|

निर्यात बढाउन अब दीर्घकालीन रणनीति अवलम्वन गर्नै पर्छ। सानैदेखि व्यवसायी बन्ने क्षमताको शैक्षिक ज्ञान र उदाहरण दिन ढिला गर्न हुँदैन। अझ सम्भव हुन्छ भने फरक व्यवसायका लागि फरक विषय नै बनाएर विशेष शिक्षा दिनु पर्छ। अन्यथा १३ खर्ब रूपैयाँको आयात गर्दा १४७ अर्ब रूपैयाँको निर्यात गरेपछि देश कंगाल नहुने कुरै हुँदैन।

व्यवसायी बन्नु भनेको बिलगेट्स, जेफ बेजोस, ज्याक्माँ र अम्बानी नै बन्नु पर्छ भन्ने मान्यताबाट बाहिर निस्केर आफूले सक्ने व्यवसाय गरौं‚ जसले कम्तीमा आफ्ना छिमेकीहरूका आवश्यकता इमान्दारितापूर्वक पूरा गर्न सकियोस्। विस्तारै व्यापारलाई राष्ट्रिय र विदेशसम्म फैलाउन सजिलो होस्।

पढेर डाक्टर, इञ्जिनियर, व्यवस्थापक बन्नेले भन्दा व्यवसायी बन्नेले समाज वा देशलाई बढी योगदान दिन सक्छन्। दक्ष व्यावसायिक क्षमताले एकातिर देशको अर्थतन्त्रमा योगदान पुग्छ भने आफ्नो, परिवारको र पूरै समाजको कल्याण गर्ने आधार बनाउन पनि सहयोग पुग्छ। व्यवसायीले एकातिर अनेक व्यक्तिलाई रोजगारी दिन सक्छ भने आफ्नै कमाइबाट समाज सेवा गरेर देश सेवाको  ढोका पनि खोल्न सकिन्छ। पढाइलाई कमाइमुखी बनाउनका लागि उद्यमशील चेतनाको विकास हुन आवश्यक छ।

व्यवसायी बन्नु भनेको बिलगेट्स, जेफ बेजोस, ज्याक्माँ र अम्बानी नै बन्नु पर्छ भन्ने मान्यताबाट बाहिर निस्केर आफूले सक्ने व्यवसाय गरौं‚ जसले कम्तीमा आफ्ना छिमेकीहरूका आवश्यकता इमान्दारितापूर्वक पूरा गर्न सकियोस्। विस्तारै व्यापारलाई राष्ट्रिय र विदेशसम्म फैलाउन सजिलो होस्।

छिमेकी भारतले २०२१–२२ मा ४१८ अर्ब डलरको सामान निकासी गरेको थियो। चीनले लगभग एक महिनामा ५०० अर्ब डलरको सामान निकासी गर्छ। तर‚ नेपालले साउनदेखि माघसम्ममा १३६ अर्ब रुपैयाँको मात्र निकासी गरेको छ, अर्थात् सवा अर्ब डलर बराबर।

दुई नवआर्थिक साम्राज्यहरूको माझमा नेपालको निकासी व्यापार निक्कै कम हुनुको पछाडि हामी नेपालीका पक्कै केही कमजोरी छन्। त्यसमध्ये मुख्य कमजोरी नेपालीमा लगानी संस्कृतिको विकास नहुनु‚ निकासीमुखी शिक्षाको कमी पनि एक हो।

बहाना बनाउनका लागि पर्याप्त आधार त छँदैछन्। जस्तै देश भूपरिवेष्ठित हुनु, कच्चा उत्पादनको दीर्घकालीन रणनीति नहुनु‚ बजार सीमित हुनु, स्थलमार्ग ढुवानीको कारणले गर्दा नेपाली सामानको मूल्य महँगो पर्नु। यी सबै समस्यालाई चिरेर नेपालीहरू निर्यातक बन्न जरुरी छ; जसले देशको बर्तमान अवस्थालाई पूर्णतः परिवर्तन गर्न सकोस्। जुन चिज बेच्नका लागि समुद्रिकमार्ग आवश्यक पर्दैन। त्यस्तो बस्तु तथा प्रविधिको उत्पादन गरेर भए पनि नेपालीहरूले निर्यात व्यापार बढाउन जरुरी छ।

