|

टीकाप्रसाद आफूसँग भएको प्रशस्त जग्गा जमिन, खेतीपाती, गाईवस्तुको फार्ममै व्यस्त र मस्त देखिन्थे। आफ्नो परिवारका लागि पुग्ने आम्दानी प्रशस्त हुन्थ्यो। त्यसैले बेलामौकामा साथीभाइ बोलाउने, खुवाउने रमाइलो पनि गर्थे। अरूले हेर्दा उनको जीवन रमाइलो र सुखको देखिन्थ्यो।

एक दिन जाडोको साँझ साथीभाइ जम्मा भएर घरकै ठूलो चौरको बीचमा आगो ताप्दै, खाना खाँदै रमाइलो गरिरहेकै बेलामा चोलाप्रसादले भने– हेर टीका तिमी यतिमै खुसी र सन्तोष मानेर नबस। हिरा त तिम्रो पैतालामुनि नै छ। तिमीले पाँचवटा डल्ला हिरा बेच्यौ भने त यो देश नै किन्न सक्छौ। भएन दुईवटा बेच्यौ भने यो जिल्ला र त्यो पनि भएन एक डल्लो बेच्यौ भने यो गाउँ नै किन्न सक्छौ।

चोलाप्रसादको कुरालाई ख्यालख्याल सम्झेर सबैले उडाए। खाना खाइसकेर साथीहरू आ–आफ्ना घर फर्के। तर‚ टीकाप्रसादलाई रातभर निद्रा लागेन। चोलाप्रसादले भनेका पैतालामुनि नै हिराका टुक्राहरू छन्‚ जसले देश, जिल्ला या गाउँ नै किन्न सकिन्छ भनेको के होला? उनको मनमा अनेक तर्कना उत्पन्न हुन थाले। सोचमग्न भए, अझै धेरै धनी बन्ने इच्छाले उनलाई चलिरहेको सुखी जीवनमा आँधी तुफान आउन थाल्यो।

कतिपय मानिस आफूभित्रको अमूल्य हिरालाई बाहिरको भौतिक सम्पदासँग दाँजेर हेर्छन्। व्यक्तिको स्वभाव र व्यवहार पहिलो हिरा हो जीवन चम्काउनका लागि। मेहनत गरे भौतिक सफलता त अवश्य हात लाग्छ। तर‚ असल व्यवहार र सकारात्मक सोच भएका व्यक्तिले मिहिनेत कम गरे पनि धेरै सफलता हासिल गरेका हुन्छन्।

आजसम्म आफ्नै फूलबारी, खेतीबारीमा पानी दिएर, खेतबारीमा काम गर्नेलाई पुराना कहानी सुनाएर, नातिनातिना खेलाएर खुसीले बसेका टीकाप्रसादलाई एक्कासी तनाव उत्पन्न भयो।

भएको नदेख्ने, नभएको चाहने मनको खेल

टीकाप्रसाद रातभर झण्डै अनिँदो जस्तोमै सबेरै ४ बजे नै उठे। परिवारका सबै सदस्यहरू सुतिरहेका थिए। उनले एकपटक आफ्नो खेतबारी, बगैंचा फन्को लगाए। एकएक नियालेर सबैलाई हेरे। पशुपन्छी, चराचुरूंगीले उनलाई आफ्नै संगीतले स्वागत गरे। सबैलाई मनमनै सम्बोधन गरे। र‚ भने– आजसम्म मैले तिमीहरूलाई जति प्रेम दिएँ, स्याहार गरेँ र तिमीहरूले पनि मलाई जति खुसी दिएका थियौ‚ म त्यसका लागि धन्यवाद दिन चाहन्छु। तर, जीवन लामो छ, अब फेरि नयाँ सोच बनाउन म बाध्य भएको छु।

उनले त रातभरि सोचेर पैतालामुनिको हिरा भनेको आफ्नै जमिन बुझे। आफ्नो सबै जग्गा जमिन‚ घर, कृषि फार्म बेचेर त्यो पैसाले हिरा किन्ने अनि हिरा कति आउँछ‚ त्यसअनुसार देश नै किन्ने या जिल्ला र गाउँ त्यो सोचेर मनमनै निर्णय लिएका रहेछन्।

बिहान सबै परिवार उठेपछि आफ्नो साथीले बताएको कुरा र आफूले सबै जग्गा जमिन‚ घर बेच्ने, अन्तै सानो घर किनेर बस्ने र बाँकी पैसाले हिरा किन्ने निर्णय लिएको बताए। परिवारका सदस्य सबैले आश्चर्य माने।

यो सही तरिका हो त? हाम्रो यतिका सम्पत्ति छँदैछ नि, फेरि किन अर्को दुःख बेसाउनु? तर, उनले आफू घरमुली भएको र सबैको राम्रोका लागि निर्णय लिएको बताए। नभन्दै दिउँसो सबै सम्पत्ति पास गरेर नामसारी गरेर छिमेकीलाई बेचे र आफूहरू अलिपर सानो घर लिएर बस्न थाले।

