ओलीलाई सहयोग गरेकै कारण महन्थ ठाकुरहरू पत्तासाफ हुन्छन्

|

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूको सक्रियता बढ्दै गइरहेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)विरुद्ध सत्तारुढ पाँच दलीय गठबन्धनबीच प्रतिस्पर्धा हुने वातावरण बन्दै गइरहेको छ। सत्ता गठबन्धनले आफूविरुद्ध मोर्चाबन्दी गरेपछि एमालेले पनि विपक्षी गठबन्धनको प्रयास गर्दैछ। 

सोमबार मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोककुमार राई  र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न संयुक्त अपील जारी गरेका छन्। 

गठबन्धनका शीर्ष नेताहरूले चुनावी सहकार्यमा जोड दिइरहे पनि नेताहरूको फरकफरक धारणा आइरहेको छ। स्थानीय निर्वाचनमा केन्द्रको निर्णय लाद्ने प्रयास हुँदै गर्दा तल्लो तहबाट विरोधको आवाज उठिरहेको छ। स्थानीय तहको निर्वाचनमा तल्लो तहसम्म गठबन्धनको मोडालिटी कस्तो रहन्छ? शीर्ष तहमै निर्णयमा पुर्‍याउन सकस परिरहेको महानगर र उपमहानगरको भागबण्डा कसरी हुन्छ? लगायतको विषयमा केन्द्रित रही जसपाका नेता मोहम्मद इस्तियाक राईसँग थाहाखबरकर्मी रमेश पराजुलीले गरेको कुराकानी :  

स्थानीय तहको निर्वाचन त आइसक्यो‚ जसपाको तयारी कस्तो छ? 

हाम्रो पार्टीले अधिकांश ठाउँमा उम्मेदवार सिफारिस भइसकेको छ। बाँकी रहेका ठाउँमा पनि अन्तिम चरणमा पुगिसकेका छन्। उम्मेदवार सिफारिसको रिपोर्ट केन्द्रमा पठाइसकेका छौँ। अन्य चुनाव केन्द्रित कार्यक्रममा पनि हाम्रो देशव्यापी रुपमा भइरहेको छ।

पाँच दलीय गठबन्धनबाट चुनावी प्रतिस्पर्धा जाँदै हुनुहुन्छ। तल्लो तहसम्म कस्तो बन्दैछ माहोल? 

खास गरेर महानगरको मेयर र उपमेयरसम्म गठबन्धन हुनसक्ला। तर, सबै स्थानीय तहमा केन्द्रले भागबण्डा लगाएर सम्भव छैन। जिल्लागत वा प्रदेशगत रूपमा आवश्यकताको आधारमा हुनसक्ला त्यो बेग्लै कुरा भयो। नत्र केन्द्रबाट भागबण्डा गरेर गठबन्धन हुने अहिलेसम्म कुनै आधार बन्छ जस्तो लाग्दैन। औचित्य र आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्छ भनेर शीर्ष तहबाट निर्णय भएर अपील जारी भएको छ। देशव्यापी रुपमा गठबन्धन गर्नुपर्छ भनेर निर्णय भएको होइन।

गठबन्धनभित्रका केही दलका नेताहरूले २०७४ सालको निर्वाचनलाई आधार मानेर भागबण्डा गर्ने भनिराख्नुभएको छ। त्यस बेला न एकीकृत समाजवादी थियो न त जसपा नै। पार्टी नै नभएको बेलाको चुनावलाई आधार लिने कुरा मिल्दैन।

नेकपा संयुक्त नयाँ शक्ति राजपा विभिन्न पार्टी हुँदै यहाँसम्म आइपुगेका छौँ। पहिला संघीय समाजवादी भएर चुनाव लड्यौं‚ त्यसपछि अहिले जसपा भएको छ। पार्टी नै नभएको बेलाको २०७४ को चुनाबलाई आधार लिएर भागबण्डा गर्ने कुरा हुँदैन। त्यो अर्को समस्या हो। हाम्रो हैसियत र आवश्यकता अनुसार गठबन्धनमा हुन्छ भनेर हुन्छ। नत्र यसको कुनै औचित्य छैन। गठबन्धनभित्रका केही दलका नेताहरूले २०७४ सालको निर्वाचनलाई आधारमा मान्ने भनिराख्नुभएको छ। त्यसमा दुईवटा पार्टी नै थिएन। न एकीकृत समाजवादी थियो न त जसपा नै। त्यसको स्वरुप तीनपटक फेरिसकेको छ। हाम्रो पार्टीको कुरा गर्दा विभिन्न अरू साना दलहरूसँग पाँच पटक एकीकरण भइसकेको छ।

गठबन्धनको आवश्यकता तपाईंहरूलाई परेको हो कि कांग्रेस र  प्रचण्ड-माधवलाई? 

