|

काठमाडाैं : पूर्वको ऐतिहासिक शहर धरानमा जन्मे हुर्केका कलाकार तीर्थ निरौलालाई आफू कसरी चित्रकलामा आकर्षित भएँ भन्ने ठ्याक्कै त याद छैन। तर अक्षर चिन्न, कलम समाउन जानेदेखि नै चित्र पनि कोर्न थालेको उनलाई राम्रै याद छ।

बाल्यकालमा उनको सबैभन्दा मिल्ने साथी कपी र कलम थिए। उनी चित्र बनाउँथे आफैंले बनाएका चित्रमा भुल्थे। परिवार र विद्यालयका शिक्षक, साथीहरूले राम्रो चित्र बनाउँछौ भनेपछि उनी अझै धेरै चित्र बनाउन थाले।

उनलाई क्यानभास भनेको के हो थाहा थिएन, ब्रस कता किन्न पाइन्छ, चित्रमा कस्ता रंग प्रयोग गर्छन् भन्ने पनि थाहा थिएन। कला पढ्ने उनको आफ्नै विद्यालय थियो, जहाँ उनी आफैँ पढाउँथे, आफैँ पढ्थे। त्यसैले पनि उनलाई आफूभित्रको त्यो क्षमता प्रकृतिको उपहारजस्तो लाग्छ। 

उमेरले ४० वर्ष पार गरेका  निरौलाले चित्र बनाउन थालेको पनि २/४ वर्ष घटाएर त्यति नै वर्ष भयो। अहिले उनका चित्रको चर्चा नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा हुने गर्छ। उनी नपुगेका ठाउँमा पनि उनका चित्र पुगेका छन्। निरौला एक स्थापित, प्रतिभावान चित्रकार त हुन् नै साथै लेखक, कला समीक्षक र कवि पनि हुन्। 

उनको कला यात्रा, नेपालमा कलाको अवस्था र कलासँग उनको सम्बन्धका बारेमा गरिएको कुराकानीको सम्पादित अंश, उनकै शब्दमाः

चित्रकलाको कोर्सबुक

५ क्लासमा पढ्दा नजिकै बस्ने एकजना दाइ देवी देवताको चित्र बनाउनु हुन्थ्यो। त्यहाँ गइराख्ने, हेरिराख्ने गर्थेँ। त्यति वेलै यो त ठूला मान्छेले पनि गर्दा रहेछन्, राम्रो कुरा पो रहेछ भन्ने लागेको थियो। 

विद्यालयमा हुने चित्रकला प्रतियोगिताहरूमा नियमित भाग लिन्थेँ। सबैले मन पराउँथे, हौसला दिन्थे। स्कुलमा सबैले चिनेपछि संसारभरिकाले चिनेजस्तो लाग्थ्यो। त्यसले अरु ऊर्जा थपिएको थियो। 

सानोमा मलाई कलरको आइडिया थिएन। कलर कसरी बन्छ होला, ब्रस कहाँ पाइन्छ भन्ने केही पनि थाहा थिएन। टीका बनाउने राता, पहेँला अबिरहरू नै चित्रमा प्रयोग गर्ने होला भन्ने लाग्थ्यो। बाख्राहरूको रौँबाट नै ब्रस बनाउने होला भन्ने लाग्थ्यो। त्यसरी नै आफ्नो ब्रस बनाएँ, तिनै रंग हालेर चित्र बनाएँ।

विस्तारै क्यानभास भनेको के हो भन्ने थाहा भयो, रंग कस्ता हुँदा रहेछन्, ब्रस पनि किन्न पाइँदो रहेछ भन्ने थाहा भयो। गाउँतिर जाने घरहरू हेरेर जस्ताको त्यस्तै चित्र बनाउन खोज्ने, चौतारीमा, आँगनको डिलमा बसिरहेका बूढाबूढीको चित्र बनाउने गर्न थालेँ। त्यसरी गर्नुपर्छ भनेर कतै पढेको थिइनँ। भित्र एउटा हुटहुटी थियो त्यही मेरो कोर्स बुक थियो। 

