शेरबहादुरजी फर्केपछि भ्रमणको कारण सोध्नुछ : ओली

|

काठमाडौं : नेपाल-भारत सीमा समस्या वर्षौंदेखि हुँदै आएको भए पनि समाधान हुन सकेको छैन। भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि नेपाल भारत सीमा विवाद पटकपटक बल्झिँदै आइरहेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत साल सो भूमि समेटेर नयाँ नक्सासमेत सार्वजनिक गर्यो। तर, अहिलेसम्म नेपालको राजनीतिक अस्थिरता र भारतको अरुचिको कारणले सीमाबारे उच्चस्तरीय कोणबाट छलफल हुने सकेको थिए। 

नेपाल राजनीति अस्थिरताको कारणले ओली सरकार बहिर्गमनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने। तर, प्रधानमन्त्री देउवाले पहिलोपटक भारतसँगको सीमा समस्या समाधानको प्रयास गरेको छ।

 भारत भ्रमणको औपचारिक एजेण्डा बनाउन नसकेका प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तापछिको पत्रकार सम्मेलनमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष राखे। 

‘मोदीजीसँग सीमा समस्याको बारेमा छलफल भयो। मैले उहाँलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको छु। यो विषयमा उहाँ पनि सहमत हुनुहुन्छ’ देउवाको भनाइ थियो। 

तर, प्रधानमन्त्री देउवाले उठाएको सीमा समस्याबारे भारतीय प्रधानमन्त्री मोदीले त्यसको कुनै जवाफ दिएनन्। उनले नेपाल भारतको जस्तो मित्रता र सम्बन्ध विश्वमा अरू कसैको नभएको उल्लेख गर्दै, ‘नेपाल र भारतको मित्रता, हाम्रा जनताको आपसी सम्बन्ध, यस्तो उदाहरण विश्वमा कतै देखिँदैन। हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो आदानप्रदानका सूत्रहरू प्राचीन कालदेखि नै जोडिएका छन्।’

नेपाल भारतको सम्बन्धबारे खुलेर बोलेका मोदीले द्विपक्षीय संयन्त्र बनाएर सीमा समस्या समाधान गर्नेबारेमा मौन रहे। नेपाल–भारत सीमा विवाद यसअघि पनि स्पष्ट नीति नहुँदा सधैँ ओझेलमा पर्दै आइरहेको छ। यसअघि पनि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एकपटक पनि भारतका समकक्षी मन्त्रीसँग सम्पर्क गरेको भए पनि सीमाबारे कुरा राख्ने हिम्मत गरेका थिएनन्। 

भारतले सीमा क्षेत्रमा पटकपटक आफ्नो एकलौटी गतिविधिलाई अगाडि बढाउँदासमेत देउवा नेतृत्वको गठबन्धन सरकारसमेत बोल्न सकेको थिएन। गत साउनमा महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का युवा जयसिंह धामी अझै बेपत्ता छन्। त्यस प्रकरणमा पनि सरकार बोलेन। 

त्यति मात्रै नभएर पुस भारतीय प्रधानमन्त्री मोदीले लिपुलेकसम्मको मानसरोवर सडक चौडा पारेर निर्माण अगाडि बढाइरहे प्रतिबद्धता जाहेर गरेका थिए।

‘मानसरोवरका प्रवेशद्वार सडकबाट वञ्चित थियो। त्यहाँ मात्रै होइन। टनकपुरदेखि पिथौरागढसम्मको अल वेदर रोडमा मात्रै हामीले काम गरेका छैनौंँ। अहिले लिपुलेकसम्मको सडक बनाइएको छ। त्यसमा अगाडि पनि विस्तारको काम जारी छ’‚ प्रधानमन्त्री मोदीले भनेका थिए। 

भारतले खुलेआम सडक निर्माण गर्दासमेत देउवा नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनको सरकार मौनता तोड्न सकेको थिएन। नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वपट्टि रहेको लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत सबै क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेको थियो। अहिले उक्त भूभाग दुवै देशको नक्सामा छ। 

नेपाल सरकारका तर्फबाट पटक–पटक कूटनीतिक नोट पठाउँदासमेत भारतले जवाफ फर्काएको छैन। भारतीय मौनताकै कारणले भारतीय सेनाको नियन्त्रण अझै नेपाली भूभागमा रहेका छन्। फागुनमा पनि दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतीले एकलौटी महाकाली नदीमा स्काभेटर चलाएर दार्चुलातर्फ नदी फर्काएको थियो। सो क्रममा नेपाल र भारतका स्थानीयबीच ढुंगा हानाहानसमेत भएको थियो। 

सन् १८८० देखि २००७ सम्मका नक्साहरूलाई नियाल्दा सुस्ता र कालापानीको विषयमा झण्डै १ सय ४५ वर्गकिलोमिटर र कालापानी क्षेत्रमा झण्डै ३ सय ७० वर्गकिलोमिटर भू-भाग हराएको छ। 