हामीलाई कुनै गठबन्धनले ठूलो लाभ पनि हुँदैन। हानी पनि हुँदैन। उहाँहरूको आवश्यकता के हो हामीले भन्ने कुरा भएन। तर, उहाँहरूको कुरा बुझ्दा गठबन्धनमा एमालेले जितेको ठाउँमा गठबन्धनले जितोस् भन्ने मानसिकताले गयो भने हुनसक्ला।

गठबन्धनमा रहेका दलहरूले जितेको ठाउँमा खुला प्रतिस्पर्धा गरौँ। जहाँ कमजोर देखिएका छौँ‚ एमालेले जितेको ठाउँ छ‚ त्यहाँ गठबन्धन गरौँ भन्ने हाम्रो कुरा हो। तर, हाम्रो कुरा नहुने भएपछि केका लागि गठबन्धन! स्थानीय तहमा संगठन बनाउनका लागि पनि स्थानीय तहको चुनाव हुन्छ। तर, उहाँहरू डराएर गठबन्धन भनिराख्नुभएको होला। अब महानगरको कुरामा पनि कसैलाई तीनवटा महानगरपालिका चाहियो। अरुलाई चाहि एकएक वटा दिने भन्ने कुरा छ।

एउटामा त हामीले जितेकै छौँ नि! विराटनगर महानगरमा हामी दोस्रो छौँ। त्यसको सम्बोधन कहाँ हुन्छ? यस्ता कुरा गठबन्धनभित्र मिलिसकेको छैन। अहिले गठबन्धन आवश्यकता कसलाई भन्दा पनि हाम्रो हैसियत अहिले तीन गुण ठूलो भएको छ। त्यही आधारमा हुन्छ भने ठिक छ‚ होइन भने स्थानीय तहको चुनावमा आ-आफ्नो हिसाबले जोसँग सहकार्य गर्दा फाइदा हुन्छ‚ त्यसैसँग गर्दा हुन्छ भन्ने जस्तो लाग्छ। 

हाम्रो दाबी विराटनगर महानगरपालिका र वीरगञ्ज उपमहानगरपालिकामा रहन्छ। अरु पार्टीले कहाँ के गर्छ भन्नेमा हाम्रो केही हुँदैन। अघिल्लो चुनावमा हामीले काठमाडौं र ललितपुरमा पनि भोट पाएकै हौँ। वीरगञ्जमा त जितेकै हौँ नि। अन्य ठाउँमा एमालेले जित्यो‚ त्यसमा भागबण्डा हुनुपर्‍यो नि। 

हाम्रो विराटनगर र वीरगञ्जमा दाबी रहन्छ। अरु पार्टीले कहाँ के गर्छ भन्नेमा हाम्रो केही हुँदैन। वीरगञ्जमा हामीले जितेकै हौँ।

वीरगञ्जबाट तपाईंको पार्टीबाट निर्वाचित मेयर त एमाले प्रवेश गरिसक्नुभयो। त्यहाँ अझै जित्ने आधार के छ

व्यक्ति प्रवेश गरेर संगठन जान्छ भन्नु हुँदैन। उनी गएपछि हामीले पनि पार्टीमा भित्र्याएका छौँ नि। विजय सरावगीसँग दुई हजार मान्छे पनि छैनन्। उनी राजनीतिक व्यक्ति थिएनन्। हामीले ल्याएर मेयर बनाएका हौँ। उनी कुनै नेता थिएनन्। कामै नगरेर आलोचना भएपछि अर्को ठाउँमा गएर खान पाइन्छ कि भनेर गएका हुन्।

हामीले मधेश आन्दोलनमै होमिएका राजेशमान सिंहलाई पार्टीमा भित्र्याएका छौं। उहाँलाई चुनाव लडाउन कुनै समस्या छैन। पहिलाभन्दा माहोल राम्रो भएको छ। पहिला हारेको ठाउँमा फेरि अर्कोको जित्दैन भन्ने हुँदैन। त्यहाँ उम्मेदवारहरू फेरिन्छ। त्यही उम्मेदवार र व्यक्तिले जित्छ भन्ने हुँदैन।

भनेपछि जसपाले राजेशमान सिंहलाई वीरगञ्जको मेयरमा उठाउँछ?

