|

धनकुटा : धनकुटा र भोजपुरका फाँटका कृषक यतिबेला मकै छर्न व्यस्त छन।

हरेक बस्तीका युवाहरु रोजगारीको सिलसिलामा विदेश पलायन भएर गाउँघर सुनसान भइरहेको बेला धनकुटाको अखुवाटार र भोजपुरको मझुवाटारका कृषक भने परेलीमा जुटेर सिजन अनुसारको खेती बाली लगाउन सक्रिय छन्।

खेतबारीमा काम गर्दा एक घरको काम सकिन साथ अर्को घरको काम गर्न जानुलाई परेली भनिन्छ।

पछिल्लो समय यो चलन लोप हुँदै गइरहेको छ।

तर, धनकुटाको अखुवाटार र भोजपुरको मजुवाटारका कृषक भने परेलीमा जुटेर काम गरिरहेका छन्।

स्थानीय शब्दमा गुहार भनिने परेलीमा दैनिक १० देखि १२ हल गोरुले मकै छर्दा वा करिब २५ देखि ३० जना महिला तथा पुरुषले धुलोमाटोमा काम गर्दा दिन बितेको पत्तो नभई काम सम्पन्न हुने स्थानीय कुमार राईको बताए।

पुरानो ग्रामीण चलनले प्रत्येक घरको काम पालैपालो गर्दा खेतीपाती लगाउन सहज हुने र यस्तो कार्यबाट आपसी सहयोगको भावना वृद्धि हुँदै स्थानीयको मिलेमतो बढ्ने हुँदा सामाजिक मेलमिलापको उदाहरणीय कार्य बन्दै गएको छ।

बर्खाको समय सुरु भएसँगै यो ठाउँमा मकै खेती लगाएर घरायसी अन्न उब्जाउने चलन छ।

यहाँका किसानको आयस्रोतको मुख्य आधार अन्नबाली रहेको छ।

परेली निकै पहिलेदेखि गरी ल्याएको स्थानीय पदम राईले बताए।

देशका अधिकांश युवा विदेशीन थालेसँगै खेती मानिस नै पाउन छाडेको छ।

तर, परेलीको चलन चलाएका यहाँका किसानलाई भने अहिलेसम्म खेती गर्ने मानिस पाउन खासै समस्या उनीहरु बताउँछन्।

के हो परेली ?

परेली पहाडी क्षेत्रमा किसानहरुले वर्षभरि खेतीपातीका लागि गरिने सामूहिक कार्य हो।

परेलीले एउटा सहकार्य तथा एकअर्कामा भएका स्रोतसाधनको सामूहिक प्रयोग गराउँछ।

खेतिपातीमा समानुपातिक लगानी र वितरण हो। परेली ठाउँअनुसार अर्मपर्म, पर्मेली वा गुहार भनेको पाइन्छ।

हुन त अर्मपर्म आफू–आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन हो।

एकको काम गरिदिएपछि अर्कोले तिर्नै पर्छ। कसको कति दिनको पर्म हुने भन्ने निश्चित हुँदैन्।

एक वर्षभित्र पर्म तिर्न नसकेमा अर्को वर्ष तिर्दा पनि हुन्छ।

‘खेताला’ लाई ज्याला मजुरी विना वा सो लिएर काम गर्न आउने कामदार भनिएको छ।

ज्याला नलिने खेतालाले पर्म गर्न सक्छन्।

‘परेली’ एक किसिमको कामको विभाजन सहितको समूह (सेट) हो।

विशेषगरी ‘परेली’ खेतीपातीसँग हुने गरेको छ।

कसरी लोप भयो ?

समाजमा आधुनिकताको प्रभावले परेली लोप हुँदै गएको छ।

मानिसमा शिक्षामा पहुँच बढेर गएपछि मानिस शहर केन्द्रित तथा युवाहरु वैदेशिक रोजगारमा पलायन हुन थाले।

ग्रामीण वस्तीबाट सहर, पहाडबाट तराईतिर बसाइँ सर्ने प्रवृत्तिमा वृद्धि भयो। मानिसहरुले सुखको खोजी गर्न थाले।

सामूहिकता र सहकार्यको प्रवृत्तिमा ह्रास आउन थाल्यो।

परिवार पनि संयुक्त बाट एकलमा अगाडि बढे।

खेतीपाती पनि थोरै हुन थाल्यो। आफैं खेती गर्ने भन्दा ज्यालामा श्रमिकको खोजी हुन थाल्यो। खेतीयोग्य जमीनको खण्डीकरण हुन पुग्यो।

 यी र यस्ता कारणले परेली लोप हुँदै गएको छ। घरघरमा वैदेशिक रोजगारीमा जाने सदस्य बढ्न थालेपछि कृषि श्रमिकको अभावमा खेतीयोग्य जमीन बाँझो हुन थालेको छ।

यसपछि कृषिप्रतिको आकर्षण र उत्साह घटेका कारणले परेली लोप भएको भोजपुरको मजुवा टारकी शोभा कुमारी राईले बताइन्।

खेतीपाती गरेर भन्दा किनेर खानेको संख्या बढेका कारण परेली हराएको उनको भनाइ छ।

खेतीपातीका लागि गोरु पाल्ने प्रवृत्ति हराउँदै गएको र कृषिमा भएको आधुनिकीकरणले यान्त्रिकी, बजारी र व्यापारीकरणको प्रभावका कारण परेली हराएको धनकुटा नगरपालिका २ का ध्रुवराज कार्कीले बताए।

उनले हाते ट्याक्टर, ट्याक्टर लगायत कृषिमा आधुनिक यन्त्रको प्रयोग हुन थालेकाले परम्परागत कृषिका लागि सामूहिकता र सहकार्यको नमुनाका रुपमा रहेको परेली हराउन थालेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.