पूरा गर्न नसक्ने विषय घोषणापत्रमा राखेका छैनौँ

|

काठमाडौँ : देशको राजधानी काठमाडौँ राजनीतिको पनि केन्द्र हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदैछ। यसैले पनि यहाँको नेतृत्वमा कसलाई चुन्ने भन्नेमा दलहरूबीच रस्साकस्सी चलिरहेको छ। सबैभन्दा पहिला आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पार्टीले मेयर र उपमेयरमा दुवै  महिलालाई अघि सारेको छ। मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार छन्। मेयरकी उम्मेदवार उनै बाँस्कोटासँग थाहा सञ्चार नेटवर्कका जगत भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

तपाई अघिल्लो पटक काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभा सदस्य उठ्नुभएको थियो । अहिले मेयरमा उम्मेदवार बन्नुभएको छ । किन ?

(हाँस्दै) प्रश्न रोचक लाग्यो। ०७४ सालमा मेरो राजनीतिक यात्राको सुरुवात थियो । त्यति बेला निर्वाचनको छोटो तयारीमा पनि मलाई यहाँका जनताले राम्रै मत दिनुभयो। त्यसकारण म निरन्तर पार्टी निमार्णको क्रममा लागेकी छु। त्यसवेला हामीले फेरि पनि उपस्थित हुन्छौँ भनेका थियौँ। त्यही बाचा पूरा गर्न मैले यो पटक मेयरमा उम्मेदवारी दिएकी हुँ। 

अर्को, काठमाडौँ महानगर राजधानी पनि हो। राजनीतिको केन्द्र पनि हो। विवेकशील साझा जस्तो पार्टीले महानगरबासीलाई केही सपना देखाउन आवश्यक छ भन्ने ठानेर हामीले यसपटक उम्मेदवारी दिएका हौँ। 

प्रदेशसभामा पराजित व्यक्ति मेयरमा विजयी हुन्छु भन्ने आत्मविश्वास कहाँबाट आयो? तपाईँले जित्ने आधारहरू के के हुन् ?

त्यो वेलामा हामी राजनीतिको सुरुवातमा थियौँ। त्यतिवेला ४३ सय मत ल्यायौँ। दशकौँदेखि राजनीति गरेर नागरिकहलाई पनि दलीय भागवण्डामा राजनीतिकरण गरिएको ठाउँमा पनि तेस्रो स्थान हासिल गर्नु मतको हिसाबले हार त होला त्यो मत मेरो लागि जित हो। त्यही आत्मविश्वास, जनताको विश्वास र मायाले यसपटक विजयी हुन्छु भन्ने विश्वासले उम्मेदवारी दिएको हो। किनभने हामीले राजनीतिमा परिवर्तन खोजिरहेका छौँ। अहिलेका राजनीतिक दलहरूबाट त्यो परिवर्तन सम्भव छैन भनेर विभिन्न समयमा प्रयास भएका छन्।

यो पटक महानगरवासीले मत परिवर्तन गरेर गर्छु भन्ने व्यक्तिलाई जिम्मेवारी सुम्पिनुहुन्छ भन्ने पूर्ण विश्वासमा हामी छौँ। तन्त्र मन्त्र यो वाद र ऊ वादले केही फरक पार्दैन। डेलिभरीको कुरा हो। बाटो बनेन। धुवाँधुलो भयो भनेर गाली गछौँ नि। यो त जनप्रतिनिधिको काम हो नि त। यो सबै सम्भव छ भनेर देखाउनलाई हामी अघि बढेका हौँ। 

अघिल्लो पटक तपाईँकै पार्टीका किशोर थापा स्वतन्त्ररूपमा लड्दा १८ हजार र उपमेयरले ११ हजारको हाराहारीमा मत आएको थियो । अहिले कति भोट आउने अपेक्षा गर्नुभएको छ ?

