|

काठमाडौं : कमसल डोरीका कारण भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठाइएको छैन्। 

चैत मसान्तका दिन हिजै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पुर्‍याइएपछि स्थानीयले उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठाउन नसकिएको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिए। 

लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान चैत मसान्तकै दिन उठाउने प्रचलन छ। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले वरिपरिबाट तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेको छ। 

यस वर्ष गुठी संस्थानले कमसल डोरी ल्याएपछि चार डोरी चुँडिएको र चार डोरीको भरमा लिङ्गो उठाउन खोज्दा नसकेपछि आज बिहानलाई छाडिएको जात्रा सञ्चालन गर्ने गुठीको गुनासो छ। लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। आज बिहानैदेखि लिङ्गो उठाउने ठाउँमा पूजा तथा दर्शन गर्नेको भीड लागेको छ। दर्शन गर्नेको भीड नसकिएसम्म लिङ्गो नउठाइने भएको छ। 

 नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन्। लिङ्गो उठाएपछि स्थानीयवासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन्।

यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ। पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ। लिङ्गो उठाउनुअघि  दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्याउने चलन छ। लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा : जात्रा मनाइन्छ।

लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ। बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते साँझ ५५ हाते लामो लिङ्गो ढालिन्छ।

भक्तपुरको मध्यपुर थिमि क्षेत्रमा आज विभिन्न देवी देवताका खट्सहित बिस्का जात्रा अन्तर्गत बाँय्लिसिया अर्थात बेलुकीको जात्रा मनाईंदैछ ।  बिस्केट जात्राका अवसरमा बुधबार बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले हात नभएको लिङ्गो उठाएका छन्।

त्यस्तै मध्यपुरथिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले बुधबार नै लिङ्गो उठाएका छन्। यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.