​हामी त मधेश आन्दोलनको सुरुदेखि नै उहाँसँगै छौँ। उहाँ हामीसँग विचार मिल्ने फरक दलमा हुनुहुन्थ्यो। तर, अहिले हाम्रै पार्टीमा आइसक्नुभएको छ। वीरगञ्ज ‘क्लिन स्वीप’ बनाउने योजनामा छौँ। एक्लै पनि राम्रो नजिता ल्याउन सक्ने अवस्थामा छौँ। 

विषेशतः चुनावको मुखमा मधेश केन्द्रित दलका नेताहरू किन दल फेरिरहन्छन्

मधेश प्रदेशमा सबैको ध्यान केन्द्रित छ। ठूला मिडियादेखि दलहरूको ध्यान यहीं हुन्छ। हाम्रो पार्टीमा बहस भयो भने विभाजन हुनलाग्यो भनेर मिडियाले हल्ला गरिदिन्छ। तर, अरु पार्टीमा भयो भने त्यसलाई राजनीतिक बहस भनेर लेख्छन्।

हामीले लुम्बिनी, मधेश‚ गण्डकी र सुदूरपश्चिममा प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टी प्रवेश गराएका छौँ। हाम्रो पार्टीमा मात्रै नभएर ‘इमेज’ बिग्रेका नेताहरू अन्य पार्टीमा पनि फेरिरहन्छन्। त्यसमा चाहिँ २०/२५ प्रतिशत राम्रो मान्छेलाई भित्र्याउन प्रयास गरिरहन्छ। तर, ७५ प्रतिशत जनताको सेवा गर्न नसक्ने टिकट खोज्ने मात्रै पार्टी फेरबदल गरिरहन्छन्। 

महन्थ ठाकुरहरूसँग एकीकरण हुनुअघि नै २०७४ मा चुनाव लडेका छौँ। एकीकरणपछि विभाजन भए पनि उनका आधाभन्दा बढी हामीसँगै छन्। हामीले १० सिट जितेका थियौँ। तर, अहिले हामीसँग संघमा २१ जना सांसद हुनुहुन्छ। उनको संगठन सबै हामीसँगै छन्। हामीले प्रदेशमा २९ वटा ठाउँमा जितेका थियौँ। तर, अहिले हामीसँग ३९ जना सांसद हुनुहुन्छ।

मान्छे सबैभन्दा धेरै पातलो जो हुन्छ‚ त्यसैले धेरै फुर्ती लगाउँछ। अहिले ओलीको हालत त्यस्तै भएको छ। जो ठूलो हुन्छ‚ उसले कुनै फुर्ती देखाउँदैन।

विभाजनपछि महन्थ ठाकुरहरूको शीर्ष तह गए। तर, पार्टी संगठन जसपामै छ। त्यसैले उहाँहरू गए पनि हामीलाई कुनै असर गर्दैन। उहाँहरू मुद्दाविहीन, स्वार्थ, पद लोलुपता हुनुहुन्छ। मधेश जनविद्रोहबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयासमा लाग्नुभएको छ। उहाँहरू ओलीकै सहयोगी बनेकै कारण जनताले बहिष्कार गरेर यो निर्वाचनबाट पत्तासाफ हुन्छन्। 

चुनावको मुखमा एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत दलहरूको मधेशप्रतिको आकर्षणलाई के भन्नुहुन्छ

निर्वाचनको बेलामा ठूला दलहरूलाई शक्ति प्रदर्शनको होड चलेको छ। मधेशमा धेरै मान्छे भएकाले जनप्रदर्शना लागि उहाँहरू मधेश केन्द्रित हुनुभएको हो। पहाडतिरका मान्छे सबै विदेश गइसके। काठमाडौं, पोखरामा पनि भइरहेका छन्। तर, आफ्नो कुरा राख्न मधेश केन्द्रित भएका हुन्। 

पछिल्लो समयको निर्वाचन एजेण्डा र नीतिभन्दा पैसा र स्वार्थ केन्द्रित भयो भन्ने आरोप लाग्ने गरेको छ नि!

चुनावको बेलामा यस्ता कुरा आउनु समान्य हो। वैचारिक बहसलाई केन्द्रित गर्नुपर्छ भन्ने नै हो। तर, राजनीतिमा व्यक्तिगत टीकाटीप्पणी गर्नु ठिक होइन। राजनीतिक प्रतिस्पर्धा हुनुपर्छ। हिजोको दिनमा जसपाको एजेण्डा के थियो कति पूरा गर्न सक्यो। एमाले कांग्रेस माओवादीको एजेण्डा के थियो? कति पूरा गर्न सके सकेनन् भन्ने हो। के गरेर अलमलिए भनेर हामीले जनतालाई सुसूचित गराउनुपर्छ। वैचारिक बाटोमा लानुपर्छ। व्यक्तिगत टीकाटीप्पणी गर्नु कुण्ठित मानसिकता हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.