कांग्रेस भन्छ- ७ पालिका र ५२ वटै वडा जित्छौं

|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी माहोल पेचिलो बन्दै गएको छ। तर सत्तारुढ गठबन्धन दलहरूले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा अझै पनि सिट बाँडफाँट गर्न सकेका छैनन्।

आ–आफ्नै दाबीका कारण दुई पटक बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। आइतबार पनि गठबन्धनबारे छलफल भयो तर जिल्लास्थित नेताहरू बाँडफाँटबारे निष्कर्षमा पुग्न सकेनन्। 

डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह रहेका छन्। कांग्रेसले २०७४ को स्थानीय तहको निर्वाचनमा यहाँको एउटा नगरपालिका र ३ गाउँपालिका गरी ४ वटा पालिकामा जितेको थियो। 

उसले जिल्लाको सबैभन्दा धेरै जनसंख्या रहेको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरा जितेको थियो। कांग्रेस यी ४ स्थानीय तहमा प्रमुख–उपप्रमुख दुवैमा विजयी भएको थियो।

नेकपा एमालेले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका आफ्नो पक्षमा पारेको थियो। एमाले अमरगढीमा नगरप्रमुख र उपप्रमुख तथा नवदुर्गामा गाउँपालिका अध्यक्ष जितेको थियो। त्यहाँ उपाध्यक्षमा कांग्रेसले बाजी मारेको थियो। नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा जितेको थियो। 

अजयमेरुमा माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो। त्यतिबेला आलिताल र परशुराम नगरपालिकामा माओवादी केन्द्र झिनो अन्तरले हारेको थियो। कांग्रेसको गढ भनेर चिनिने अमरगढीमा एमालेले थोरै मतान्तरले जितेको थियो।

कांग्रेसले यसअघि जितेका ४ स्थानीय तहका साथै अन्य स्थानीय तहमा पनि दाबी गरिरहेको छ। आफूले जितेका पालिका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने पक्षमा कांग्रेस छैन। कांग्रेस अरु तहमा पनि आफूले जित्ने दाबी गरिरहेको छ। 

७ पालिका र ५२ वटै वडा जित्ने कांग्रेसको दाबी

नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउद तालमेलबिना पनि सातै पालिका र ५२ वटै वडा जित्ने दाबी गर्छन्। २०७४ मा कांग्रेसभित्रकै अन्तरद्वन्द्वका कारण केही सिट गुमाउने परेको उल्लेख गर्दै उनले यसपटक त्यो अवस्था नरहेको बताए।

‘अहिले जिल्लाका सातै पालिकामा नेपाली कांग्रेसको अवस्था राम्रो रहेको छ। २०७४ सालको निर्वाचनमा पनि डडेल्धुरामा कांग्रेस कमजोर थिएन,’ उनले भने, ‘त्यो बेला केही आपसी अन्तर तिक्तताले केही सिट हामीले गुमाउनु परेको थियो। अहिले त्यो अवस्था छैन। सबै पालिकामा हाम्रो स्थिति बलियो छ। कांग्रेसप्रति जनता र कार्यकर्ताको आकर्षण बढिरहेको छ।’

उनले पालिका सभापति र वडा सभापतिबाट सातै पालिका र ५२ वटै वडामा कांग्रेसको जित सुनिश्चित रहेको रिपोर्ट प्राप्त गरेको जनाएका छन्। उनले सबै पालिका र वडा जित्ने आधारहरू पनि तयार भइसकेको दाबी गरेका छन्। उनले कांग्रेसले एक्लै चुनाव लडेमा अन्य सत्ता साझेदार दलहरूलाई आरोप–प्रत्यारोप नलगाउने पनि बताए।

