|
स्थानीय तहको निर्वाचन तयारीबारे जानकारी दिँदै निर्वाचन अधिकारी करुणकर अवस्थी। तस्वीर : प्रकाश पार्की

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा वैशाख ३० गते हुन गइरहेको चुनावको तयारी तीव्र भएको हो।

डडेल्धुरामा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएको निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिए।

२१ अति संवेदनशील मतदान स्थल

स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन व्यवस्थापकीय सबै तयारी पूरा गरिसकेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उनले ८० मतदान स्थलमध्ये २१ अति संवेदनशील मतदान स्थल, ४० संवेदनशील र १९ सामान्य रहेको बताए।

निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको तयारी पनि पूरा भइसकेको प्रजिअ जोशीले जानकारी दिए। उनले जिल्लामा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघनका घटना नभएको पनि बताए। निर्वाचन आचारसंहिता गत चैत २५ गते लागू भएको थियो। ७ स्थानीय तह रहेको डडेल्धुरामा ५२ वटा वडा छन्।

कुल मतदाता ९० हजार १ सय १९ जना

जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कुल ९० हजार १ सय १९ जना मतदाता रहेका छन्। जसमध्ये ४४ हजार ६ सय ६४ जना पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन्। 

मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदान स्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ। 

निर्वाचन गराउनका लागि ९ सय ९९ जना कर्मचारी खटिने निर्वाचन अधिकारी अवस्थीले जानकारी दिएका छन्। जसमध्ये ६ सय २१ जना कर्मचारी र ३ सय ७८ जना स्वयंसेवक कर्मचारी रहनेछन्।

उनले निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्री तथा नमूना मतपत्र सातै तहका निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइसकिएको बताए। उनले अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिकाका अधिकांश मतदान केन्द्रको अनुगमन गरिसकेको जानकारी दिए।

केही दिनमै बाँकी रहेका भित्री मधेसका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका मतदान केन्द्रको पनि अनुगमन र निरीक्षण गर्ने उनको भनाइ छ।

खुल्ला चौरमा चुनाव

उनले १ सय २६ मतदान केन्द्रमध्ये २ केन्द्र मात्र भवनविहीन रहेको जानकारी दिए। जसमा अमरगढी नगरपालिका–४ को टुँडिखेल मतदान केन्द्र र परशुराम नगरपालिका–६ को कुणा मतदान केन्द्र रहेको छ। भवन नहुँदा २ मतदान केन्द्रमा खुल्ला चौरमा चुनाव गर्नुपर्ने बाध्यता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.