जमिनको मूल्य र हिरा

अब टीकाप्रसाद भने बचेको पैसा लिएर सहर पसे र हिरा किन्ने चक्करमा लागे। उनको साथमा भएको पैसाले उनले सोचेजति हिरा नआउने रहेछ। तर‚ सबै सम्पत्ति बिक्री भैसक्यो‚ अब जति हिरा आउँछ त्यो किनेर लग्नुको विकल्प थिएन।

उनले हिरा किनेर त लिए तै पनि कताकता आफ्नो भएको जमिन सबै सम्पत्तिको मूल्य र हातमा भएको हिरासँग तुलना गर्दा असन्तोष महसुस गरे। अब यसले अरू कति सम्पत्ति किन्न सक्छु होला त भनी सोचमग्न भए। एक किसिमले उनको हिम्मत हराउँदै गयो।

उनलाई मूल्य हेरें, महत्त्व हेरिन कि भन्ने लाग्यो। एकपटक आफ्नो जग्गा, जमिन, फार्म, बगैंचा सबैसबै याद गरे। आफ्ना परिवार खुशीसाथ त्यही जमिन र घरमा बिताएका क्षणहरूको याद गर्दै घर फर्के।

बाटोमा २–४ जनालाई सोधे- यो हिरा दिएँ भने मलाई कति जमिन दिन सक्छौ? कतिले जवाफ दिए– एउटा डल्लो हिरा लिएर हामी के गर्ने? हाम्रो जग्गा जमिन घर जे छ त्यसमै ठिक छौं। कतिलाई हिराको मूल्य थाहा थिएन। त्यसैले यसले कहीं केही आउँदैन भन्ने जवाफ दिए।

अब टीकाप्रसाद असमन्जस्यमा पर्दै घरतिर फर्के। मनमनै सोचे, होइन यो हिरा दिएर छिमेकीलाई अनुरोध गरेर आफ्नै जग्गा, जमिन, घर फिर्ता मागौं कि के हो!

गमलामा हिरा

भोलिपल्ट साँझ चोलाप्रसाद टहलिँदै टीकाप्रसादको घर पस्दा त नयाँ मानिस घरमा सरेर बोटविरूवामा पानी हाल्दै गरेको देखे। चोलाप्रसादले नयाँ घरवालालाई केके भएको सोधे, उनले टीकाप्रसादको सबै सम्पत्ति आफूले किनेको बताए।

चोलाप्रसादले आफूले टीकाप्रसादलाई बताएको कुराले यत्रो घटनाक्रमको विकास भैसकेकोमा नराम्रो पनि माने। तर‚ मेरो आशय उसलाई सम्पत्ति बेचेर हिरा किन्ने सल्लाह दिएको त होइन भनेर मन बुझाए।

घरबेटीसँगको कुराको क्रममै उनले घरको पेटीमा रहेको गमलामा केही चिज टल्केको देखे र सोधे- के हुन् ती डल्लाहरू? घरबेटीले भने– फूलबारीमा पानी हाल्दै थिएँ, यति राम्रा ढुंगा देखें, सायद पानीले पखालिएर होला। यिनलाई बारीमा छोड्नुभन्दा गमलामा सजाउँदा राम्रो देखिने भएकाले गमलामा राखेको।

हिरालाई हिरा भनेर चिन्न नसकेकोमा ती दुवै व्यक्तिप्रति चोलाप्रसादलाई दया जागेर आयो। उनी एउटा मेचमा टोलाएर बसे। नयाँ घरबेटीले चिया बनाउन लगाए र दुवै मिलेर चिया पिउन थाले।

झन्डै रात परिसकेको थियो। चोलाप्रसादले उज्यालो बत्ती हातमा लिएर कोही बाटोमा हिँडेको देखे। कतै टीकाप्रसाद त होइन भनेर उनी नजिक गए। नभन्दै टीकाप्रसाद नै रहेछन्। चोलाप्रसाद उनीसँगै बाटो लागे र पैतालामुनि हिराको अर्थ उनकै बारीमा हिराका टुक्राहरू पटकपटक देखेको र तिमीले आफ्नै खेतबारीमा हिरा देख्न सक्छौ कि भनेर इशारा गरेको बताए।

नयाँ घरबेटीले ती हिरा भेटेको र गमलामा सजाएर राखेको कुरा पनि बताए। टीकाप्रसाद डाँको छोडेर रून थाले। चोलाप्रसादले सम्झाए, जतिमा बेचेको त्यसमा २–४ हजार थपेर आफ्नै घर, जमिन सबै फेरि किन्ने सल्लाह दिए। नयाँ घरबेटीलाई आफूले मनाउने र वर्षौं बस्दै आएको घर बेचेर दुःख लागेकाले उनलाई फिर्ता दिने कुरामा सहमति गराउन सक्ने आश्वासन दिए।