नेपालीहरूले नेपाल कै कच्चा पदार्थ प्रयोग गरेर विश्वलाई चाहिने बस्तु उत्पादन गर्न अन्तरआत्मबौद्धिक क्षमताबाट अन्वेषणको जग बसाल्न जरुरी छ। त्यो नै गरिवी निवारणको अन्तिम विकल्प हो। यसका लागि बालबालिकालाई सानै उमेरदेखि व्यवसायी बन्नुको महत्त्व बुझाऔं। पाठ्यक्रमलाई थोरै भए पनि व्यवसायी बन्न सिकाउने आत्मबलयुक्त रोचक जानकारीहरू दिएर जोखिम लिनसक्ने क्षमता विकास गराउनु पर्छ।  हरेक प्रकारका खुसीको आधार व्यवसाय हो भन्ने जानकारी सानै उमेरबाट दिनु पर्छ ।

मानिसले चाहेमा हरेक बन्धन तथा अवरोध तोडेर अति आवश्यक र आकर्षक बस्तु उत्पादन गर्न सकिन्छ। मानिसको दिमागभित्र त्यो जैविक रसायन छ‚ जसले विष्मयकारी उत्पादन गर्न सक्छ। उपयोगी चेतना बाल दिमागमा कुनै न कुनै तरिकाले सम्मिलन गराउन सक्ने क्षमतासहितको पाठ्यक्रम विकास आजको राष्ट्रिय आवश्यकता हो।

प्रत्येक नागरिक, सरकार तथा राष्ट्रप्रेमीले आफ्नो सोचलाई माथि नउठाएसम्म कुनै त्यस्तो आविष्कार हुन सक्दैन। जसलाई बेचेर गरिबीलाई परास्त गर्न सकियोस्। त्यस कारण हटेर होइन डटेर देशको आर्थिक बर्तमान तथा भविष्यलाई एक बलियो गन्तव्यतर्फ लैजानका लागि तुलनात्मक लाभका हरेक उत्पादन देशमा नै गर्ने रणनीति राज्यले लागु गर्नुपर्छ। जनताले पनि यसमा साथ दिनुपर्छ।

प्रयास गरेर अन्य मुलुकले देशको आर्थिक अवस्था सुधार गर्न सक्छन् भने नेपाली युवाहरूले पनि यस्ता यावत काम गर्न सक्छन्। यो कुनै बनावटी कुरा होइन, चीन र अमेरिका धनी बन्न/बनाउनका लागि कसैले न कसैले त्याग र बलिदान दिएकै हो। त्यो बौद्धिक, सिर्जनात्मक वा अन्वेषणत्मक दान नेपालीले पनि दिन आवश्यक छ। 

काम गर्ने क्षमता युवामा बढी छ भन्ने चेतना हरेक तरिकाबाट बाल मष्तिष्कमा विजारोपण गर्न सक्नु नै आजको शैक्षिक आवश्यकता हो। हाम्रा खरबारीहरूमा खर उब्जिन सक्छ। संघीय सरकार तथा स्थानीय सरकार मिलेर भटमासको खेती गरेर कम्तीमा खानेतेल आयात रोक्न सक्ने हो भने देशको मुहार अर्कै हुन्छ।

अरु सबै कुरा सम्भव छ। तर‚ देशमा कोही न कोही व्यवसायी भएन भने देश चल्न नै सम्भव  छैन भन्ने सानैदेखि बुझ्न जरुरी छ। बुझाउन पनि जरुरी  छ। हामीले आज जसलाई ठूलो, असल वा शक्तिशाली देखेका छौँ ती सबैको रोजीरोटीको मुख्य आधार व्यवसायीले तिर्ने कर, किसानले उब्जाउने अन्नपात फलफूल, उद्योगीले गर्ने उत्पादन, व्यापारीले गर्ने आयात निर्यात र त्यसमा तिरिने कर हो।

