३७ करोडभन्दा बढी रोयल्टी संकलन

|
फाइल फोटो

काठमाडौं : कोभिड-१९ का कारण ठप्प भएको पर्यटन क्षेत्र विस्तारै चलायमान बन्न थालेको छ।

पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको पर्वतारोहण कोरोनाका कारण गत दुई वर्षको वसन्त ऋतुमा नगण्य थियो। तर यस वर्षको चैत-वैशाख महिनामा हिमाल तथा पिक आरोहण र पदयात्राका लागि विदेशी पर्यटकहरु धमाधम आउन थालेका छन्।

आन्तरिक पर्यटकहरु पनि उल्लेख्य संख्यामा भ्रमणमा निस्केका छन्। अहिले पर्वतारोहणको मुख्य सिजन भएकाले पनि विश्वकै सर्वोच्च शिखर सगरमाथासहित १९ हिमाल आरोहणका लागि चैत ३० गते बुधबारसम्ममा ६८९ जनाले अनुमति लिइसकेका पर्यटन विभागले जनाएको छ। 

नेपालका ५५ जनासहित अन्य ६७ मुलुकका नागरिकहरु आरोहणमा जाने भएका छन्। उनीहरुबाट ३७ करोड ३८ लाख ५१ हजार ४२१ रुपैयाँ रोयल्टी उठेको छ।

गत वर्ष सन् २०२१ अप्रिल २३ तारेखसम्ममा १६ हिमाल आरोहणका लागि ७९ दलका ६८९ जनाले अनुमति लिएका थिए। यसवर्ष सन् २०२२ मा गतवर्षको भन्दा १० दिन अघि नै सोही संख्याका पर्वतारोहीले अनुमति लिइसकेका छन्। 

पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने विभागको अनुमान छ।

अधिकांशका रोजाई सगरमाथा 

पर्यटन विभागका अनुसार यसवर्ष सबैभन्दा बढी हिमाल आरोहणका लागि आएका छन्। हालसम्म ८८४८.८६ मिटर अग्लो शिखर सगरमाथा चढ्नका लागि नेपालसहित विभिन्न ४८ मुलुकका २५० जनाले अनुमति पाएका छन्।

उनीहरु ३१ आरोहण दलमा रहेका विभागले जनाएको छ। तीमध्ये १९४ जना पुरुष र ५६ जना महिला छन्। सगरमाथा चढ्न सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका ५८ जना, वेलायतबाट ३३ र छिमेकी मुलुक भारतबाट २१ जनाले अनुमति लिएका छन्। नेपालबाट पनि ५ महिला र ९ जना पुरुष गरी १४ जनाले आरोहण अनुमति लिइसकेका छन्।

सगरमाथा हिमाल आरोहणबाट मात्रै ३१ करोड ६० लाख ९५ हजार ९ सय रुपैयाँ रोयल्टी संकलन भएको छ।

वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्न सक्ने अनुमान विभागले गरेको छ। अप्रिल पहिलो सातादेखि मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण गरिन्छ।

पर्वतारोहणलाई निकै साहसिक र उत्साहजनक कामको रुपमा लिइन्छ।

सर्वोच्च शिखरपछि रुचाइएका हिमालहरू

सर्वोच्च शिखरपछि आरोहीले नेपालको तेस्रो अग्लो सोलुखुम्बुस्थित ८,५१६ मिटर उचाइको ल्होत्से हिमाल चढ्न ९ आरोहण दलका ८१ जनाले अनुमति लिएका छन्। सोलुखुम्बुकै अर्को ६,८१४ मिटर अग्लो आमादब्लम हिमाल चढ्न ६ समुहमा ६५ जनाले अनुमति लिएको विभागको रेकर्ड छ। 

यस्तै, ताप्लेजुङ जिल्लामा पर्ने विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो ८,५८६ मिटरको कञ्चनजङ्घा हिमाल आरोहणका लागि ६१ जना,  संखुवासभाको ८,४६३ मिटर अग्लो मकालु हिमालका लागि ३९ जना, ७,८५५ मिटर अग्लो नुप्सेका लागि ३८ जनाले आरोहणको लागि अनुमति लिएको विभागको तथ्यांक छ। 

तीबाहेक हिम्लुङ (७,१२६ मि.) ३१ जना, धौलागिरी (८,१६७ मि.) २७, अन्नपुर्ण १ (८,०९१ मि.) मा ४ समुहका २६ जना, बरुन्त्से (७,१२९ मि.) का लागि २० जना, थापा पिक धाम्पुस (६,०१२ मि.) १० जना, पोखर खाङ्ग (६,३४८ मि.) र मनास्लु (८,१६३ मि.) ९/९ जना, भेम्दाङ री (६,१५० मि.) ८, नोर्बु खाङ (६,००५ मि.) ५ जना, मुकोट (६,०८७ मि.) ४ जना र उर्कमाङ्ग (६,१५० मि.), खङ्गचुङ (६,०६३ मि.) र गंगापुर्ण (७,४५५ मि.) २/२ जनाले आरोहणका लागि अनुमति लिएका छन्।
 
व्यवस्थित पर्वतारोहणका लागि अनुगमन तथा सहजीकरण समिति

सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणका लागि पर्यटन विभागले पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ।

पर्वतारोहणलाई नियमित, मर्यादित र व्यवस्थित बनाउनका लागि २०७८ चैत १३ गते नै विभागका निर्देशक सूर्यप्रसाद उपाध्ययको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, जंगी अड्डाका सेनानी किशोर अधिकारी, पर्यटक प्रहरीको तर्फबाट प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे, सगरमाथा आरोही संघका निशा अधिकारी, हिमालयन उद्धार संघ नेपालका प्रतिनिधि, सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रतिनिधि सदस्य रहेका छन्। 

सन् २०२१ मा पर्वतारोहण

सन् २०२१ को वसन्तयाममा १६ हिमाल आरोहणका लागि ७ सय ४२ जनाले अनुमति लिएका थिए। ८५ आरोहण दलका पर्वतारोहीबाट ७१ करोड ४८ लाख ५३ हजार ५२९ रुपैंया रोयल्टी उठेको थियो।

गत वर्षपनि सगरमाथा हिमाल चढ्न सबैभन्दा बढी ४०८ जनाले अनुमति लिएका थिए। विभिन्न २४ निजी कम्पनीहरुले उनीहरुको व्यवस्थापन गरेको थियो।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.