|

जनकपुरधाम : जगद्‌गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहने  बताएका छन्।

रामनवमीका अवसरमा जनकपुरधाममा आयोजना गरिएको हिन्दु अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाल हिन्दु राष्ट्र रहेकाले त्यो घोषणा गर्न कुनै नेतालाई पर्खनु नपर्ने जानकारी गराए।

‘नेपाल र भारतको सुरक्षाका लागि हिन्दु राष्ट्र कायम हुनु आवश्यक छ’‚ उनले भने‚ ‘यसका लागि कुनै नेताको आवश्यकता छैन। नेपाल हिन्दु राष्ट्र हो र रहिरहन्छ। म घोषणा गर्छु।’

दुई देश बीचको भाग अर्थात् मिथिलाञ्चल क्षेत्र नेपाल–भारतको सांस्कृतिक धरातल एउटै भएको बताउँदै यी देशबीच असल सम्बन्ध हुनुपर्नेमा जोड दिए। 

सरस्वती महाराजले नेपाल र भारतको सांस्कृतिक धरातलमा एकरूपता रहे पनि पछिल्लो समय नेपाल चीनको षड्‌यन्त्रमा फस्न लागेकाले सावधान हुनु आवश्यक रहेको जानकारी गराएका हुन्। 

शंकराचार्यले नेपाल र भारत दुबै देशले आफूलाई हिन्दु राष्ट्र कायम गरे एक वर्षभित्रै विश्वका १५ वटा देशले आफूलाई हिन्दुराष्ट्र कायम गर्ने दावी समेत  गरे।

आफ्नो मन्तव्यका क्रममा उनले नेपालका नेताहरूलाई धर्मको ख्याल गर्न चेतावनी दिएका थिए। शंकराचार्यले भने, ‘ओलीजी, प्रचण्डजी सावधान! आफ्ना पूर्वजको विषयमा ज्ञान राख्नुस्। मृत्युपछि धर्मले नै साथ दिन्छ‚ वितण्डावादले तपाईंलाई साथ दिँदैन।’

पुस्तकालय जलाउनु अपराध भएको उल्लेख गर्दै त्यस्ता व्यक्ति नेता हुन नसक्ने उनले उल्लेख गरे। उनले भने‚ ‘हामी पुस्तकलाई ढोग्छौँ‚ सम्मान गर्छौँ। त्यस्ता ग्रन्थ जलाउने व्यक्तिबाट मानवताको व्यवहार कसरी हुन सक्छ?’

उनले बेनको उल्लेख गर्दै सज्जन पीडित भएको र दुर्जनको राज भएकाले प्रकृतिले नै बदला लिएर अत्याचारीको नाश गरेको चर्चा गर्दै सत्यको पक्षमा लाग्न स्मरण गराए ।

उनले मिथिला जनक‚ सुलभा‚ गार्गी‚ मैत्रेयी जस्ता विद्वान् र विदुषीको भूमि भएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.