त्यो बेलाको स्थिति र अहिलेको धेरै फरक छ। त्यति बेला पार्टी दर्ता नै भएको थिएन। स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो। त्यसरी प्रस्तुत हुँदा पनि महानगरवासीले जुन मत दिनुभयो। त्यसले हामीलाई उर्जा थपेको छ। त्यो मतसँगै अहिले हामीसँग तराजु चुनाव चिह्न छ। राष्ट्रिय दलको मान्यता नपाएका दललाई चुनाव चिह्न नदिने राजनीतिक सिन्डिकेट तोडेर चुनाव चिह्न पाउनु पनि एउटा सफलता हो।

अर्को कुरा म आफैँ पनि युवा महिला हुँ। महिला सशक्तीकरणको कुरा गर्छौँ ३१ बाट ५० प्रतिशतमा लैजाने कुरा सुन्छौँ तर प्रमुख पदमा महिलाको उम्मेदवारी आएन भन्छौँ। यस्तो अवस्थामा हामीले प्रमुख र उपप्रमुख दुवैमा महिलाले उम्मेदवारी दिँदा महानगरवासीले स्वीकार्नुहुन्छ त भन्ने प्रश्न छ। महिला पनि नेतृत्व गर्न सक्छन् देश चलाउन पनि सक्छन् भन्ने सन्देश दिनुपर्छ भन्ने लाग्छ। 

तपाईँको पार्टीभित्रको विवाद र पार्टी अध्यक्षमा देखिएको विचारको हलचलले आकर्षण घटेको छ भन्छन् नि ?

राजनीतिक दलमा यस्ता किसिमका घटना परिघटना त भइरहन्छन्। 

त्यसले मत घट्दैन त ? पार्टीप्रति जुन विश्वास, उत्साह र आशा अपेक्षा थियो त्यसमा पनि त प्रभाव पर्ला नि ?

केही हदसम्म प्रभाव पर्ला तर त्यति ठूलो प्रभाव परेको जस्तो मलाई लाग्दैन। यदि त्यो हो भने त यी ठूला भनिएका दलमा पनि यस्तो टुटफुट कति हुन्छ, हुन्छ। त्यसमा त केही देखिँदैन नि त। अर्को कुरा विवेकशील साझा परिवर्तनको संवाहक हो भन्ने ठान्नुहुन्छ भने अहिलेको यो गठबन्धनलाई भन्दा एकल रूपमा उम्मेदवार सार्वजनिक गरेको हाम्रो पार्टीको उत्साह भनेको आम मतदाताको भरोसा हो जस्तो लाग्छ। अर्कोतिर हिजो हालेको भोटले आज के काम भयो भन्ने हेर्नुपर्‍यो।

३६४ दिन गाली गर्छौँ अनि फेरि त्यही व्यक्तिलाई भोट हाल्छौँ भने के अर्थ छ र ? जब हामी नेतृत्वमा पुग्छौँ तब पद्धति, इमान्दारिता र उत्कृष्ट शैलीमा काम गर्छौँ। त्यसले महानगरको मुहार फेर्छ। हामी दलीय भागवण्डामा काम गर्दैनौँ। अहिले महानगरको मुहार जस्ताको त्यस्तै हुनुको कारण पनि त त्यहीँ हो। यो पाँच वर्षमा जति दु:ख भोगियो। यस्तै दु:ख अबको ५ वर्ष पनि भोग्नको लागि उही पार्टी र व्यक्तिलाई भोट जान्छ भन्ने मलाई विश्वास छैन। 

तपाईँहरूको घोषणापत्र निकै सुन्दर छ, योजना निकै राम्रा छन् । सबै दलका यस्तै यस्तै हुन्छन् तर कार्यान्वयन हुँदैनन्। काठमाडौँका स्थानीय जनताले तपाईँहरूलाई नै किन मत दिने?

