरहरा पुनःनिर्माण आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए। समयमै काम सम्पन्न गर्न नसकेकाले निर्माणका लागि म्याद थप गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 

ठेक्का लगाएको २१ महिनापछि मात्र ठेकेदारले निर्माणस्थलको जिम्मा पाएको थियो। काठमाडौं मल भत्काएर नयाँ संरचना बनाउँदा केही समय अलमल भएको निर्माण कम्पनीको भनाइ छ। नकर्मीले भने, ‘ठेक्काको म्याद थप गर्नु आवश्यक छ।’

निर्माण कम्पनीले काम गरिरहेको छ। हाल फिनिसिङ, म्युजियम, सुनधाराको धारा संरक्षण, मानन्धर समूहको मन्दिर संरक्षण, उपागु मार्ग बनाउने प्रवेशद्वारको काम बाँकी छ। आउँदो दशैँसम्ममा सर्वसाधारणका लागि धरहरा चढ्ने वातावरण बन्ने अधिकारीको भनाइ छ। 

धरहरा ३ अर्ब ८ करोड ११ लाखमा ठेक्का लगाइएको थियो। जसमा हालसम्म २ अर्ब १२ करोड अर्थात् ६६ प्रतिशत वित्तीय प्रगति भएको निर्माण कम्पनीले जानकारी दिएको छ।

भीमसेन थापाले बनाएको ऐतिहासिक धरहरा विसं १९९० को भूकम्पमा ढलेपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले पुरानै प्रविधिबाट पुनःस्थापित गरेका थिए। १२ वैशाख २०७२ को भूकम्पमा फेरि भत्किएको धरहरा नयाँ प्रविधि र दुई तला थप गरि हाल पुनःनिर्माण भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.