कुवाबाट निस्केपछि

४५/४६ सालतिर धरानमै एकल चित्रकला प्रदर्शनी गरेँ। त्यो मेरो मात्र होइन पूर्वको लागि नै पहिलो प्रदर्शनी थियो। धरानमै गरेका कामहरू र त्यही जोश बोकेर काठमाडौं छिरेँ। आरएनएसी बिल्डिङमा एकल प्रदर्शनी गरेँ।  

धरानमा आर्टको माहोल बनिसकेको थिएन, यता भेटियो। थरी थरीका आर्टिस्टसँग भेट भयो, आर्टका बारेमा कुरा गर्ने जमात भेटियो। आर्टले के के गर्न सक्दो रहेछ भन्ने पनि थाहा हुँदै गयो। पहिले कुवाको भ्यागुतोजस्तो मात्रै थिएँ, यहाँ आएपछि दिमाग ब्रोड हुँदै गयो। काममा आफ्नै शैलीको विकास पनि भयो। त्यसपछि पत्रिकाहरूमा लेख्न पनि थालियो। नियमित प्रदर्शनी गरियो। मान्छेले चिन्न थाले। 

प्यासन र प्रोफेसन

आर्टलाई नै प्रोफेसन बनाउँछु भनेर लाग्ने माहोल थिएन। आर्ट बनाए पनि बिक्री हुने नहुने टुंगो हुन्थेन। अलिअलि टुरिस्टले किन्थे। तर त्यतिले मात्रै त चल्न सक्ने अवस्था हुन्थेन। त्यसैले कलाकारहरू अरु पेशामा पनि लाग्थे। कलेजतिर स्कुलतिर कोही सरकारी जागिरतिर लाग्थे। पत्रिकातिर काम गर्थे। कोही कार्टुनमा जम्प गर्थे।

घरमा राम्रै भएकाले सुरुका दिनमा त्यस्तो साह्रो गाह्रो परेन। तर त्यसमै निर्भर भएर बस्ने अवस्था पनि थिएन। बिस्तारै पेन्टिङ पनि बिक्न थाल्यो। पछि कला क्षेत्रमै स्थापित भइयो। यसैले पुग्ने भयो। 

कलाको मूल्य

यो साइजमा बनेको पेन्टिङको यति मूल्य अथवा यो रंग लगाएको भएर यति, यति मेहेनत लागेको छ त्यसैले यति मूल्य भन्ने हुँदैन। त्यो सिर्जना हो। झिलिक्क हुन्छ त्यो झिलिक्कको मूल्य अपरम्पार हुन्छ, अमूल्य हुन्छ। तर भौतिकवादी संसारमा बसेपछि मूल्य तोकिनै पर्ने भएर मूल्य तोकिएको हो।

भ्यानगगको, पिकासोको कलाहरू कहाँ पाइन्छ? भिन्चिको मोनालिसा किन्न कहाँ पाइन्छ? म देश दिन्छु मोनालिसा मात्रै मलाई देऊ भने पनि पाइँदैन। पेन्टिङको त्यो किसिमको नेचर छ। यसको मोल अमूल्य त्यहाँ हुन्छ, जहाँको समाज समृद्ध छ। बाहिर हरेक घरमा एउटा पेन्टिङ हुनै पर्छ भन्ने संस्कार छ। त्यसलाई सभ्य समाजको प्रतीक मान्छन्।

अहिले हाम्रो देश समृद्ध नभए पनि व्यक्ति विशेषमा त समृद्धि आएको छ। ८/१० करोडको घरमा बस्ने ५/६ लाखको एउटै सोफा राख्ने ४०/५० हजारको जुत्ता लगाउनेहरू पनि छन्। तर पेन्टिङ भनेको बहुमूल्य हो भन्ने सेन्स नभएका कारण त्यसमा लगानी गर्न सक्दैनन्। हाम्रो समाज त्यस्तो बनिसकेको छैन। 

