शिक्षाविद् भन्छन् : विदेश पढ्न जानैपर्ने बाध्यता छैन, रहरले गएका हुन्

|

काठमाडौं : सरकारले अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने व्यवस्था गरेपछि हालसम्म १ लाखभन्दा बढी नेपाली विद्यार्थीले एनओसी लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ भदौ १२ गतेदेखि एनओसीको अनलाइन सेवा शुरु गरेको थियो। 

शिक्षा मन्त्रालयको वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव हरिप्रसाद निरौलाले अनलाइन सेवा शुरु भएदेखि १ लाखभन्दा बढीले एनओसी लिइसकेको जानकारी दिए। ‘अनलाइन शुरु भएको २० महिना भयो, हिजै एनओसी लिनेको संख्या १ लाख नाघिसक्यो,’ उनले भने। २० करोड रूपैयाँभन्दा बढी राजश्व संकलन भएको उनले जानकारी दिए।

अधिकांश विद्यार्थीको गन्तव्य अष्ट्रेलिया

सबैभन्दा बढी विद्यार्थीहरूको रोजाइमा अष्ट्रेलिया परेको छ। वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार अनलाइन सेवा शुरु भएदेखि अष्ट्रेलियामा अध्ययन गर्न ४० हजार विद्यार्थीले एनओसी लिएका छन्। त्यसपछि जापानका लागि २३ हजारभन्दा बढीले एनओसी लिएका छन्।

क्यानडाका लागि ६ हजार ५ सय, अमेरिकाका लागि ५ हजार, कोरियाका लागि ४ हजार र बाँकी विद्यार्थीले अन्य देशका लागि एनओसी लिएको वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव निरौलाले बताए।

वैदैशिक अध्ययन अनुमतिपत्र शाखाको तथ्यांकअनुसार युक्रेनका लागि ८ सय १० जनाले एनओसी लिएका छन्। जसमा सन् २०२० मा ७०, सन् २०२१ मा ६ सय ७८ र सन् २०२२ मा ६२ जनाले एनओसी लिएका छन्। ‘पिएचडी गर्न ४ सय ३०, ब्याचलर्स अध्ययन गर्न २० हजार, डिप्लोमाका लागि १४ हजारले अध्ययनका लागि एनओसी लिएका छन्,’ उनले भने। 

दैनिक ९ सय जनाले लिन्छन् एनओसी

कोभिड–१९ को परिस्थिति सहज बन्दै जाँदा यतिखेर केशरमहलस्थित वैदैशिक अध्ययन अनुमतिपत्र शाखामा एनओसी लिनेको चाप बढ्दो छ। वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार अहिले दैनिक ९ सयभन्दा बढीले एनओसी लिने गरेका छन्।

‘‘कोभिडले पहिला रोकियो, अहिले भने एनओसी लिनेको चाप धेरै नै बढेको छ,’ वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव निरौलाले भने।

१ खर्बभन्दा बढी रकम शिक्षाको नाममा विदेशियो

उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरू विदेश जाँदा वर्षेनी खर्बौं धनराशी बाहिरिने गरेको छ। शैक्षिक परामर्शदाता संस्थाहरूका अनुसार देश, अध्ययन गर्ने विषय, विश्वविद्यालय अनुसारको शुल्क र बसोबाससहित एकजना विद्यार्थीको कम्तिमा १५ देखि २० लाख रूपैयाँ खर्च हुने गर्छ।

यो हिसाबले अनलाइन सेवा शुरु भएदेखि १ लाखले मात्र एनओसी लिएको मानेर हिसाब गर्दा करिब २ खर्ब रूपैयाँ उच्च शिक्षाको नाममा पैसा विदेशिएको छ।

किन विदेशिन्छन् विद्यार्थी?

शिक्षाविद् प्राडा सुरेशराज शर्मा अहिले विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्नकै लागि विदेश जानुपर्ने बाध्यता नरहेको बताउँछन्। उनका अनुसार पहिला स्कुलमा विषयगत विधा पढाउने शिक्षक थिएनन्। दक्ष शिक्षक थिएनन्। त्यसो हुँदा बाहिर पढ्ने अनुमतिपत्र ‘नो अब्जेक्सन लेटर’ दिइयो। 

त्यसवेला यहाँ पढ्ने विषय नभएमा मात्र लेटर दिने गरिएको थियो। ‘तर पछि यो लेटर पूरै खुला भयो, नेपालमा आफूले रोजेको विषय पढ्ने वातावरण राम्रै मिले पनि सरकारले त्यस्तो अवस्थामा पनि त्यो लेटर दिने गरेको छ, त्यसैले धेरै विदेशिएकाे देखिन्छ,’ उनले भने।

अहिले नेपालमै जुन विषय पढ्छु भने पनि पढ्न पाइने वातावरण रहेको उनी बताउँछन्। ‘विदेश पढ्न जानुपर्ने पटक्कै बाध्यता होइन, विद्यार्थीहरूको रहर नै भन्नुपर्छ,’ उनले भने।

यसरी विद्यार्थी विदेशिँदै गर्दा यहाँ भने दक्ष विद्यार्थी नहुने भएकाले प्रभाव पर्ने उनको भनाइ छ। शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति पत्र शाखाका उपसचिव निरौला विदेशमा पाठ्यक्रम थोरै रहेको र पढाइसँगै कमाउन पनि सकिने भएपछि विदेशिने गरेको बताउँछन्। 

‘नेपालमा पाठ्यक्रम लामै छ, मास्टर्स गर्न यहाँ ३ वर्षसम्म लाग्छ तर विदेशमा छिट्टै कोर्स सकिन्छ र पढाइ सकिन्छ, त्यही कारण  पछिल्लो समय विदेशिने विद्यार्थीको संख्या बढेको छ,’ उनले भने। तर सबै एनओसी लिने विद्यार्थी अध्ययन गर्नलाई मात्र विदेश जाने नगरेकाे उनले जानकारी दिए। 

शिक्षा मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले पनि विदेश गइसकेपछि पढ्न पनि पाइने र कमाइ पनि हुने भएकाले नेपाली विद्यार्थी विदेशिने गरेको बताए। ‘यहाँ काम पाउन सकस छ, विदेशमा गइसकेपछि पढ्न नि पाइने, पैसा कमाएर परिवार नि पाल्न सकिने भएकाले गएको पाइन्छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.