|

स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता तयारीमा जुटेका छन्। उनीहरू मतदाताको घरदैलोमा पुगेर विभिन्न प्रतिवद्धता व्यक्त गर्ने छन्। 

तर‚ स्थानीय सरकारको पाँच वर्षे कार्यकाल बिताएका जनप्रतिनिधिहरूले आफ्नो प्रतिवद्धताअनुसार कति काम गरे? चुनावीताका भनिए झैं गाउँगाउँमा सिंहदरबार पुग्यो? यस्तै विषयमा भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी :

चाँगुनारायण नगरपालिका प्रमुखको रूपमा पाँच वर्ष बिताउनुभयो। यस अवधिमा जनताले महसुस गर्ने गरी के के काम गर्नुभयो?

देश संघीयतामा गएपछि स्थानीय सरकारको पहिलो कार्यकाल सम्हाल्ने अवसर पाएँ। त्यो मेरो सौभाग्य  पनि हो। पहिलो वर्षमा कानुन, कर्मचारी, स्रोतसाधनको अभावबीच काम गर्‍यौं। दोस्रो र तेस्रो वर्ष सोचेअनुसार काम गर्न पायौं। अन्तिमको तीन वर्ष विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण काम गर्न सकेनौं। त्यसैले सोचे अनुसार काम गर्न सकेनौं।

यद्यपि‚ समस्याहरू हुँदाहुँदै त्यसलाई अवसरको रुपमा परिणत गरेर काम गर्न सफल भयौँ। अर्थात्‚ मेरो कार्यकालमा सफल भएको महसुस गरेको छु। यस अवधिमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षाका क्षेत्रमा धेरै काम गरेका छौं। १२ हजार घरधुरीमा एक घर एक धारा पुर्‍यायौं। ३६ किलोमिटर सडक कालोपत्रे गर्‍यौं। नाली, ढल, ४५ वटा विद्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी भवन निर्माण गरेका छौं। विपद् व्यवस्थापनका लागि सेफ सेन्टर निर्माण गरेका छौं।

यसका साथै सामाजिक‚ आर्थिक, सांस्कृतिक क्षेत्रमा पनि काम गरेका छौं। अमेरिकाको न्युर्योकको अनुसन्धानअनुसार चाँगुनारायण नगरपालिका सूचना प्रविधिको क्षेत्रमा विश्वका १० उत्कृष्ट नगरपालिकाभित्र परेको छ। 

चुनाबका बेला अगाडि सारिएका घोषणापत्रअनुसार कति काम भए‚ कति बाँकी रहे?

निर्वाचनअगाडी सार्वजनिक गरिएको घोषणापत्रअनुसार नै काम भएका छन्। ९५ प्रतिशत काम गरेको छु। कतिपय काम गर्न खोज्दाखोज्दै सकिएन। कतिपय योजना सुरू भए पनि पूरा भएका छैनन्। समग्रमा भन्नु पर्दा मेरो कार्यकाल सफल भएको महसुस गरेको छु।

महामारीका कारण स्रोतसाधनको अभाव भयो। अन्य क्षेत्रको रकम महामारी नियन्त्रणमा खर्च गरियो। जसका सोचेजस्तै काम गर्न सकिएन। तर‚ यस अवधिमा घोषणापत्रभन्दा बाहिरका काम बढी भएका छन्।  

चाहँदा चाहँदै पनि सफल नभएको योजना के के हुन्? किन सफल हुन सकेनन्? 

कतिपय काम गर्न खोज्दाखोज्दै पनि सकिएका छैन। चुनावमा एक घर एक धाराको प्रतिवद्धता गरेका थियौं। १२ सय घर परिवारमा धारा पुग्यो। १५ सय घरमा पुर्‍याउन सकेनौं। तर‚ पाइप बिछ्याउने काम भइरहेको छ। यस्तै‚ पूर्ण सरसफाइ नगरपालिका घोषणा गर्ने योजना पूरा गर्न सकेनौं। महामारीका कारण स्रोतसाधनको अभाव भयो। अन्य क्षेत्रको रकम महामारी नियन्त्रणमा खर्च गरियो। जसका सोचेजस्तै काम गर्न सकिएन। तर‚ यस अवधिमा घोषणापत्रभन्दा बाहिरका काम बढी भएका छन्।  

चाँगुनारायण नगरपालिका पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण मानिन्छ। जसलाई संरक्षण,प्रवर्द्धन गर्न के के काम भए?

