|

धनकुटा : भोजपुरको हतुवागढी गाउँपालिकाको मजुवाटारमा रहेको नाङ्खुवा खोला लघु जलविद्युत आयोजनाबाट १ सय २० घरधुरीले लाभ लिइरहेका छन।

राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनियमित भइरहेका बेला स्थानीय समुदायले आफ्नै अग्रसरतामा सञ्चालन गरिरहेकाे लघु विद्युत आयोजनाले गाउँ झलमल्ल पारेको छ।

ठूला जलविद्युत परियोजना बिग्रँदा वा पुनर्निर्माण सुस्त गतिमा अघि बढिरहँदा नाङ्खुवा खोला जलविद्युत आयोजनाले गाउँमा हालसम्म नियमित विजुली दिइरहेको छ।

सरकारले विद्युत संकट कम गर्न लघु जलविद्युत आयोजनाको निर्माणलाई प्रवर्द्धन गर्ने नीति लिएको देखिन्छ।

लघु जलविद्युत आयोजनाबाट प्रति वर्ष कम्तीमा ५ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा सरकारले यसअघि नै गरेपनि त्यो लागू गर्न चुनौति देखिएको छ।

भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ९ मजुवाटारमा रहेको नाङ्खुवा खोला जलविद्युत आयोजनाबाट वि. सं. २०६४ साल असोज ६ गतेदेखि नियमित १२ किलोवाट विद्युत उत्पादन गर्दै आइरहेको छ।

त्यतिबेला २३ लाख रुपैयाँ खर्च गरेर आयोजनाको निर्माण गरिएको स्थानीय अनिराज राईले बताए।

जसमा बैकल्पिक उर्जाले प्रति किलोवाट ७० हजारका दरले ८ लाख ४० हजार र बाँकी स्थानीयको लगानीमा निर्माण गरिएको राईले जानकारी दिए।

खयर बेचेर विजुली

वि.सं. २०६४ सालमा विद्युत निकाल्ने तयारी भएपछि स्थानीयको धेरै ठूलो पहल कदमीले बैकल्पिक उर्जाबाट ८ लाख ४० हजार रुपैँया सहयोग गर्ने भएपनि बाँकी रकम स्थानीयले जुटाउन समस्या भयो।

त्यसपछि स्थानीयबासीले नजिकै रहेको नाङ्खुवा सामुदायिक वनको खयर बिक्री गरेर बाँकी रकम जुटाएको स्थानीय प्रशनजीत राईले बताए।

‘करिब २५ लाख लगानी हुने अनुमान गरिएको थियो।’ उनले भने, ‘बैकल्पिक उर्जाले ८ लाख ४० हजार अनुदान दिएपनि बाँकी रकम जुटाउन स्थानीयले नसक्ने भएपछि सामुदायिक वनको खयर बेचेर जुटाइएको हो।’

गाउँलेमा विजुली बाल्ने रहरकै कारण खयर बेचिएको उनले बताए।त्यो बेला खयर करिब १४ लाख ६० हजारको बेचिएको राईकाे भनाइ छ।

त्यो सबै पक्षको सहमतिमा भएको उनले बताए। लघु जल विद्युतको विकासले विद्युत पहुँचमा वृद्धि, लघु जलविद्युत आयोजनको विकास र संचालन पश्चात धेरै ग्रामीण क्षेत्रका नागरिकको जीवनयापनमा सहजता आएको छ।

नेपालमा स्थापना भई संचालनमा आएका रहेका धेरै लघु तथा साना जलविद्युत आयोजनाका कारण विद्युतीकरणको थालनी क्रमिक रुपमा बढेको हो।

यहाँका स्थानीय २०६४ सालभन्दा पहिलेको समयमा अन्धकारमै वा टुकी बत्ती बालेर आफ्नो जीवन चलाइरहेका थिए।

शहरी क्षेत्रमा सूचना प्रविधिका साधनको प्रयोग बढ्ने र विद्यार्थीहरु पनि कम्प्युटर शिक्षा प्राप्त गर्न सफल भई रहदा यस ठाउँका विद्यार्थीहरुले घाम छँदैमा आफ्नो गृहकार्य सक्नुपर्ने र अन्धकारमै टुकी तथा झुम्रे बत्तीमा पढ्न बाध्य थिए।

पुराना पुस्ताका धेरै ज्येष्ठ नागरिकले विद्युतबाट बलेका चिमसम्म देख्न पाएका थिएनन्।

वि.सं २०६४ साल पश्चात नाङ्खुवा खोला लघु जलविद्युत आयोजना सञ्चालनमा आएपछि जल ऊर्जाको पहुँच बिस्तार भएसँगै जीविकोपार्जनमा सहजता आएको छ।

स्थानीय नाङ्खुवा खोलाबाट १२ किलोवाट क्षमतामा उत्पादन गरिएको जलविद्युतले धेरै नागरिकको आधारभूत आवश्यकता प्राप्त गर्न सहज भएको स्थानीय शोभा कुमारी राईको भनाइ छ।

आफ्ना पुर्खाले सिंगो जीवन अन्धकारमै गुजार्नुपर्ने बाध्यता ग्रामीण क्षेत्रका नागरिकको नियति बनेको थियो। लघु जलविद्युत आयोजनाले मूर्त रुप पाएसँगै स्थानीयको जीवनशैली फेरिएको हो।

