‘शिक्षकलाई राजनीतिमा लगाउने गतिछाडा काम बन्द गर्छौं भन्न नेताहरूलाई लगाउनुपर्छ’

|

शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक, निम्न माध्यमिक र र माध्यमिक तह शिक्षकको खुला तथा आन्तरिक परीक्षा सम्पन्न भएको छ। करिब १७ हजारजनाको स्थायी शिक्षक पदपूर्तिका लागि आयोगले लिखित परीक्षा लिएको हो।

उक्त परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको, प्रश्नहरू गल्ती भएको, बजारमा पाइने गाइडबाट हुबहु सोधिएको भन्ने गुनासो परीक्षार्थीहरूले गरेका छन्। प्रश्नपत्र लिक गरी परीक्षा पास गराइदिने भन्दै लाखौं रूपैयाँ लेनदेन समेत भएको समाचार आए। 

परीक्षामा यस्ता लापर्बाही किन हुन्छ? अमर्यादित क्रियाकलाप किन हुन्छन्? यसरी लिइएको परीक्षाबाट कस्ता जनशक्ति छनोट हुन्छन्? आयोग आफ्नो काम‚ कर्तव्य र अधिकारबाट किन चुकिरहेको छ? यसै सेरोफेरोमा रहेर थाहाखबरकर्मी श्याम राईले शिक्षाविद् प्राडा विद्यानाथ कोइरालासँग गरेका कुराकानीको सम्पादित अंश :

शिक्षक सेवा आयोगले लिएको माध्यमिक र निम्न माध्यमिक तह शिक्षकको लिखित परीक्षामा पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोधिएको, प्रश्न गल्ती रहेको, बजारमा पाइने गाइडबाट हुबहु सोधिएको भन्ने गुनासो परीक्षार्थीबाट आयो, किन यस्तो लापर्बाही हुन्छ?

आयोगले यस्तो प्रश्न सोध्नु नै गल्ती गर्‍यो। तथ्यगतमा नभई विषयगत प्रश्नहरूमा मात्र जोड्नुपर्ने थियो। यसो गर्दा चिट चोराउने र चोर्ने केही पनि हुँदैन थिए। त्यसैले अबदेखि आयोगले यस्तो कुरामा सुधार गर्नुपर्छ। विषयगत प्रश्न नसोधे यस्तो समस्या बारम्बार दोहरिरहने छ। 

परीक्षामा पास गराउने भनी लाखौं रकम लेनदेन भएको सुनियो, यसरी लिइएको परीक्षाबाट कस्तो जनशक्ति छनोट होला?

यस्ता ढंगबाट लिइएका परीक्षाबाट बर्बाद जनशक्ति छनोट हुन्छ। उनीहरूले विद्यार्थीको भविष्य राम्रो बनाउन पनि सक्दैनन्। पृथ्वी नारायण शाहको भनाइ छ- घुस लिन्या र दिन्या दुवै दोषी हुन्।

त्यसैले स्थानीय तहले जो शिक्षक गतिला छन्, पढाउने क्षमता छ, त्यसलाई मात्र राख्नुपर्छ। काम नगर्नेलाई लखेट्नुपर्छ। यसो गर्दा आयोग बच्छ र विद्यार्थीको भविष्य राम्रो हुन्छ। परीक्षामा पास गराउन भन्दै पैसा लिने र दिने दुवैलाई सिधै जेल पठाउनुपर्छ। यसो गर्दा शिक्षकहरूलाई डर पनि हुन्छ। आफूले घुस खाएर र वा खुवाएर पास हुने दुर्मतीबाट मुक्त हुन्छन्। 

जो शिक्षक गतिला छन्, पढाउने क्षमता छ, त्यसलाई मात्र राख्नुपर्छ। काम नगर्नेलाई लखेट्नुपर्छ। यसो गर्दा आयोग बच्छ र विद्यार्थीको भविष्य राम्रो हुन्छ। परीक्षामा पास गराउन भन्दै पैसा लिने र दिने दुवैलाई सिधै जेल पठाउनुपर्छ।

आयोग आफूले पाएका काम‚ कर्तव्य र अधिकारबाट किन चुकिरहन्छ?

