|

धनकुटा : आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन धनकुटाका राजनीतिक दलहरु सक्रिय भएका छन्।

धनकुटा जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका सहित ६० वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ।

धनकुटामा एमाले एकातिर र सरकारमा रहेका गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी एकातिर हुने निश्चित भएको छ।

हुन त जिल्लामा रहेका मुख्य राजनीतिक दल एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र एकीकृत समाजवादी लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन्।

राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ।

भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेताहरु गाउँ–गाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो।

आगामी निर्वाचनमा वडादेखि स्थानीय तहसम्मको नेतृत्वमा पुग्न आकांक्षीहरूले आ–आफ्नो दलभित्र समेत आफ्नो दाबेदारी राख्न थालिसकेका छन भने स्वतन्त्र रुपमा उम्मेदवारहरू समेत खुल्न थालेका छन्।

संघीयताको पहिलो कार्यकाल अलमलमै बिते पनि आगामी निर्वाचनमा आफ्नो दललाई विजयी गराउन अनुरोध गर्दै जनप्रतिनिधि सहित दलका नेता तथा कार्यकर्ताहरु गाउँघरमा भोट माग्न थालिसकेका छन्।

धनकुटामा रहेका ७ स्थानीय तहमध्ये सबै तहमा एमालेले नेतृत्व गरेको छ।

स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए।

एमाले विगतमा स्थानीय तह निर्वाचनको साख बचाई राख्ने योजनामा छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी एमालेको किल्ला तोडेर स्थापित हुने प्रयत्नमा देखिन्छन्।

जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तहको नेतृत्वका लागि जिल्ला स्थित राजनीतिक दलका पदाधिकारी र नेताहरूसमेत इच्छुक देखिएका छन्।

स्थानीय तह र वडास्तरमा रहेका पार्टीका कमिटीहरूको बैठक राखेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको एमाले धनकुटाले जिल्ला कमिटीको बैठकबाट थप निर्वाचन लक्षित योजना बनाएको छ।

‘सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौं, पार्टीका विभिन्न जनवर्गीय संगठनहरु चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन्।’, एमाले धनकुटाका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले बताए।

उनका अनुसार स्थानीय तह कमिटीहरुले निर्णय गरेर टोल अभियान सञ्चालन गरिरहेका छन्।

वडा कमिटीको नेतृत्वमा सञ्चालन भएको टोल अभियानमा जिल्लास्तरका नेताहरूसमेत पुग्ने गरेका छन्।

नेपाली कांग्रेस धनकुटाले जिल्ला कार्यसमितिको बैठक नै राखेर औपचारिक रुपमा चुनावी अभियान सञ्चालन नगरेको भए पनि स्थानीय तह र वडा कमिटीहरुले स्वतन्त्र रुपमा चुनावी अभियानलाई तीव्रता दिएका छन।

अहिले वडा र स्थानीय तहमा रहेका कार्यसमिति मार्फत टोल कमिटी गठन, भ्रातृ संस्थाहरुको पुनर्गठन, र संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भइरहेको कांग्रेस धनकुटाका सभापति दिनेश राईले जानकारी दिए।

‘पार्टीले निकट दिनमा जिल्ला कार्यसमितिको बैठक आह्वान गर्ने तयारी गरेको छ, कुनै न कुनै रुपमा अहिले नेता तथा कार्यकर्ताहरूको सक्रियता पार्टीकै गतिविधि र कार्यक्रममा छ।'
यसअघिको जनमतका आधारमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा (माओवादी केन्द्र) धनकुटाले यस पटकको स्थानीय तह निर्वाचनमा अन्य दुई दलकै प्रतिस्पर्धामा आफ्नो संगठनको स्थान बनाउने रणनीतिका साथ चुनावी अभियानलाई अघि बढाएको छ।

