|

धनकुटा : गाँजामाथिको प्रतिबन्ध हटाउन माग गर्दै सहिदभूमि गाउँपालिकामा गाँजा सचेतना मेला आयोजना गरिएको छ।​

गाँजाखेतीलाई वैधानिकता दिन माग गर्दै जिल्लाको सहिदभूमि गाउँपालिकामा आइतबार सञ्चालित तीनदिने गाँजा सचेतना मेला मंगलबार सम्पन्न भएको छ। धनकुटा, भोजपुर र उदयपुर जिल्लाका अभियन्ताहरूको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका–२ को अखुवाटारमा मेला आयोजना गरिएको हो। मेलामा गाँजा अभियन्ताहरू पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गाँजाखेतीलाई वैधानिकता दिन माग गरेका छन्।

मेलामा गाँजाको लोक्ताबाट बनेका झोला, लत्ताकपडा, जुत्ता, मास्क जस्ता सामग्रीको प्रदर्शनी र विक्री स्टल राखिएको थियो। कार्यक्रमको उद्घाटन गाँजा वैधानिक अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले प्रहरी तथा स्थानीय गाउँपालिकाका प्रमुखहरूको उपस्थितिमा गाँजाको बिरुवामा पानी हालेर गरेका थिए।

यो ठाउँमा अधिक मात्रामा गाँजाखेती हुने भएकाले गाँजा वैधानिक हुनुपर्छ भनेर कार्यक्रम गरेको अभियानका संयोजक तीर्थ राईले जानकारी दिए।

२०३३ सालअगाडि यहाँका मानिसले गाँजा बेच्ने गरेको र अहिलेसम्म त्यो परम्परा कायमै रहेको राईले बताए। सहिदभूमिमा धेरै किसानले गाँजाबाटै जीविकोपार्जन गरिरहेको राईले बताए। ‘यति हुँदा पनि कानुनी मान्यता प्राप्त भएको छैन’, राईले भने, ‘यसले वैधानिकता पाए यहाँका किसानको मात्रै होइन देशकै आर्थिक वृद्धि हुन्छ।’

गाँजाखेती वैधानिक भए धेरैले रोजगारी पाउने राईले बताए। नेपाल सरकारले गाँजालाई लागुऔषधका रूपमा राखेकाले धनकुटाको छिन्ताङ क्षेत्रबाट मात्र वार्षिक ३० जनाभन्दा बढी व्यक्ति गाँजाको विषयमा पक्राउ पर्ने गरेको उनले जानकारी दिए।

हाल संयुक्त राष्ट्रसंघले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि वैधानिकता दिनुपर्ने अभियन्ताहरूको माग छ। विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा ८ लाख र यूरोपमा २५ लाखसम्म रहेको बताउँदै गाँजा प्रमुख आयस्रोत हुने दाबी छ। गाँजाखेतीलाई वैधानिकता प्रदान गरिनुपर्ने पक्षमा स्थानीय तहका जनप्रतिनिधि समेत छन्।

गाँजालाई वैधानिकता दिनुपर्छ भनेर विभिन्न कार्यक्रम बोल्दै आएको र तल्लो तहमा रहेका मानिसको आर्थिक रूपान्तरणका लागि गाँजा वैधानिक हुनुपर्ने सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए। उनले गाँजा वैधानिक गर्न सम्बन्धित निकायका मानिससँग छलफल गर्दै आएको राईले बताए।

गाँजाबाट कपडा सहित विभिन्न खानाका परिकार तथा सयौँ औषधि र उपयोगी वस्तु बनाउन सकिने अभियन्ताहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.