|

काठमाडौं : नेपालमा औषधी उत्पादन गर्ने उद्योगको संख्या एक सय रहेको छ। नेपाली कम्पनीले उत्पादन गरेका ३ हजार प्रकारका औषधी हाल बजारमा पाइन्छ।नेपाली बजारमा पाइने औषधीको ५५ प्रतिशत भन्दा धेरै बजार हिस्सा यहाँको उत्पादनले ओगटेको छ। 

यति ठूलो परिमाणमा उत्पादन हुने भए पनि नेपालमा उत्पादित औषधीको गुणस्तरमा प्रश्न उठाउने गरिएको छ। तर नेपाली औषधी कम्पनीले भने स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्ने खालको नीति नहुँदा समस्या भएको बताउँछन्। उनीहरू सरकारले  वातावरण बनाउने हो भने स्वदेशका लागि आवश्यक सम्पूर्ण औषधी यहीँ उत्पादन गर्न सक्ने बताउँछन्।

नेपाली औषधी उद्योगको मुख्य समस्या के हो ? औषधीमा आत्मनिर्भर बन्न सरकारले कस्तो नीति ल्याउनु पर्छ ? लगायत विषयमा नेपाल औषधी उत्पादक संघ (एप्पोन)का उपाध्यक्ष सन्तोष बरालसँग गरिएको कुराकानी-

हाल नेपाली कम्पनीले उत्पादन गरेका कति प्रकारका औषधी नेपाली बजारमा पाइन्छ?

अहिले नेपाली कम्पनीले विभिन्न प्रकारका ट्याब्लेट, एन्टिबायोटिक, इन्जेक्सन र स्लाइनका बोतल उत्पादन गरिरहेका छन्। पछिल्लो समय क्यान्सरको औषधी पनि नेपालमै उत्पादन हुन थालेको छ। विभिन्न रोग तथा संक्रमणको उपचारका लागि हाम्रा कम्पनीले अहिले करिब तीन हजार प्रकारका औषधी उत्पादन गरिरहेका छन्।

नेपालमा हाल वार्षिक ९० अर्बको औषधीको कारोबार हुन्छ, जसमा ४५ अर्बको कारोबार नेपाली औषधीले गर्ने गरेका छन्। नेपालमा अहिले पनि भारतबाट धेरै औषधी ल्याउनुपर्ने बाध्यता छ।  

यसरी उत्पादन भएका औषधी नेपालमा मात्रै प्रयोग गरिन्छ कि अन्य मुलुकमा पनि निर्यात हुन्छ ?

सातवटा कम्पनीले उत्पादन गरेका केही औषधी  विदेश निर्यात हुन्छ। त्यसमा विभिन्न प्रकारका मलम, ट्याब्लेट तथा एन्टिबायोटिक औषधी बाहिर जाने गरेको छ। विशेषगरी यस्ता औषधी ल्याटिन अमेरिका र अफ्रिकामा जाने गरेको छ।

सरकारले नेपाली औषधी कम्पनीलाई प्रोत्साहन हुने नीति ल्याएन भन्ने तपाईँहरुको आरोप छ। औषधी कम्पनीहरूको समस्या के हो?

नेपाल सरकारले औषधी कम्पनीहरूका लागि  भनेर हामीसँग विभिन्न समयमा सम्झौता तथा निर्णय गरेको छ। तर कार्यान्वयन हुँदैन। अर्को कुरा समयानुकुल औषधीको मूल्य समायोजन हो। हुन त हामीले सामाजिक उत्तरदायित्वको हिसाबले औषधी उत्पादन गरिरहेका हुन्छौँ। यसमा सरकारले  उत्पादनमा लागत हेरेर व्यापार घाटा कम गर्ने गरी काम गरिदिनु पर्छ। औषधी कम्पनीहरूलाई अन्य उद्योगसँग तुलना गरेर सरकारले नहेरोस् भन्ने हाम्रो माग छ। हामीले अहिले पनि व्यापार घाटा भए पनि सामाजिक उत्तरदायित्वको हिसाबले औषधी उत्पादन गरिरहेका छौँ।

नेपाली औषधी कम्पनी पनि धेरै नाफामुखी हुन थाले भन्ने आरोप छ नि । 

औषधी कम्पनी अन्य उद्योग जस्तो होइन। हामीले नाफा धेरै कमाउनु पर्छ भन्ने गरी व्यापार गरिरहेका हुँदैनौँ । अहिले पनि हामीलाई सिटामोल लगायत केही औषधी उत्पादन गर्दा लागत समेत नउठ्ने अवस्था छ तर हामीले सामाजिक उत्तरदायित्वको हिसाबले उत्पादन गरिरहेका छौँ। सरकारलाई हामीले अहिले भनेको मुख्य कुरा के हो भने  नेपालमा उत्पादित केही औषधीको मूल्य अन्तर्राष्ट्रिय बजारलाइ हेरेर बढाऔँ। बरु केही औषधीको मूल्य घटाऔँ। यसले सरकार,उपभोक्ता र उद्योगीलाई पनि सहज हुन्छ।

पछिल्लो समय नेपाली उद्योगहरुले पुनर्जलीय झोल (जीवनजल) र सलाइनको उत्पादन बन्द गर्न लागेको भन्ने सुनिन्छ नि।  यस्तो अवस्था किन आयो?