सभापति साउदले सबै पालिका र वडा जित्ने दाबी गरे पनि डडेल्धुरामा कांग्रेसभित्र २ गुट अहिले पनि प्रस्ट छ। जिल्लामा कांग्रेस पार्टीभित्र दिनप्रतिदिन आन्तरिक कलह बढ्दै गइरहेको छ। जिल्लामा दुई समूहमा विभाजित भएको कांग्रेसले अलग-अलग चुनावी प्रचारप्रसार गरिरहेको छ। डडेल्धुरामा कांग्रेसभित्र दुईवटा गुट छन्। एक देउवा गुट र अर्को निवर्तमान जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल गुट।

क्रियाशील सदस्य विवाद देखाउँदै मल्ल समूह सातौं जिल्ला अधिवेशनमा सहभागी भएको थिएन। यसअघिको चुनाव पनि गुटकै कारण कांग्रेसले आफू जित्ने ठाउँमा पनि हारेको थियो। यसपटक पनि त्यही नतिजा दोहोरिने हो कि भन्ने आशंका हुन थालेको छ। तर जिल्ला सभापति साउदले भने मल्ल समूहसँग पनि छलफल भइरहेको दाबी गरेका छन्। 

उनले मल्ल समूह पनि चुनावसम्म मूल पार्टीमै आएर एकढिक्का भएर निर्वाचनमा जाने विश्वास व्यक्त गरे। उता पूर्वसभापति मल्ल पक्षले भने ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको छ।

माओवादी र समाजवादीको पनि आ–आफ्नै दाबी 

माओवादी केन्द्रले ३ स्थानीय तहमा दाबी गरेको छ। भित्री मधेशको परशुराम नगरपालिका, आलिताल गाउँपालिकाका साथै अजयमेरु गाउँपालिका प्रमुखमा आफ्नो पार्टीको दाबी रहेको माओवादी केन्द्रका जिल्ला संयोजक उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए।

‘हाम्रो ३ पालिका प्रमुखमा दाबी छ। परशुराम, आलिताल र अजयमेरुको प्रमुखमा हाम्रो दाबी हो। तर उपप्रमुखमा अन्य पालिकामा पनि हाम्रो दाबी रहन्छ,’ उनले भने, ‘यी तीन पालिकामा २०७४ मा हामीले राम्रो जनमत पाएका थियौं। हामीले त्यतिबेला झिनो अन्तरले परशुराम र आलिताल हारेका थियौं।’

उनले डडेल्धुरामा अहिले माओवादी केन्द्रको संगठन पहिलेभन्दा सुधार भएको बताए। यसका साथै उनले अन्य पार्टीमा फुट रहेको तर माओवादी केन्द्र ०७४ भन्दा एकदमै एकजुट भएको दाबी गरे। संयोजक भट्टले भने, ‘हाम्रो संगठन बलियो बनेको छ। जिल्लाका अरु पार्टीमा विग्रह छ। हामीमा एकता छ। साथै हाम्रो पार्टीमा विप्लवका साथीहरू पनि आउनुभएको छ।’ 

नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका २ स्थानीय तहको प्रमुखमा दाबी गरेको छ। आलिताल र नवदुर्गा गाउँपालिकामा आफूहरूले दाबी गरेको उक्त पार्टीका जिल्ला अध्यक्ष तुलाराम बोहराले जानकारी दिए। 

‘नवदुर्गा र आलितालको अध्यक्षमा हाम्रो दाबी हो। अमरगढी नगरपालिकामा पनि हाम्रो  उपस्थिति बलियो नै छ’, उनले भने, ‘नवदुर्गा पालिका अध्यक्ष अहिले हाम्रै पार्टीको हुनुहन्छ। त्यहाँ बहुमत वडाध्यक्ष पनि हाम्रै साथमा छन्। आलितालमा जनमत हाम्रो पक्षमै छ।  संगठन पनि त्यहाँ नै बलियो छ।’

सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको उपस्थिति डडेल्धुरामा भने निकै कमजोर छ। कूल ५२ वटा वडा रहेको जिल्लामा ७४ सालको चुनावमा नेकपा एमालेले सबैभन्दा बढी १९ वडा जितेको थियो। त्यसपछि नेपाली कांग्रेस १७ र माओवादी केन्द्र १६ वडामा विजयी भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.