आयोगले बेला–बेला बदमासी गरेको उदाहरण छन्। त्यहाँका सदस्यहरूले बदमासी गरेको भन्ने खबर पत्रपत्रिकामा आउँछ। आयोगले अझै पनि परम्परागत चिन्तन बोकिरहेको छ। त्यस्ता चिन्तन बदलियो भने मात्र आयोग जिम्मेवार बन्छ। 

मैले अघि पनि भनें तथ्यगत प्रश्न सोध्दा परीक्षार्थीहरूलाई सजिलो हुन्छ। त्यस्ता प्रश्न सोध्न हुँदैन। परीक्षार्थीलाई शिक्षा आयोगको प्रतिवेदन कसले बनायो? के गर्‍यो? भन्ने प्रश्नमा के मतलब! उनीहरुलाई त केटाकेटीलाई कसरी पढाउछौँ? नवीन सोच के छ भनेर प्रश्न सोध्नुपर्छ। यसो गरे आयोग अगाडि बढ्छ। नम्बरमा एकरूपता हुनुपर्छ भन्ने बुद्धि बनायो भने आयोगले गरिखाँदैन।

एकातिर शिक्षक छनोट प्रक्रिया गलत हुनु र अर्कोतर्फ विद्यालयमा शिक्षक दरबन्दीको कम भएको गुनासो छ। यसले राज्य र समाजलाई पार्ने दीर्घकालीन प्रभावलाई कसरी हेरिरहनुभएको छ?

मैले केही समयअघि एक ठाउँको शिक्षकहरूसँग संवाद गरें। ३५ जना विद्यार्थीका लागि तीनजना शिक्षक रहेछन्। यसले के देखाउँछ भने शिक्षकको दरबन्दी थप्ने भन्दा पनि पुनः समायोजन गर्नुपर्छ।

अर्थ मन्त्रालयले शिक्षक दिन र तलब थप्न सक्दिनँ भनिसकेको छ। त्यसैले दरबन्दीअनुसार शिक्षक छैन भन्ने हल्लाभन्दा पनि भएका शिक्षकलाई पुनः समायोजन गर्नुपर्छ। जसका लागि पहिलो विकल्पमा सार्ने, दोस्रो विकल्पमा बहुकक्षा शिक्षणका लागि अभियान सञ्चालन गर्ने र तेस्रो विकल्पमा प्रविधिलाई प्रयोग गरेर पढाउने हो। यी तीन विकल्पमा गएमात्र शिक्षा क्षेत्र सुधारिन्छ। यति दरबन्दी पुगेन, कक्षापिच्छे शिक्षक चाहिन्छ भन्ने थोत्रे बुद्धिले अगाडि जान सकिँदैन।  

शिक्षकहरूको संघ संगठनहरूलाई कसरी लिनुहुन्छ

शिक्षकहरूका संघ संगठनका साथीहरूले शिक्षकहरूलाई भोट बैंक बनाउने चिन्तन बोकिरहेका छन्। त्यो घातक हो। उहाँहरूले त पेशाकर्मी पहिलो हुनुपर्ने चिन्तन बोक्नुपर्छ। तर, भोटकर्मी पहिलो भन्ने दृष्टिकोण बोकिरहेका छन्। यस्तो चिन्तन बन्द हुनुपर्छ। बरु आयोगले सबै शिक्षकहरुलाई न्यूनतम क्षमता हुनैपर्छ भन्नुपर्छ। अहिलेको ढंगले चोरी चकारी गराउने प्रवृत्ति बन्द गर्नुपर्छ।

अब, शेरबहादुर, माधव, प्रचण्डलगायत नेतालाई समाएर यति समयसम्म विद्यार्थी र शिक्षकलाई दुरुपयोग गर्‍यौ, अबदेखि यस्तो गतिछाडा काम बन्द गर्नु भन्न लाउनुपर्छ। यसो गरे मात्र विद्यालयमा राजनीति प्रवेश गर्दैन। 

राजनीतिक आस्थामा रमेर शिक्षकहरूले राजीनामा दिइरहेको पाइन्छ। शिक्षकलाई किन पेशाप्रति जवाफदेही बनाउन सकिएन?

नेताहरूले सित्तैमा पाउने कार्यकर्ता भनेको विद्यार्थी र शिक्षक रहेका छन्। ती नेताहरूले विद्यार्थीहरूलाई उचालिरहेका छन्। शिक्षकहरूलाई राजनीतिक दलका कार्यकर्ता बनाए। शिक्षकहरू आफ्नो निर्णयमा नभई दलको निर्णयमा चल्छन् र चलिरहेकै छन्।

हामीले यस्ता क्रियाकलापलाई अन्त्य गर्न अझै सकेनौँ। राजीनामा दिएर शिक्षकले ठिक गरे। अब, शेरबहादुर, माधव, प्रचण्डलगायत नेतालाई समाएर यति समयसम्म विद्यार्थी र शिक्षकलाई दुरुपयोग गर्‍यौ, अबदेखि यस्तो गतिछाडा काम बन्द गर्नु भन्न लाउनुपर्छ। यसो गरे मात्र विद्यालयमा राजनीति प्रवेश गर्दैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.