राजनीतिक काममा सरकारी गाडी

|
विद्यार्थी संगठनको कमिटी गठन गर्न कैलाली बहुमुखी क्याम्पस पुगेका जनप्रतिनिधिले प्रयोग गरेको गाडी।

धनगढी : स्थानीय निर्वाचन नजिकिँदै गएका वेला पूर्वी नेपालका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन्। चुनावका वेला गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन्।

मोरङको लेटाङ नगरपालिका मेयर शंकर राई, मोरङकै उर्लाबारीका मेयर खड्गप्रसाद फागो, तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलगायत जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका हुन्।

नगरप्रमुख शंकर राई र दुईजना वडाध्यक्षले गाडी बुझाएको लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले जानकारी दिए। उनले भने, ‘नगरप्रमुख र दुईजना वडाध्यक्षले सरकारी सुविधाको गाडी नगरपालिकालाई बुझाउनु भएको छ।’ 

सुदूरपश्चिममा भने स्थानीय तह निर्वाचन नजिकिएसँगै सरकारी गाडीको दुरुपयोग बढ्न थालेको छ। प्रदेशका स्थानीय जनप्रतिनिधि चुनावी कार्यक्रममा पनि सरकारी गाडी नै प्रयोग गर्न थालेका हुन्।

प्रदेशका ८८ स्थानीय तहमध्ये कुनै पनि जनप्रतिनिधिले सरकारी गाडी स्थानीय तहलाई बुझाएको घोषणा गरेका छैनन्। जसले गर्दा प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको काममा सरकारी गाडी दुरुपयोग गर्न थालेको धनगढीका इन्द्र चौधरीले बताए। ‘स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै जनप्रतिनिधिको राजनीतिक दौडधुप बढेको छ’, उनले भने, ‘जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गरिरहेका छन्।’

जनताको कामभन्दा पार्टीको काम गर्न र चुनावी तयारी गर्न सरकारी सवारीसाधन र इन्धनको निर्बाध प्रयोग गर्न जनप्रतिनिधिबीच प्रतिस्पर्धा चलेको छ। राजनीतिक छलफलमा व्यस्त रहेका जनप्रतिनिधिबाट सरकारी गाडी र इन्धनको खपत उच्च भइरहेकाले गाडी प्रयोगमा रोक लगाउनुपर्ने माग गर्न थालिएको छ।

तर जनताको कामबाहेक राजनीतिक काममा सरकारी गाडी दुरुपयोग नहुने भए गाडी अहिल्यै फिर्ता नगरे पनि हुने धनगढीका पत्रकार नारायण अवस्थीले बताए। ‘जनताको काम गर्नुपर्ने भएकाले अहिले नै जनप्रतिनिधिले गाडी फिर्ता गर्न आवश्यक छैन’, उनले भने, ‘तर सरकारी गाडी पार्टीको काममा प्रयोग हुनु भएन।’

स्थानीय तहको निर्वाचन नजिकिएसँगै पालिकामा कार्यरत कर्मचारीलाई ५ वर्षे प्रगतिको विवरण तयार गर्न परिचालन गरिएकाले सर्वसाधारणले पालिकाबाट प्रदान हुने सेवा पाउन कठिनाइ हुन थालेको छ।

मुलुकका विभिन्न पालिकाका प्रमुखसहित अन्य जनप्रतिनिधिले मनोनयन दर्तापूर्व नै सरकारी गाडी प्रयोग गरेर पार्टीको काममा जाँदा दुरुपयोग हुने भन्दै फिर्ता गरेको बताए पनि निर्वाचन आचारसंहितामा भने उम्मेदवारी दर्तासँगै सरकारी सुविधा र पद त्याग्नुपर्ने प्रावधान रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

‘वैशाख ११ गते मनोनयन दर्ता गर्नुपर्ने समय हो। मनोनयन दर्ता गर्नुभन्दा अगाडि पद त्याग गर्नुपर्ने नियम छ’, उनले भने, ‘पद त्यागेपछि सरकारी गाडी पनि फिर्ता गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.