नेपालमा १७ वटा कम्पनीले जीवनजल उत्पादनका लागि अनुमति लिएका छन्। तर ८ वटा कम्पनीले मात्रै उत्पादन गरिरहेका छन्। यो पनि बन्द हुने अवस्थामा पुगेको छ। जीवनजल बनाउन आवश्यक पर्ने कच्चा पदार्थको मूल्य अहिले धेरै बढेको छ। यति मात्रै हैन जीवनजल निर्माणको लागि आवश्यक पर्ने प्लास्टिक लगायत कच्चा पदार्थको मूल्य अहिले दोब्बर बढिरहेको छ, जसले गर्दा कच्चा पदार्थ आयातदेखि उत्पादन गर्दा अहिलेको प्रति प्याकेट जीवनजल उत्पादन गर्न १७ रुपैयाँसम्म लाग्छ। बजारमा १० रुपैयाँमा बेच्नुपर्छ।

जीवनजलको मूल्य २०६४ सालदेखि बढेको छैन। अहिले उत्पादन लागत बढिरहेको हुँदा अब जीवनजल उत्पादन गर्न नसकिने भएको हो। २०६४ सालमा एक प्याकेट जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकिएको थियो। त्यसयता १४ वर्ष बितिसक्दा पनि मूल्य बढेको छैन। भारतमा जीवनजलको मूल्य प्रति प्याकेट ३२ रुपैयाँ छ। यस्तो अवस्थामा हामीले कसरी उत्पादन गर्न सक्छौँ?

हामीले सामाजिक उत्तरदायित्वको हिसाबले हालसम्म उत्पादन गरिरहेको छौँ। तर अब जुनसुकै बेलामा पनि अहिले उत्पादन गरिरहेका कम्पनीले जीवनजल उत्पादन बन्द गर्न सक्छन्।

सलाइन पानीको हकमा पनि त्यही  हो। सलाइनको मूल्य पनि धेरै भयो समायोजन नगरिएको अहिले अन्तर्राष्ट्रिय बजारमा नै यसको कच्चा पदार्थको मूल्य धेरै छ।सलाइन बनाउन आवश्यक पर्ने पानी तथा अन्य कच्चा पदार्थको मूल्य नै अहिले धेरै भइसकेको छ। तैपनि अहिले दुई वटा कम्पनीले सलाइन उत्पादन गरिरहेका छन्। तर यो पनि बन्द हुने अवस्थामा छ।

सिटामोलको हकमा पनि यही अवस्था हो। हामीले पटक पटक सरकारलाई जीवनजल, सलाइन र सिटामोलको मूल्य समयानुकुल समायोजन गरौँ। बरु अन्य केही औषधीको मूल्य घटाऔँ भनेका हौँ।

तपाईँहरूले चितवनमा फर्मा एक्स्पो गर्दै हुनुहुन्छ। यसको मुख्य उद्देश्य के हो ?

हामीले दुई–दुई वर्षमा फर्मा एक्स्पो गर्दै आएका छौँ। यसको मुख्य उद्देश्य नेपाली औषधी उद्योगले उत्पादन गर्ने ल्याबका सामग्री,कच्चा पदार्थ, प्रविधि तथा औषधी उत्पादनका लागि आवश्यक सम्पूर्ण पदार्थको प्रदर्शनी हो। यसले आम मानिसलाई नेपाली उद्योगले उत्पादन गरिरहेको औषधी तथा अन्य औषधीजन्य सामग्रीको गुणस्तरबारे बुझ्न सजिलो हुन्छ।

एक्स्पोमा डाक्टर,नर्स पारामेडिक्स लगायत स्वास्थ्यकर्मीको उपस्थित हुन्छ। यसपटक एक्सोमा १६० स्टल राखिनेछ।  त्यसमा नेपालका र विदेशका औषधी उद्योग र त्यसमा प्रयोग भएका प्रविधिको प्रदर्शन हुने छ। एक्स्पोमा नेपाली लगायत केही विदेशी औषधी उद्योगका उत्पादन पनि राखिने छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.