स्थानीय तह कमिटीहरूको बैठकमार्फत वडा कमिटी हुँदै टोल र सेल कमिटी गठन गर्ने र जनवर्गीय संगठनहरुको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक डिल्लीराम राई(कमल)ले बताए।

‘स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीहरूलाई चुनावमा केन्द्रित हुन भनेका छाैँ, सबै स्थानीय तह र वडा कमिटीहरु क्रियाशील बनेका छन, यस पटक माओवादीको सुदृढ संगठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ।’ उनले भने

संयोजक राईले भने, ‘चुनावी प्रशिक्षण र अभियानलाई थप व्यापक बनाउने तयारी गरिएको छ।’

जिल्लामा माओवादीबाट निर्वाचित वडाध्यक्षहरुले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भन्दा नमुना र सफल काम गरेको दाबी गर्दै संघीयता माओवादीको एजेन्डा भएकाले हाम्रो नेतृत्वले मात्र त्यसको सफल कार्यान्वयन गर्ने भएकाले यस पटक आफ्नो पक्षमा जनमत बढ्ने माओवादीको विश्वास छ।

एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले समेत आफ्नो संगठनलाई जिल्लाको सबै स्थानीय स्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ।

पार्टी संगठन निर्माणसँगै जनवर्गीय संगठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव खगेन्द्र सुवेदीले बताए।

जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) सँगै राप्रपा लगायतको समेत संगठन रहेका छन्। 

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरुको साझा धारणा

निर्वाचनका कारण व्यस्तता छाएको बेला पनि जिल्लाका मुख्य राजनीतिक दलका नेताहरु एक ठाउँमा बसेर साझा धारणा बनाएका छन्।

उनीहरुले आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न र एक आपसमा गालीगलौज नगरी आफ्ना गतिविधि अगाडि बढाइनेमा साझा प्रतिबद्धता जनाएका हुन्।

जिल्लाका मुख्य राजनीतिक दलहरुले बुधबार आयोजित संवाद कार्यक्रममा आफ्ना साझा धारणा बनाएका हुन्।

संवाद समूह धनकुटाले आयोजना गरेको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पराजुलीले भयरहित रुपमा मतदातालाई मतदान गर्ने वातावरणका लागि आफ्नो दलको भूमिका रहने बताए।

कुनै दलप्रति अशिष्ट रुपमा प्रस्तुत नभइ आफ्नो पार्टीको धारणालाई मतदाता समक्ष लैजाने उनले दावी गरे।

यसैगरी, निर्वाचनमा जारी गरिने घोषणापत्र महत्वाकांक्षी भन्दा सहज रुपमा कार्यान्वयन हुने सवाल समावेश गरिने उनले जानकारी दिए।

आफ्नो पार्टीले मतदाता शिक्षालाई घरदैलो अभियानमा लैजाने उनले जनाए। 

यसैगरी, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले निर्वाचनमा अरु दलका कुरा भन्दा आफ्नो दलको धारणा मतदाता समक्ष लैजाने बताए।

उनले मतदातालाई मतदान गर्ने  वातावरणका लागि आफ्नो पार्टी जिम्मेवार रहने बताए।

उनले विवादित कुरा भन्दा जनजीविकाको सवालमा पार्टीले घोषणापत्रमा समावेश गरिने जनाए।

नेकपा समाजवादीका जिल्ला सचिव खगेन्द्र सुवेदीले गठबन्धनबाट आफ्नो पार्टी सहभागी हुने बताए।

उनले घोषणापत्रमा सीमान्तकृत समुदाय, आठ्पहरिया, जेष्ठ लगायतलाई सम्बोधन गर्ने जनाए।

उनले पनि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न दलको भूमिका हुने बताए।

संवादमा माओवादीका प्रदेश सदस्य कविता कन्दङ्वा, नेकपा समाजवादीका धनकुटा नगर अध्यक्ष सुजन भाई जोशी, नेकपा समाजवादीका निश्चल राई लगायतले धारणा राखेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.