नबेचिने पेन्टिङ

आर्टिस्ट २ किसिमका हुन्छन् एउटा कमर्सियल आर्टिस्ट हुन्छ जो बजारमा कस्तो काम बिक्छ भनेर त्यहीअनुसार चित्र बनाउँछ। अर्को क्रिएटिभ आर्टिस्ट हुन्छ जो आफ्नो मनोवृत्ति (मन)मा के खेलिरहेको छ, के भन्न मन लागेको छ भन्ने कुरा आफ्नो कलाको माध्यमबाट एक्सप्रेस गर्छन्। 

पेन्टिङ गर्दा म यो बेच्छु भनेर बनाउँदिनँ। मलाई बेच्न मन पनि पर्दैन। मेरो स्टाइल अलि फरक छ समय धेरै लाग्छ। कसैले यो बना भनेर बनाउँदिनँ, मलाई बनाउन मन लागेपछि भित्रबाट आफैँ निस्कन्छ। त्यसैले सन्तानजस्तो पनि फिल हुन्छ। त्यो भन्दै गर्दा बेच्दै नबेच्ने भनेर साध्य त हुँदैन तर आफ्ना सिर्जना पैसासँग साट्दा खुसी भने लाग्दैन।

पैसा साधन मात्रै हो साध्य होइन। कुनै पेन्टिङ स्याटिस्फाई भएको काम छ, हृदयको नजिक छ अथवा कतैबाट पुरस्कृत भएको छ भने त्यस्ता सिर्जना बेचिँदैन, व्यक्तिगत कलेक्सनमा जम्मा हुन्छ। 

लय छुटेको नेपाली चित्रकला

हाम्रो क्लासिक पेन्टिङहरूको ऐतिहासिक आध्यात्मिक प्रवृत्तिको छ। यसको मूल्य मान्यता छुट्टै छ। बाहिरको देखासिकीले गर्दा यता जम्प भएको छ। हाम्रो पेन्टिङ कुन ट्रेण्डमा आइरहेको छ भन्ने कुरा थाहा नभइ एक्कासी एब्स्ट्राक्ट पेन्टिङ राखिदिँदा डिस्ट्रक्सन भयो। देवी देवता बनाउने परम्परागत लय उतै छुट्यो। मन्दिरहरूको टुँडालमा बनेका मूर्तिहरूमा कति मिहिन रुपमा काम भएको छ। पहिलेकै कला परिस्कृत हुँदै आएको भए सेन्सहरू डेभलप हुन्थ्यो। कला बुझ्ने समाज बन्न सक्थ्यो। विदेशमा त्यसै गरी आएको भएर उनीहरूलाई कलाको मूल्य थाहा छ। हामीलाई कलाको मूल्य थाहा नहुनुको एउटा कारण हाम्रो ट्रेण्ड ब्रेक हुनु पनि हो।

नेपालमा कलाको अवस्था

बाहिर पेन्टिङलाई सुनभन्दा महङ्गो मानिन्छ। सुन हुने बित्तिकै पैसा आइहाल्छ र त्यसको मूल्य भयो। तर त्यसरी नमान्ने हो भने त सुन पनि मूल्यहीन सामान्य धातु न हो। फलाम पित्तलको कुनै मूल्य नभएजस्तै। पेन्टिङ पनि बैंकमा राखेर लोन लिन सकिने भए त्यसको मूल्य तुरुन्तै देखिन्थ्यो। पेन्टिङलाई अमूल्य छ भनेर बुझ्दा भयो बुझ्नलाई त। तर व्यवहारमा नभएपछि बुझेर मात्रै हुँदैन।

ट्रेडिसनल आर्टमा हामी अगाडि छौँ तर मोडर्न आर्टमा पछि छौँ। त्यो हामीले देखासिकी गरेका हौँ त्यसैले उता सय, डेढ सय वर्षअघि नै भएका काम आज यता हुँदै छ। देश नै गरिब भएपछि, कमजोर भएपछि कलादेखि खाने, लाउने, सिद्धान्त, विचार सबै कुरामा धनी देशहरूको देखासिकी हुन्छ। हाम्रो देश पनि सम्पन्न हुन्थ्यो, शक्तिशाली हुन्थ्यो भने सबै कुरासँगै कलालाई पनि राम्रो हुन्थ्यो। 