घरमा बत्ती बाल्ने, विद्यार्थीका निम्ति पढ्न सहज, अध्ययन, घर घरमा मोबाइलको प्रयोग, टेलिभिजन तथा राईस कुकरको प्रयोग बढेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा संचालनमा आएको लघु जलविद्युत आयोजना एक सफल उदाहरण बनेको छ।

माग धान्न समस्या

राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनियमित हुँदा देशका अधिकांश स्थान लामो समयसम्म अन्धकार रहँदा पनि सधैँ विजुली बाल्ने यो मजुवाटार गाउँ विद्युतमा सम्पन्न देखिन्छ।

उत्पादन भएको निकै समयसम्म विद्युतको माग पुर्‍याउँदै आएकोमा अहिले घरघरमा उपकरण बढेकोले विद्युतको माग बढेको अनिराज राईले बताए।

उनले आयोजना सुरु गर्दा ८० घर रहेकोमा हाल डेढ सय घर पुग्न लागेको हुँदा माग पूरा गर्न समस्या रहेको बताए।

राईका अनुसार बेलुका ५ देखि ९ बजेसम्म र बिहान ५ देखि ९ बजेसम्म माग धान्न केही समस्या हुने गरेको छ भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उत्पादन भएको विद्युत पनि खपत भएको छैन्।

विद्युत महशुल महँगो लघु जलविद्युत सहकारी गाउँलेहरुलाई उज्यालो बनाएर अहिले नाफा कमाउनमा व्यस्त छ। तर, राष्ट्रिय प्रसारण लाइनको भन्दा विद्युत शुल्क निकै महँगो तिर्न स्थानीय बाध्य छन्।

राष्ट्रिय प्रसारण लाइनको विद्युत महशुल २० युनिटसम्म निशुल्क भइरहेको बेला लघु जलविद्युत आयोजनाका उपभोक्ता भने मासिक १ सय २० रुपैयाँ शुल्क तिर्न बाध्य छन्।

आयोजनाले एक घर बराबर जति विद्युत प्रयोग गरेपनि १ सय २० रुपैयाँ शुल्क लिँदै आएको स्थानीय शोभा कुमारी राईले बताइन्।

उनले बढी विजुली प्रयोग गर्नेलाई यो शुल्क ठीक भएपनि कम विजुली प्रयोग गर्नेलाई महँगो भएको बताइन्।

यता आयोजनाले भने सुरुमा लागत खर्च बढी भएकाले यही शुल्क कायम गरिएको र अहिले राष्ट्रिय प्रसारण लाइन सस्तो भएकाले यो गुनासो आएपनि पहिले राष्ट्रिय प्रसारण लाइन पहुँच बाहिर हुँदा यस्तो गुनासो नरहेको जनाएको छ।

कच्ची पोलको भर

करिब १४ वर्ष अघिबाट सञ्चालन भइरहेको यो आयोजनाका धेरै पोलहरु कच्ची रहेका छन्।

राष्ट्रिय प्रसारण लाइनले धमाधम फलामका पोल फेरिरहेको अवस्थामा यो आयोजना भने बाँसका पोल र मकाएका काठका पोलको भरमा सञ्चालन भइरहेको छ।

यस्तो अवस्थामा विद्युत आयोजना सञ्चालन हुँदा ठूलो हावाहुरीको बेला त्रास उत्पन्न हुने गरेको छ।

पोल फेर्न र राष्ट्रिय प्रसारणमा जोड्न सहकारीका साथै स्थानीय सरकारले पहल गर्नुपर्ने स्थानीयको माग छ।

राष्ट्रिय प्रसारणमा जोडिए त्रास हट्ने स्थानीयको भनाइ छ। यता हतुवागढी गाउँपालिकाले आयोजनालाई सहयोग गरिरहेको जनाएको छ।

गाउँपालिकाको सहयोगले मात्रै नहुने भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोड्न समन्वय गर्दै आएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर राईले जानकारी दिए।

गाउँपालिकाले पोल र तार व्यवस्थित गर्न सहयोग गरेको र यो पटक पनि विभिन्न शीर्षकमा सहयोग गरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाको सहयोगले मात्रै नहुने भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोड्न समन्वय गर्न लागेको र केही समयपछि जोडिएर पोल र तार व्यवस्थित गरिने जानकारी दिए।

यता आयोजनाका जानकार अनिराज राईले भने राष्ट्रिय प्रसारण लाइनमा जोड्न आफूहरु तथा गाउँपालिकाले कुनै पहल नगरेको बताएका छन्।

राष्ट्रिय प्रसारण लाइनमा जोड्न ठूलो खर्च लाग्ने भएकाले चासो नगरेको उनको भनाइ छ। राष्ट्रिय प्रसारण लाइन बिग्रँदा पुनर्निर्माण सुस्त गतिमा हुने सम्भावना हुन्छ।

धेरै ठाउँमा लामो समय विद्युत नभएको गुनासो बढिरहँदा नाङखुवा खोला जलविद्युत आयोजनाले गाउँलाई नियमित विजुली दिइरहेको छ।

यस्ता आयोजना संरक्षण गर्न सबैको पहल हुनुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.