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल आउँदा जारी संयुक्त वक्तव्यमा समेत समावेश गर्नेगरी विवादमा रहेका ९८ प्रतिशत स्थानमा सीमा नक्सा बनेको बताइएको थियो। त्यसमा हस्ताक्षर गर्दै एकमत हुन नसकेको सुस्ता र कालापानीसम्मको विवादित विषयलाई समाधान गर्ने प्रस्ताव भारतले गरेको थियो। 

भारतको त्यो प्रस्तावलाई नेपालले सीमासम्बन्धी सबै समस्या एकैपटक समाधान गर्नुपर्ने धारणा राखेको थियो। सीमा समस्या समाधान गर्नका लागि नेपाल भारतबीचको कुरा बाझिएपछि परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रसमेत तयार गरेको थियो। छलफलको लागि संयन्त्र तयार भइसक्दासमेत नेपाल–भारत सीमा समाधानको लागि एकपटक छलफल हुन सकेको छैन।

प्रधानमन्त्री देउवाले समकक्षी मोदीसमक्ष सीमा समस्या समाधान गर्न पहल गर्न आग्रह परेपछि कुनै जवाफ फर्काएका थिएनन्। तर, पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले दुवै पक्ष बीचको छलफलको माध्यमबाट समाधान गर्नुपर्ने बताए। 

उनले भनेका थिए, ‘सीमाको विषयमा दुई पक्षबीच सामान्य छलफल भयो। संवादबाट छलफल गर्नुपर्छ। यस्ता विषयको राजनीतिकरण गर्नुहुँदैन।’ 

नयाँ नक्सा जारी भएपछि प्रधानमन्त्रीको पहिलो भारत भ्रमण भएकाले समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।  

आरजूको राखी कूटनीति 

प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएका हुन्। तर, उनी शुक्रबार नयाँदिल्ली ओलर्नासाथ सत्तारूढ भारतीय जनता पार्टी कार्यालयमा पुगे। 

प्रधानमन्त्री देउवासँग परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा पनि पुगेका थिए। 

प्रधानमन्त्री देउवाले पार्टी कार्यालयमा भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरेको थिए। भेटवार्ताको क्रममा भाजपा–नेपाली कांग्रेसको सम्बन्ध सुदृढ गर्नुका साथै देउवालाई गठबन्धनको समेत शुभकामना दिएको उनको भनाइ थियो। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि आएको भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले बालुवाटार पुगेर भेटवार्ता गरेका थिए। 

चौथाइवालेलाई प्रधानमन्त्री पत्नी आरजू राणाले रक्षाबन्धनको दिन राखीसमेत बाँधेकी थिइन्। प्रधानमन्त्री देउवा भाजपा कार्यालयसम्म पुग्नुमा प्रधानमन्त्रीको भन्दा आरजूको राखी कूटनीतिको बल पुगेको टीकाटिप्पणी भइरहेको छ। राजकीय भ्रमणको क्रममा प्रधानमन्त्री देउवा भाजपाको पार्टी कार्यालयमा गाएकोप्रति आलोचना भइरहेको छ। 

एमालेको आक्रोश

आफ्नो नेतृत्वमा जारी भएको नक्सा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा राखेकोप्रति एमाले आक्रोशित बनेको छ। 

एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भने, ‘हिजो मात्रै दिल्लीस्थित नेपाली दूतावासमा बुच्चे नक्सा राखेको छ। चुच्चे नक्सा हटाइएको छ। योभन्दा राष्ट्रिय दलाली र लज्जा अरू के हुन्छ? शेरबहादुरजी दिल्ली किन जानुभएको हो? सोध्नुछ। फर्किनुभन्दा दिल्ली दूतावासमा हाम्रो सरकारले बनाएको नक्सा राखेर फर्किनुहुन्छ? कि हटाएर फर्किनुहुन्छ?’

ओलीले आफ्नो नेतृत्वमा बनेको चुच्चे नक्सा दूतावासमा राखेर फर्किन प्रधानमन्त्री देउवालाई चेतावनी दिएका छन्। सरकारका सय दिने उपलब्धिमा समेत चुच्चे नक्सा नराखेको प्रति असन्तुष्टि जनाए। 

‘शेरबहादुरजीले चुच्चे नक्सा हटाउनुभयो। के यो साधारण कुरा होइन। भौगोलिक अखण्डतामाथिकै खेलवाड हो’ ओलीको भनाइ छ, ‘गठबन्धन सत्ताको लागि राष्ट्रियता र भौगोलिक अखण्डतासँग यत्रो सौदावाजी गर्छ? चुच्चे नक्सा खै? पाँच दलीय गठबन्धनको ‘देशद्रोही’हरुलाई सोध्नुपर्ने कुरा चुच्चे नक्सा खै?’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.