सबै दलका घोषणापत्र प्राय: यस्तै हुन्छन्। तर हाम्रो घोषणापत्र कति फरक छ भने जति गर्न सकिन्छ त्यति मात्र भनिएको छ। जस्तो– भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ। पदमा हुने व्यक्तिले गर्न सक्ने पनि भएको छैन। अहिले इच्छाशक्ति नै भएको जस्तो लाग्दैन। त्यस्तै हामीले पाँच वर्षमा मेट्रो रेल ल्याउँछौ भनेका छैनौँ। एकदमै सम्भव हामीले जित्यौँ भने काठमाडौँको खुला क्षेत्र संरक्षण र विस्तार गछौँ भनेका छौँ। मेरो जति हो, बालबच्चा वृद्धावृद्धा, अपाङ्गता भएका व्यक्ति सबैको उत्ति हो। हाम्रा नदीनाला स्वच्छ हुने कि नहुने बाग्मती सधैँ फोहोर मात्रै हुने कि सुन्दरता फर्काएर ल्याउने?  घोषणापत्रमा आज राष्ट्रियताको गफ गरेर भोलि राष्ट्रियता बेच्ने खालको पनि छैन भनेर भोट दिनुहुन्छ जस्तो लाग्छ। 

तपाईँको पार्टीले कस्तो काठमाडौँको परिकल्पना गरेको छ?

हरेक नगर वा सहरको एउटा आफ्नै खालको विशिष्ट पहिचान हुन्छ। काठमाडौँको नेवार कला, संस्कृति, मठमन्दिर, विश्व सम्पदामा सूचीकृत भएको विभिन्न सम्पदाहरू हुन्। यिनलाई हामीले जर्गेना गर्नुपर्छ। यदि गरेनौँ भने आउने पुस्तालाई के छोडेर जान्छौँ त? कंक्रिटको जंगल छोड्छौँ कि सम्पदाले भरिपूर्ण शहर छोड्ने भन्नेले हाम्रो नगर कस्तो बनाउने भन्ने स्पष्ट हुन्छ।

त्यसैगरी महानगरको सवा सुविधालाई डिजिटलाइजेसन गर्ने हो भ्रष्टाचार न्यूनीकरण हुन्छ। त्यसैगरी हामीले सफा र व्यवस्थित काठमाडौँ भनेका छौ । हामीले अहिलेसम्म गरेको वातावरण प्रदूषणलाई व्यवस्थापन गर्न विद्युतीय गाडीमा जोड दिने, नदीनाला सफा राख्ने, फोहोर व्यवस्थापनमा ध्यान दियौँ भने राम्रो हुन्छ। यी सबै गर्न सकिन्छ। यी सबै गर्ने हो भने कुन उम्मेदवारलाई भोट हाल्ने भनेर एकपटक सोच्नुपर्छ। 

प्रदेशमा तपाईँका पार्टीका सांसद छन् उनीहरूले उदाहरणीय काम गर्न सकेनन् भन्ने आरोप छ नि ? 

बाग्मती प्रदेशमा हाम्रा तीन जना सांसद हुनुहुन्छ। हाम्रो पार्टीले कुनै पनि सांसदले सांसद विकास कोषबाट पैसा लिने होइन भन्ने मुद्दा उठाउँदै आएको छ। अर्को सम्पदाको कुरामा ‘रानीपोखरी बचाऊ’देखि गुठी आन्दोलन र ‘खुला क्षेत्र बचाऊ’ अभियान हाम्रै प्रदेश सांसदले अग्रभागमा उभिएर भूमिका खेल्नुभएको छ।

शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुन्छ भन्नेमा उहाँहरू बोलिरहनुभएको छ। त्यहाँ खास नीति निर्माण गर्ने ठाउँ हो। अर्को कुरा  प्रदेश सांसदको अधिकार कम हुन्छ । त्यसका बाबजुद पनि यति धेरै काम गरेर देशव्यापीरूपमा एउटा सन्देश दिएका छौँ भन्ने हाम्रो दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.