|

काठमाडौं : केही साताअघि हातमा परेको छ एउटा किताब। जसलाई नाम दिइएको छ- भ्रमण दश दिनको'। यो यात्रा संस्मरणलाई यात्राका क्रममा नै पढौँ भन्ने पनि लाग्यो। संयोगवश  केही दिनका लागि  उपत्यकाबाहिर लामो यात्रामा निस्किनुपर्‍यो। 

मेरो सहयात्री बन्यो, सुनिल कुमार पौड्यालद्वारा लिखित यो पुस्तक। पुस्तकको पहिलो पृष्ठमा लेखिएको छ, 'पाठक प्रतिक्रिया नै यस पुस्तकको भूमिका हुनेछ।'

पुस्तक लेख्नुअघि नै कुन कुन बौद्धिक व्यक्तिको किताबभन्दा लामा भूमिका लेख्ने  योजना बनाउने नेपालको गलत प्रवृतिको बीच यो वाक्य देख्दा मलाई आनन्दित तुल्यायो।  पाठकले पढेपछि आफैँलाई लागेको प्रतिक्रिया दिनु पो मजा त। लेखकको सन्तुष्टि नै पाठकको प्रतिक्रिया न हो।

म लागेँ लामो यात्रामा अर्थात् पुस्तक पठनमा। पुस्तकमा नेपालदेखि बेइजिङ यात्राका क्रममा देखेका र आफूले भोगेका अनुभवलाई लेखकले सरल तरिकाले प्रस्तुत गरेका छन्। नेशनल ट्रेडिङमा हुँदा पनि उनले विदेश भ्रमण गरेका छन्। जुन उनका अघिल्ला पुस्तकमा यात्रा संस्मरण पनि बजारमा छन्।

पुस्तकको पहिलो यात्रा सुरु हुन्छ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासासम्म।'

लेखकले हवाईजहाजमा चढेर पहिलो गन्तव्यका रूपमा ल्हासा पुग्दा आकाशबाट देखिने धर्तीको वर्णन गरेका छन्। हरियाली वन, सुन्दर हिमशृङ्खला, बेला बेला जहाजले गर्ने बादलसँगको लुकामारी र लुकामारीको क्रममा जहाजको गतिमा हुने फेरबदलले मनमा उठेको डरलाई वर्णन गरेका छन्।

ल्हासा हुँदै सिचुयान प्रान्तको राजधानी छेङ्गदु। त्यसपछि माउताई जिल्ला, यहाँबाट गुइयाङ, बेइजिङ नाञ्जिङ, ग्रेटवाल, नेपालमा तत्कालिन प्रसिद्ध शिल्पालकार बलबाहुले बनाएको व्हाइट प्यागोडा टेम्पलको यात्राको सरल तथा चोटिलो रुपमा व्याख्या भएको छ।

पुस्तकमा उनले आफ्ना अनुभव मात्र लेखेका छैनन्, विभिन्न स्थानमा रहेका क्षेत्र र शहरको तथ्यगत रूपमा वर्णन गरेका छन्।

जस्तो उनले पृष्ठ ६९ लेख्छन् :

 ..त्यो चोकले जनयोद्धाको स्मारकस्तम्भ, चिनियाँ जनकंग्रेसको भवन, राष्ट्रिय अजायब घर तथा माओ जेडोङको समाधि समेटेको छ। चार लाख चालिस हजार पाँच सय वर्ग मिटर अथवा एक सय नौ एकडमा विस्तृत त्यो चोक  विश्वको दस ठूला चोक मध्येमा पर्दोरहेछ। चिनियाँ इतिहासमा थुप्रै महत्वपूर्ण घटना घटेको त्यो चोकको सांस्कृतिक महत्व पनि छ।

त्यो चोक (जसलाई स्वर्गीय शान्तिको द्वार पनि भनिँदो रहेछ) मिङ वंशको शासनकालमा सन् १४१५ मा बनेको हो। सत्रौं शताब्दीमा छिङ वंश र ली चुछङ विद्रोही बीच भएको युद्धमा त्यहाँ भएको द्वार ध्वस्त भएको रहेछ। त्यसपछि सन् १६५१ मा त्यसको निर्माण भएपछि चारपल्ट सम्म त्यस चोकको विस्तार गरियो। चोकको मध्य  भागमा महान मिङ द्वार छ, जसलाई छिङ वंशको पालमा महान छिङद्वार नामकरण गरियो। त्यसैगरी गणतन्त्र स्थापना भएपछि त्यसलाई चीनको द्वार नाम दिइयो।

यो एक उदाहरण मात्र हो, ८७ पृष्ठ लामो पुस्तकमा विभिन्न खालका विषय र प्रसङ्ग उठान गरेका छन्।

पुस्तकले चीनका विभिन्न स्थानबारे यस पुस्तकले जानकारी दिन्छ। सरल भाषा, छोटो वाक्य संरचना, चिनियाँ विकास मोडल, नेपाल चीन सम्बन्ध तथा दुवै देशमा रहेको संस्कृतिको आदानप्रदान, चीनमा नेपालीलाई हेरिने दृष्टिकोण, लेखकले घुमेका शहरले बोकेका ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे पुस्तकमा समावेश गरिएको छ।

चीनका बारेमा बुझ्न र त्यहाँको कला संस्कृति, भौगोलिक अवस्था, अप्रत्याशित विकासको गति बुझ्न यो पुस्तक लाभदायक हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.