|

पर्वत : धार्मिक स्थल मुस्ताङको कागबेनीमा बिहीबार यो वर्षकै सबैभन्दा धेरै तीर्थालुको भीड देखिन्थ्यो। कागबेनीका होटेलमा समेत वास पाउन मुस्किल बन्यो।

यहाँ बडादशैँ र चैते दशैँ शुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाहरूले मुक्ति पाउने विश्वास गरिन्छ। सोही अनुसार शुक्रवार परेको औँसीमा कागबेनी पुगेर पिण्ड दान गर्नेहरूका कारण बिहीबार सबैभन्दा धेरै भीडभाड भएको हो।

‘औँसीको दिनमा पिण्ड दान र तर्पण गरेपछि त मान्छेहरू फर्किन्छन्। औँसीको दिन छोप्नका लागि अघिल्लै दिन आएर बस्नेहरूको भीड हुन्छ’, कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङ भन्छन्, ‘बिहीबार त वास नपाएको अवस्था थियो। धेरै तीर्थालुले होटेलमा कोठा नपाएर दुःख पाए। कागबेनीमा वास नपाएपछि कोही त मुक्तिनाथ मन्दिरको क्षेत्रतिर पनि पुगे।’

कागबेनी तीर्थालुले भरिएपछि कागबेनीबाट झन्डै १३ किलोमिटरको यात्रा गरेर मुक्तिनाथ त कोही तल जोमसोमतर्फ पनि झरेका थिए। होटेलमै बसेकाहरूलाई कोठाको अभाव भएपछि भान्सामा समेत तीर्थालुलाई सुताएर राख्नुपरेको होटेल व्यवसायीको भनाइ छ। होटेलकै अभावमा कतिपय तीर्थालु भने निजी घरमा पनि वास बसेका थिए।

औँसीको अघिल्लो दिन बिहीबार नै करिब तीन हजारको हाराहारीमा तीर्थालुले कागबेनीमा पूजाआजा गरेका थिए। औँसी परेका कारण मुख्य दिन बनेको शुक्रबार योभन्दा धेरै बढी तीर्थालुले कागबेनी र मुक्तिनाथको दर्शन गर्ने छन्।

यो औँसीमा पिण्ड दान गरेपछि कोही तीर्थालु फर्किन्छन् भने कोही मुक्तिनाथ जाने गरेका छन्। अघिल्लो पटक मुक्तिनाथ गएकाहरू पिण्ड दान गरेर फर्किने गरेको भए पनि पहिलो पटक मुस्ताङ पुग्नेहरू मुक्तिनाथ जाने नै गर्छन्।

कागबेनीबाट मुक्तिनाथ जाँदा कालोपत्रे सडक भएका कारण अहिलेको अवस्था सहज बनेको छ। होटेल व्यवसायी गुरुङका अनुसार मुक्तिनाथभन्दा तल रहेको पुरुङ गाउँसम्म गाडी जाने गरेका छन्। त्यहाँबाट झन्डै आधा घण्टा पैदल यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ। हिँड्न नसक्नेहरूले घोडा पनि प्रयोग गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.