नेतालाई चुनावको रन्को,मतदातालाई कामको चटारो

|

म्याग्दी : सदरमुकाम र पालिकाका केन्द्रमा राजनीतिक दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भइरहेको अवस्थामा ग्रामीण क्षेत्रका किसान मतदातालाई भने कामको चटारो छ।

म्याग्दीको कुनै पनि स्थानीय तहमा मुख्य राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै पार्टीले एउटै पदमा आआफ्नो उम्मेदवार छनोट गर्न सकेका छैनन्। कुनै पालिकामा कांग्रेसले पालिका प्रमुखको उम्मेदवार छनोट गरेको छ भने अन्य दुई दलले छनोट गर्न नसकेको अवस्था छ।

त्यसैगरी नेकपा एमाले र माओवादीले उम्मेदवार छनोट गरेका पालिकामा कांग्रेसले पालिका प्रमुखको उम्मेदवार छनोट गर्न सकेको छैन।

धवलागिरि गाउँपालिकामा तीनवटै दलले पालिका प्रमुखको उम्मेदवार छनोट गर्न नसकेको अवस्था छ भने मालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका प्रमुखको उम्मेदवार छनोट गरिसकेका छन्।

बेनी नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको छ भने नेकपा एमालेले सकेको छैन। रघुगंगामा नेकपा एमालेले उम्मेदवार छनोट गर्दा कांग्रेस र माओवादी पर्ख र हेरकै अवस्थामा छन्। उता अन्नपूर्णमा पनि कांग्रेसले उम्मेदवार छनोट गर्न सकेको छैन। मंगला गाउँपालिकाको अवस्था पनि यही रहेको छ।

स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ। राजनीतिक दल र नेताहरू गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन्। तर,राजनीतिक दलका कार्यक्रमहरूमा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन्।

गाउँमा कामको चटारो छ। गहुँ थन्क्याउने,मकै छर्ने, गोड्ने, हिउँदे तरकारी लगाउने,बार-थाँक्रा हाल्ने,सिंचाइका लागि पानीको जोहो गर्ने काममा किसानहरू व्यस्त छन्।

स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि यहाँका किसानहरुलाई  कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन। राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानलाई भने उनीहरूलाई भेट्न र भलाकुसारी गर्न फुर्सद छैन।

‘हाम्रा समस्या जस्ताका त्यस्तै छन्,सिंचाइ नभएर बाली मरेको छ, धारामा खानेपानी आउँदैन,चुनाव आउँछ,नेता आउँछन्,आश्वासन दिन्छन्,जान्छन्’, बेनी नगरपालिका ३ तोराखेतका डिल बहादुर सापकोटाले भने।

शनिवार (हिजो) आँगनमा गहुँ चुट्दै गरेका सापकोटाले गाउँमा सडक र संचारको विकास भए पनि कृषि क्षेत्रमा भने विगतको पाँच वर्षमा खासै उपलब्धि हुन नसकेको बताए।

‘अहिले तीन तहको सरकार छ। स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानहरूको लागि त्यस्तो महशुस हुन सकेको छैन’, सापकोटाले भने, ‘समयमा मल बिउ पाइँदैन,सिँचाइको व्यवस्था छैन,असिना पानी,बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमा नै उचित क्षतिपूर्ति पाइँदैन,त्यसैले चुनाव आए पनि हामीलाई कुनै रौनकले छुँदैन।’

म्याग्दीमा १ नगरपालिका र ५ गाउँपालिका गरी  ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन्। बेनी नगरपालिकाको ७ र ८ नम्वर वडा वाहेक अन्य सवै पालिका र वडाहरू ग्रामीण क्षेत्र हुन्। यहाँका ९० प्रतिशत भन्दा बढी मतदाताहरू ग्रामीण क्षेत्र र कृषि पेशासँग आबद्ध छन्। तर,राजनीतिक दलका केही कार्यकर्ता र नेताहरूलाई बाहेक अन्य कृषकहरूलाई भने कामको व्यस्तताका कारण चुनावी रौनकले छुन सकेको छैन।

किसानलाई चुनावप्रति वितृष्णा जाग्नुको कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताहरूले दिएका आश्वासन पुरा गर्न नसक्नु पनि भएको रघुगंगा गाउँपालिका ४ का  चित्रबहादुर पुर्जाले बताए।

किसानलाई चुनावको भन्दा बढी चिन्ता गहुँबाली भित्र्याउने,मकै छर्ने,गोडमेल गर्ने र कतै कतै चैते धान रोप्नेको छ। उनीहरूले आफूहरूका लागि काम भन्दा ठूलो चुनाव नहुने बताएका छन्। बगरफाँटका कृषक टीकाबहादुर कार्की भन्छन्, ‘समय भयो भने भोट हाल्न जानुपर्ला तर,भाषण सुन्ने र उनीहरू(नेता)सँग हिड्ने फुर्सद मलाई छैन।’

नेपाली कांग्रेस म्याग्दीका पूर्व सचिव क्या.मीनबहादुर कार्कीले गाउँतिर कामको चटारो सुरु भएकोले जन-भेटभाट र चुनावी प्रचारको कार्यक्रम तीव्रगतिमा संचालन हुन नसकेका बताए।

‘अधिकांश मतदाताहरू गाउँमा छन्,गाउँमा कामको चटारो छ,हामीहरू किसानका खेतबारीमा नै गएर आफ्ना कुराहरू सुनाउँछौँ,केही दिनपछि काम पनि कम होला र प्रचार अभियानले पनि गति लिन्छ होला’, कार्कीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.