नयाँ पुस्ता

अहिले आर्ट पढाइ हुने कलेजहरू स्थापना भइरहेका छन्। पढ्नेहरू, पढ्न इच्छा गर्नेहरू पनि धेरै छन्। पहिलेको तुलनामा कलाकार र कलाको गुणस्तरमा वृद्धि त भएको छ तर यत्रो समयसम्ममा जुन स्पिडमा जानुपर्थ्यो त्यसरी चाहिँ भएको छैन। 

आर्टमै केही गर्छु भनेर लाग्नेहरू, पढ्नेहरू पनि छन्। तर पढेर मात्रै पनि आर्टिस्ट भइँदैन। आर्टिस्ट हुनका लागि उसमा क्रिएटिभिटी हुनुपर्छ। गरिरहनसक्ने क्षमता हुनुपर्छ। यो क्षेत्रमा आउने अलि समय गर्ने रहर पूरा गर्ने अनि खप्न नसकेर पलायन हुनेहरू पनि छन्। 

फेरि कलामा अन्य क्षेत्रमा जस्तो झ्याप्पै रिजल्ट आउने पनि हुँदैन। कलाकै अन्य माध्यम जस्तो स‌ंगीत, सिनेमाले जसरी समाजका सबै तप्कालाई छुन्छ पेन्टिङले छुँदैन। यसको घेरा सानो छ। तर विदेशमा सबै तप्कालाई छुन्छ। हाम्रोमा त्यस्तो हुनको लागि धेरै समय लाग्छ। त्यसको लागि देश समृद्ध हुनुपर्‍यो, कलाको महत्त्व बुझ्ने नेतृत्व हुनुपर्‍यो,  त्यही अनुसारको पोलिसी बन्नुपर्‍यो, समाज बन्नुपर्‍यो। त्यस्तो कहिले बन्छ भन्न सकिँदैन।

कलामा आफ्नो स्टाइल

पेन्टिङमा कलाकारले आफ्नै स्टाइल पनि डेभलप गर्न सक्छ। वरिष्ठ कलाकार शशीविक्रम शाहको आफ्नै स्टाइल छ। उहाँ आफ्नो स्टाइलमा घोडा मात्रै बनाउनुहुन्छ। मनोजबाबु मिश्रले आफ्नै स्टाइलमा काम गर्नुभयो। मेरो पनि आफ्नै स्टाइल छ।

एउटा कलाकारको आफ्नै स्टाइल हुन जरुरी पनि छ। मेरो काम मेरो नाम नलिइकन मेरो काम भन्ने बुझिनु पर्‍यो। जस्तो पिकासो भनेपछि थर्ड डाइमेन्सन। उनका पेन्टिङ देखेपछि उनको नाम नै नलेखेको भए पनि थाहा पाइहालिन्छ। भेनगगको काम देखेपछि थाहा भइहाल्छ भेनगगले गरेको भन्ने।

रंग, ब्रस र क्यानभाससँगको सम्बन्ध

प्राकृतिक रुपमा जोडिएको कुरा जुन छुट्टीनै सक्दैन मेरो रंग, ब्रस, क्यानभासहरूसँगको सम्बन्ध पनि त्यस्तै छ जस्तो लाग्छ अहिले आएर सोच्दा। अब म योबाट छुट्टिन्छु, टाढिन्छु भनेर सोच्नै सक्दिनँ। यो असम्भव कुरा हो। यो मेरो आत्मालाई सन्तुष्टि दिने कुरा हो। अझ आत्मा नै हो भन्दा पनि फरक पर्दैन।

प्रोफेसन अरु बन्न सक्ला तर पेन्टिङलाई मबाट अलग राखेर सोच्न सक्दिनँ। ब्रस बिना मेरा हात अधुरा छन्, पेन्टिङ बिना म अधुरो छु, अपूरो छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.