जिल्लामा धमाधम तालमेलका निर्णय

|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने तयारी भएको छ। सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे ठोस सहमति भएपछि यस्तो तयारी भएको हो। अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा छ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे जानकारी आएको कांग्रेसको प्रदेश समितिले पनि जनाएको छ। प्रदेश महामन्त्री मेघराज खड्काले सरकारमा सहभागिताबारे छलफल अगाडि बढेको बताए। अहिले सुदूरपश्चिम प्रदेश माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त सरकार छ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री, अन्य दुई मन्त्री र एकजना राज्यमन्त्री, एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन्। अब सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ४, माओवादी र कांग्रेसलाई २–२ वटा मन्त्रालय राखेर अगाडि बढ्ने मौखिक सहमति भएको हो। यस्तै माओवादी र कांग्रेसले १–१ राज्यमन्त्री पनि पाउने सहमति भएको छ।

नेपाली कांग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डा= रणबहादुर रावलले भने सरकारमा सहभागिताबारे ठोस जानकारी नआएको बताए। ‘केन्द्रको गठबन्धनअनुसार कांग्रेस सहभागी हुनुपर्छ भन्नेबारे पटकपटक छलफल त भएको छ’, उनले भने, ‘तर सहमति भएको विषयमा जानकारी प्राप्त भएको छैन।’

तर केन्द्रमा भएको सहमतिअनुसार नेपाली कांग्रेस केही दिनमै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने देखिएको छ। चैत २५ गतेबाट चुनावी आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको बताइएको छ।

यसअघि आसन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा तालमेल हुन प्रदेश सरकारमा कांग्रेसको सहभागिता अनिवार्य हुनुपर्ने माग कांग्रेस बैठकमा उठेको थियो। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिमा केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारमा सहभागी हुनुपर्ने कुरा उठाएका थिए।

धमाधम चुनावी तालमेलको सहमति

सुदूरपश्चिममा सत्ता गठबन्धनका दलहरूले धमाधम चुनावी तालेमलको सहमति गर्न थालेका छन्। केन्द्रीय तहमा भएको सहमतिअनुसार जिल्ला नेतृत्वले सहमति गर्न थालेका हुन्। अहिलेसम्म प्रदेशका अछाम, कञ्चनपुर, डडेल्धुरा र डोटीमा गठबन्धनका दलहरूबीच चुनावी तालमेल गर्ने सहमति भइसकेको छ।

यस्तै आज (बुधबार) कैलालीमा पनि हालका सत्ता गठबन्धन दलले चुनावी तालमेल गर्न सहमति जनाएका छन्। नेपाली कांग्रेस पार्टी कार्यालय कैलालीमा बसेको ५ दलीय बैठकले केन्द्रको निर्देशन पालना गर्ने निर्णय गरेको हो।

यस्तै चैत शुक्रबार पुनः पाँचदलीय गठबन्धनको बैठक बस्ने समेत बताइएको छ। उक्त बैठकमा सबै दलले आफ्नो तयारीबारे जानकारी दिनेछन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.