|

सर्वोत्तममान डंगोल, प्रमुख काठमाडौं महानगरपालिका 

काठमाडौं महानगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तममान डंगोल महानगर, १३ ताहाचलका वासिन्दा हुन्। २०४८ सालको स्थानीय चुनावमा उनी काठमाडौं महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका पीएल सिंहसँग पराजित भएका थिए। २०६४ सालको संविधानसभा चुनावमा काठमाडौंको क्षेत्र नं. ८ मा उनी नेपाली कांग्रेसका नवीन्द्रराज जोशीसँग पराजित भए। 

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य डंगोल पार्टीको महानगरपालिका इन्चार्ज हुन्। १० बर्षदेखि महानगरपालिकामा राजनीतिक दलको संयन्त्रमा रहेर काम गरेका उनी नेवा जातीय उत्थान कोषका संयोजक समेत हुन्। नेवार समुदायको जातीय संग्रहालय बनाउने कामको अगुवाई गरेका डंगोलले ५ करोड रुपैयाँको लागतमा बसन्तपुर क्षेत्रमा नेवा जातीय म्युजियम बनाउने तयारीमा रहेका छन्। २०३८ सालदेखि कम्युनिष्ट आन्दोलनमा क्रियाशील डंगोल राजनीतिमा निष्ठापूर्वक समर्पित भएको र सुन्दर र हराभरा महानगर आफ्नो लक्ष्य रहेको बताउँछन्।

सुशीला पौडेल,उपप्रमुख काठमाडौं महानगरपालिका 

काठमाडौं महानगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवर सुशीला पौडेल वडा नम्बर ६ वौद्ध पानीट्यांकीकी वासिन्दा हुन्। २०४० सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय उनी तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा २०५३ जेठ महिनामा भूमिगत भइन्। युद्धकालमा धादिङ,गोरखा र उपत्यकाका ग्राामीण भूभागलाई कार्यक्षेत्र बनाएर काम गरेकी पौडेल पठक पटक जेल पनि परेकी थिइन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य रहेकी उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सचिव छिन्। काठमाडौं महानगरपालिकाका ६, ७, ८, ३३ र १ नम्बर वडा इन्चार्ज रहेकी पौडेल अन्तरपार्टी महिला सञ्जाल काठमाडौंकी अध्यक्ष समेत हुन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको संस्थापक केन्द्रीय सदस्य रहेकी उनी विभिन्न टोलसुधार समितिमा सल्लाहकारको भुमिकामा छिन्।

दिनेश महर्जन, प्रमुख ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन 'दिपेश' जनयुद्धका शुरुवाती दिनबाटै माओवादी आन्दोलनमा जोडिएका हुन्। हाल पार्टीको पोलिटव्यूरो सदस्य रहेका उनी ललितपुर महानगरपालिका सह इन्चार्जको भूमिकामा छन्। युद्धकालमा माओवादी जनसेनाको व्रिगेड सह कमाण्डर रहेका उनी उपत्यकामा खटिएको एसटिएफ अर्थात स्पेशल टास्क फोर्सका सह कमाण्डर भएका थिए। 

ललितपुर महानगरपालिका २७ सुनाकोठीका बासिन्दा महर्जन मानसिक अस्पतालका पूर्व अध्यक्ष हुन्। त्यसैगरी शान्ति समिति ललितपुरका पूर्व संयोजक उनी नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पनि हुन्। २०७० सालको संविधानसभा चुनावमा ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका नेता मदन अमात्यसँग पराजित भए।   

हसिना शाक्य, उपप्रमुख ललितपुर महानगरपालिका 

ललितपुर महानगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार हसिना शाक्य राजनीतिमा भन्दा धेरै सामाजिक काममा सक्रिय छिन्। दर्जन बढी सामाजिक संघ संस्थाहरुमा क्रियाशील उनी २०६४ सालदेखि माओवादी राजनीतिमा सक्रिय भएकी हुन्। ललितपुर महानगरपालिका १६ कि वासिन्दा हसिना माओवादी केन्द्रको साधारण सदस्य मात्र हुन्। 

उनी वौद्ध बिहार संघकी अध्यक्ष,ललितपुर व्लड डोनर एशोसिएसनको उपाध्यक्ष, जय भीमसेन सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष, पटक पटक टोल सुधार समितिको अध्यक्ष, १६ नं. वडा स्वास्थ्य कार्यान्वयन समितिको टोल परिचालक रहेर सामाजिक काममा क्रियाशील रहेकी छिन्। त्यसैगरी ललितपुर महानगरपालिकाकै १६ नं. वडा नागरिक मञ्चको संयोजक रहेकी उनी अर्थशास्त्रमा स्नातकोत्तर हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.