|

काठमाडाैं : नाटकघरको ढोकाबाट भित्र छिर्दै गर्दा दर्शकलाई आफू कुनै नाटक हेर्न होइन कि घुम्दै फिर्दै इतिहासको कुनै कालखण्डमा पुगे जस्तो लाग्न सक्छ। शान्त देखिने दुई पहाडका बीचमा रहेको एउटा प्रेमिल झुपडीमा पाहुना भएर गए जस्तो लाग्न सक्छ। आँगनको डिलमा बस्दा पनि किन आफूलाई स्वागत नगरिएको होला जस्तो लाग्न सक्छ, फेरि केही बेरमा धन्न स्वागत गरिएनछ जस्तो पनि लाग्न सक्छ। 

भर्खर समाजसँग युद्ध लडेर आएको एउटा प्रेमिल जोडी, एउटा झुपडी, भाँडोमा पाक्दै गरेको चामल र केही बेरअघि मात्रै अगेनोबाट उतारेको सागको झोल पाकेको कराइ, एउटा पुरानो रेडियो अनि रेडियोमा बज्दो पुरानो एउटा प्रेमिल गीतले त्यो साँझलाई नै प्रेमिल बनाए जस्तो लाग्छ। हावामा प्रेममिश्रित शान्ति भए जस्तो लाग्छ। तर त्यही हावामा मिसिएको बारुदको गन्ध गौण छ। त्यो परिवेश त्यस्तै शान्त छ, जस्तो सेफ्टी पिन निकालेपछिको ग्रेनेड हुन्छ।

पहाडको एउटा कुनामा देशको लागि, देशका जनताका लागि हतियार उठाएका योद्धा छन्, अर्को पहाडको अर्को कुनामा पनि देश र जनताकै लागि लड्नेहरू छन्। उनीहरूको हातमा पनि हतियार छ। दुवैतर्फ साँच्चिकै बन्दुक छन्, जसमा साँच्चिकै गोली छन् र हरेक एउटा गोलीले प्राण लिने सामर्थ्य राख्छ।

दशबर्से माओवादी सशस्त्र द्वन्द्वले नेपाली जनतालाई धेरै थोक दियो। माओवादी पार्टी मूलधारको राजनीतिमा आयो, देशकाे शासन व्यवस्था फेरियो, धेरै नेताको जीवनशैली पनि फेरियो साथै जनआन्दोलनले केही यस्ता घाउ पनि दियो जाे आज पनि दुखिरहन्छन्, जसको खत डेढ दशक बित्दा पनि मेटिएन र सायद कहिल्यै मेटिँदैन पनि। जनआन्दोलनले दिएका यस्तै खतहरूको कथा लेखक तथा निर्देशक सुलक्षण भारतीले नाटक 'खत' मार्फत बोलेका छन्। 

भारतीले नाटकलाई यसरी डिजाइन गरेका छन् कि दर्शकलाई नाटक हेर्न होइन बरु इतिहासको एउटा घटनाको साक्षी बन्न पुगे जस्तो लाग्छ। दर्शकले दुई पक्षको बीचमा बसेर युद्धलाई हेर्छन्। जहाँबाट कोही नायक, कोही खलनायक देखिँदैन। दुवै तिरबाट निस्केका गोलीको आवाज र बारुदको गन्ध उस्तै लाग्छ। दुवै तिरका आँशुको स्वाद र दुवै तिरका रगतको रंग उस्तै लाग्छ।

हरेक खेलमा एउटा पक्षले जित्छ, अर्को पक्षले हार्छ। केही खेल बराबरीमा पनि रोकिन्छन्। तर खतका दर्शकले यस्तो खेल हेर्छन् जहाँ दुवै पक्ष पराजित हुन्छन् र त्यस्ता खेलका खत भयानक हुन्छन्। पराजयको त्यो खत दर्शक आफैँले महशुस गर्न सक्छन्। समग्रमा 'खत'ले समय यात्रा गराउँछ, जहाँ हामी हाम्रो इतिहासको सानो अंश बाँचेर फर्कन्छौँ। 

नाटकमा जयराम ढकाल, निशा, ब्ल्याक क्याट, आभाष अधिकारी, अरुण पौडेल, रमेश बज्राचार्य, सन्देश कार्की, प्रकाश गुरागाईं, आदि योगी, सागर भट्टराई, श्रवन यादव, चर्चित ढुंगेल, प्रितमसागर शर्मा, निशा दाहाल, नुज महर्जन, उत्तम अधिकारी, रितेश कार्की, शिशिर गिरी, भावना उप्रेती, अर्नभ घिमिरेलगायत कलाकारको अभिनय रहेको छ। लेखन निर्देशनसँगै नाटकको मञ्च परिकल्पना पनि भारतीकै हो भने प्रकाश परिकल्पना जयराम ढकालको हो।

सिनामंगलस्थित पुरानो घर थिएटरमा चैत २५ देखि मञ्चनरत नाटक वैशाख १६ सम्म सोमबारबाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे पनि मञ्चन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.