चाँगुनारायण सांस्कृतिक सम्पदाले भरिपूर्ण नगरपालिका हो। २०७२ बैशाख १२ गते गएको भूकम्पले यहाँ रहेका सम्पदाहरूमा ठूलो क्षति पुर्‍यायो। पाँचवटा सम्पदा ध्वस्त भए। अहिले ती सम्पदाको पुरातत्व विभागमार्फत पुनर्निर्माण भइसकेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको पुनर्निर्माण भइरहेको छ। पोखरी जीर्णोद्वार भइसक्यो। पैदलमार्ग बनाउने काम हुँदैछ। नगरपालिका जाने हजार सिढीको निर्माण भइरहेको छ। अपांगमैत्री बनाउने काम भइरहेको छ। संग्रहालय बनाएका छौं। सरसफाइलगायतका क्षेत्रमा पनि काम भइरहेको छ। 

चाँगुनारायणमा पर्यटनको सम्भावना कस्तो छ

चाँगुनारायण पर्यटनको सम्भावना भएको नगरपालिका हो। यहाँ विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर छ। पर्यटकीय क्षेत्र नगरकोट छ। आन्तरिक तथा विदेशी पर्यटन घुम्नका लागि नगरकोट आउने गरेका छन्। ती पर्यटकलाई धेरै समय बिताउन सक्ने वातावरण बनाइरहेका छौं।

नगरपालिकाले नेपाल बैंकमा एक वर्षको तीन करोड रूपैयाँ जम्मा गरेको छ। उक्त रकमबाट बिनाब्याज र धरौटी तीन लाख रूपैयाँ सिलाइबुनाइ‚ कृषि, पर्यटनलगायत व्यवसाय गर्न चाहनेलाई दिइने व्यवस्था गरेका छौं। ती युवाले लिएको पैसाको व्याज नगरपालिकाले तिर्नेछ। पाँच वर्षमा साँवा फिर्ता गर्नुपर्ने हुन्छ।

रोजगारी सिर्जना गर्न के के काम भए

पहिलो चरणमा कोरोना भाइरसबाट रोजगारी गुमाएकाहरूलाई लक्षित गरी कार्यक्रम अगाडि बढायौं। बेरोजगारको संख्या खोजी गर्‍यौं। स्वरोजगार बन्न चाहने अर्थात् उद्यम गर्न चाहनेलाई नगरपालिकाले तालिमको व्यवस्था गरेको थियो। उनीहरूलाई व्यवसायका लागि योजना बनाउन लगायौं।

उनीहरूलाई सहयोग गर्न नगरपालिकाले नेपाल बैंकमा एक वर्षको तीन करोड रूपैयाँ जम्मा गरेको छ। उक्त रकमबाट बिनाब्याज र धरौटी तीन लाख रूपैयाँ सिलाइबुनाइ‚ कृषि, पर्यटनलगायत व्यवसाय गर्न चाहनेलाई दिइने व्यवस्था गरेका छौं। ती युवाले लिएको पैसाको व्याज नगरपालिकाले तिर्नेछ। पाँच वर्षमा साँवा फिर्ता गर्नुपर्ने हुन्छ। गत वर्षदेखि सुरू गरिएको योजनाबाट हालसम्म १५० जनाले उक्त कार्यक्रममार्फत काम गर्दै आएका छन्।

स्वास्थ्यका क्षेत्रमा कस्ता काम भए

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो असर पार्‍यो। त्यस समयमा जनताको स्वास्थ्यको सुरक्षाका लागि नगरपालिकाले विभिन्न काम गरेको छ। अस्पताल निर्माण गर्‍यौं। नगरवासीको स्वास्थ्य बिमाका लागि बिमा गर्न आवश्यक रकममध्ये आधा नगरपालिकाले अनुदान दिने योजना अगाडि बढाएका छौं। ज्येष्ठ नागरिकका लागि प्रत्येक वडामा चौतारो निर्माण गरिएको छ। चौतारोको समिति छ। उक्त समितिको खातामा नगरपालिकाले एक लाख रूपैयाँ राखिदिएको छ। चौतारोमा ज्येष्ठ नागरिकले आफ्ना अनुभव‚ सिप तथा ज्ञान बाढ्ने र ती कुरा नयाँ पुस्तामा हस्तान्तरण हुने आशा गरेका छौं। 

शिक्षा क्षेत्र के के काम भए

नगरपालिकाले शिक्षा क्षेत्रमा विभिन्न तवरबाट काम गर्दै आएको छ। कोरोना महामारीबाट शिक्षा क्षेत्रमा ठूलो असर पर्‍यो। अहिले विस्तारै लयमा फर्किरहेको छ। ‘बचत खाता छोरीको‚ सुरक्षा जीवनभरिको’ भन्ने नाराका छोरीका शिक्षाका लागि काम गरिरहेका छौं। जसमा सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ मा पढ्ने प्रत्येक छात्राको नाममा नगरपालिकाले वार्षिक चार हजार रूपैयाँ बैंक खातामा जम्मा गर्दै आएको छ।

यो योजनामा केही सर्तहरू पनि छन्। उक्त रकम बैंकबाट निकाल्न २० वर्ष पुग्नुपर्ने‚ छात्राले कक्षा १२ पास गर्नुपर्ने र बालविवाह गर्न नपाउने प्रावधान राखिएको छ। यो प्रावधान ती छात्राले विद्यालय शिक्षा पूरा गर्न र बालविबाह रोक्न अगाडि सारिएको हो।  

यतिका काम गर्नुभएको रहेछ‚ फेरि नगर प्रमुखको रूपमा दोहोरिने योजना छ

त्यसतर्फ अहिले सोच बनाएको छैन। यदि पार्टीले टिकट दियो भने सोचौंला। तर, मैले पुन निर्वाचनमा उठ्छु भन्ने सोचेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.