यही कारणले गर्दा कोही जागिर गर्छ भने पनि उसले खाली समयमा व्यवसाय गरोस्, किसानले पनि सकिन्छ भने बचेको समयमा अर्को व्यवसाय वा उत्पादनमुलक काम गरौँ। भियतनामका होची मिन्ह जो राष्ट्रपति र प्रधानमन्त्री दुवै हुनुभयो‚ उहाँले अफिसबाट आएर खेती गर्नुहुन्थ्यो। राज्यले दिने तलब गरिबलाई दिएर आफ्नो जीविका खेतीबाट चलाउनु हुन्थ्यो। आज भियतनाम युद्धबाट ग्रस्त हुँदाहुँदै पनि कसरी उदाहरणीय सफल देश बन्यो। नेपालीले चाहेमा नेपाल पनि त्यस्तै हुन्छ। यो भावनात्मक कुरा होइन वास्तव सम्भव छ गरौँ।

यो निक्कै आदिम उदाहरण होला। तर‚ यथार्थ के हो भने जो कोहीले यदि देशमा सम्पन्नता ल्याउन चाहनु हुन्छ भने कुनै नै कुनै रुपमा व्यावसायिक कार्य गर्न जरुरी छ। पुर्ख्यौली जग्गा बेचेर र दलाली गरेर धनी बनेका नवधनाड्य वर्गको चुरीफुरीले देशको अर्थतन्त्रलाई बर्बाद गराउन सक्छ। त्यसतर्फ सचेत भएर देशको अर्थतन्त्रलाई मौलिक तरिकाले विकसित गर्ने नीतिको विकास गरौँ।

यसमा विवाद त उठ्ला, दलाली गर्नेले, जग्गाको भाउ दिन दुईगुणा रात चौगुनाका दरले बढाएर अर्थतन्त्रलाई दूषित गरिरहेको अवस्थामा देशको अर्थतन्त्र बचाउन एउटा नीतिगत मस्तिष्क अभ्यास (ब्रेन स्ट्रोमिङ) गरौं र बेञ्चमार्क नीति लागू गरेर देशलाई एक सही दिशामा लैजान तयारीमा जुटौं।

यसका अनेक तर्क होलान्। तर‚ यो लेखको आसय दलाली गरेर पैसा कमाउने होइन। कर्म गरेर‚ आयात निर्यात गरेर, कुनै विश्वव्यापी व्यावसायिक ब्राण्डको निर्माण गरेर कमाउने क्षमता बृद्धि गरेर कमाउने प्रसंगलाई जोडिएको हो। पूरै देश एक व्यक्ति जसरी धनी बन्न सक्दैन।

अर्थतन्त्र भीरको कुलो हो‚ जसको डिल थोरै फुटेमा डाँडो नै पहिरोले धसिन्छ। त्यसैले कुलोरूपी अर्थतन्त्रको डिललाई सधैं बलियो बनाउने प्रयास गरौँ। गरे हुन्छ।

व्यक्तिले दलालीबाट, लटरीबाट र भ्रष्टाचारबाट पनि कमाएका उदाहरण छन्। तर‚ देश धनी बन्न दिगो उत्पादनका आधार खोज्नुपर्छ। हरेक राष्ट्रिय खर्चमा सुशासनमितव्यिता कायम गर्नुपर्छ।

एकातिर सुशासनबाट सार्वजनिक खर्च जस्तै पेन्सनप्रथा, भ्रष्टाचार, भत्ताहरू, अनावश्यक निर्माणजस्तै डाँडैपिच्छे भ्युटावरको संस्कृति, सबै हरिया डाँडामा डोजरको ध्वस्तीकरण रोक्न जरुरी छ। जेनेटिक इञ्जिनियरिङबाट उत्पादन बढाउनका लागि अनुसन्धान गर्न जरुरी छ।

वित्तीय नीति केबल लहडमा नबनाऔं, आयातलाई नियन्त्रण गरौँ तत्काल अलोकप्रिय लाग्ने निर्णय गरेर भए पनि देशको अर्थतन्त्र बचाउने गरी देशलाई निर्यातक राष्ट्रमा परिणत गरौं। विद्यालयमा बालकलाई त्यस्तो शिक्षा दिऔं‚ जसले विद्यार्थिहरूमा उद्यमी बन्ने जोश सानैदेखि जाग्दै जावस्।

अर्थतन्त्र भीरको कुलो हो‚ जसको डिल थोरै फुटेमा डाँडो नै पहिरोले धसिन्छ। त्यसैले कुलोरूपी अर्थतन्त्रको डिललाई सधैं बलियो बनाउने प्रयास गरौँ। गरे हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.