स्वभावगत सौन्दर्य, माधुर्य, शान्ति, प्रेम र सकारात्मक ऊर्जा स्वरूपको हिरा प्रत्येक व्यक्तिले पहिरिन सक्छ। जसले देख्नेलाई पनि आकर्षित गर्न सकोस् र हिरा सहजै आर्जन गर्न सकोस्।

अवसर र महत्त्व

नभन्दै भोलिपल्ट आफ्नो साथीलाई मद्दत गर्ने मनसायले चोलाप्रसादले सबै तारतम्य मिलाए। आफूले बेचेको सम्पत्ति सबै फेरि टीकाप्रसादले आफ्नो नाममा पास गरे। एकपटक फेरि आफ्नै घर, फार्म, बोटबिरूवा, पशुपन्छी सबै देखेर खुसी भए। लोभकै कारण जीवनभरको खुसी एक रातमै गुमाएको महसुस पानी गरे।

चोलाप्रसादले हाँस्दै टीकाप्रसादलाई भने– हेर मित्र! सम्भावना हाम्रै स्थानमा, हाम्रै हातमा, हाम्रै सम्पदामा छ। थोरै खोज्ने प्रयास गर्नुपर्छ।

अमूल्य सम्पदा बाहिर देखिँदैन, त्यसलाई नियालेर खोज्नुपर्छ। तिमी आफ्नै बारीमा, आफ्नै पैतालामुनि नखोजेर एकछिन भए पनि भड्कियौ। आफूले खोज्न छोडेर, महत्त्व नचिनेर मूल्य मात्र खोज्दा तिमीले मात्र होइन संसारका ९० प्रतिशत मानिसले त्यो हिरा बाहिरै खोज्छन्।

आफ्नै घरभित्रको हिरा देख्ने बानी छैन अनि बाहिरै किनेर पाइन्छ भन्ने भुलभुलैयामा हुन्छन्। उनीहरू नै हिराको मूल्य पाइएन भनेर दोष अरूलाई दिन्छन्।

विचारले काम गर्नुभन्दा गलत काममा गलत उद्देश्यका लागि छिटो निर्णय पनि लिन्छन्। कहिले काही सही निर्णयका लागि सही समय पनि कुर्नुपर्ने हुन्छ। मैले संकेत गरेको कुरा मसँग सोधेको भए तिमीले यति दुःख पाउने थिएनौ।

सधैं आफैंले मात्र जान्दछु भन्ने हुँदैन, बेलामौकामा साथीभाइ, आफन्तको सल्लाह पनि लिनुपर्ने हुन्छ। सही सल्लाह के हो छुट्टयाउन पनि जान्नु पर्दछ। अहंकारकै कारण हो व्यक्तिले आफ्नो हातमा भएको अवसर र हिरा गुमाउने। टीकाप्रसादले अंगालो हालेर चोलाप्रसादलाई धन्यवाद व्यक्त गरे। आफ्नो आँखा खोलिदिएकोमा आभार व्यक्त गरे।

कतिपय मानिस आफूभित्रको अमूल्य हिरालाई बाहिरको भौतिक सम्पदासँग दाँजेर हेर्छन्। व्यक्तिको स्वभाव र व्यवहार पहिलो हिरा हो जीवन चम्काउनका लागि। मेहनत गरे भौतिक सफलता त अवश्य हात लाग्छ। तर‚ असल व्यवहार र सकारात्मक सोच भएका व्यक्तिले मिहिनेत कम गरे पनि धेरै सफलता हासिल गरेका हुन्छन्।

हामी सहजै अनुमान लगाउन सक्छौं‚ असल व्यवहार गर्ने व्यक्तिले नै सबैको सहयोग पाइरहेका छन् जीवन्त रूपमा। चलाखी र धुर्त्याइँले पनि काम त बन्छ, सम्बन्ध त बन्छ, सफल पनि भएजस्तो लाग्छ। तर‚ त्यो टिकाउ हुँदैन। एक दिन असलियत बाहिर देखिन्छ।

सुखी र सफल व्यक्तिको मापन उसको भौतिक सम्पदासँग होइन आन्तरिक भाव, ऊर्जा, आनन्द र उसमा छिपेको शान्ति अनि प्रेमको पहिचानबाट हुन्छ। हरेक दृश्यमा चित्र होला तर चरित्र अदृश्य, अमूल्य, आन्तरिक स्वभावमा छिपेको हुन्छ।

स्वभावगत सौन्दर्य, माधुर्य, शान्ति, प्रेम र सकारात्मक ऊर्जा स्वरूपको हिरा प्रत्येक व्यक्तिले पहिरिन सक्छ। जसले देख्नेलाई पनि आकर्षित गर्न सकोस् र हिरा सहजै आर्जन गर्न सकोस्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.