'एमालेले जितेपछि भरतपुर नमुना शहर बन्छ'

|

चितवन :  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने भएका छन्।

०७४ सालको प्रदेशसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्वर २ को २ ख बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनले भरतपुरको मेयर उठ्न प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन्।

गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर माओवादीले पाउने सहमति भएको छ। माओवादीबाट पुरानै मेयर तथा माओवादी अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल उठ्ने पक्का छ। उनले फेरि उम्मेदवारी दिनका लागि राजीनामा समेत दिइसकेकी छन्।

त्यसैले वैशाख ३० गतेको निर्वाचनमा भरतपुरको मेयरमा सुवेदी भर्सेस दाहालको कडा टक्कर पर्ने देखिएको छ। यिनै सेरोफेरोमा थाहाकर्मी श्रीजना नेपालले विजय सुवेदीसँग गरेको कुराकानीको सम्पादिन अंश : 

बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर भरतपुर महानगरपालिकाको मेयरमा किन उठ्न लाग्नुभयो

अब मुख्य रुपमा हाम्रो नेपालमा संघीय शासनअन्तर्गत तीन तहको सरकार छ। केन्द्र, प्रदेश र स्थानीय त्यसमध्ये पनि स्थानीय सरकार चाहिँ जनतासँग दिन दैनिकसँग प्रत्यक्ष जोडिएको, जनताको दुःख सुखसँग जोडिएको र आधारभूत प्रकारको जुन विकाश निर्माण र सबै गर्नका लागि स्थानीय सरकार रोजेँ। त्यस्तै, पार्टीले केन्द्रदेखि नै निर्णय गरेपछि मैले भरतपुरको नेतृत्व लिन लागेको हुँ।

यस्तो भनिरहँदा प्रदेशबाट निराश भएर स्थानीय तहमा झर्नु भएको त होइन नि

त्यसो चाहिँ पक्कै होइन। प्रदेशसभाबाट निराश बनेर होईन कि प्रदेशबाट भन्दा मैले आफ्नो योगदान ,सेवा स्थानीय तहबाट बढी गर्न सक्छु भन्ने भएर नै म आएको छु र त्यसले गर्दा स्थानीय तहलाई बलियो बनाएर प्रदेश सभालाई पनि नीति नियममा सघाऊ पुग्नेछ भन्ने विश्वासका साथ अगाडि बढेको हुँ। 

यहाँ भरतपुर महानगरपालिकामा पनि सत्तारुढ गठबन्धन छ,यसरी हेर्दा एकतर्फ तपाई र अर्को तर्फ सत्तारुढ गठबन्धन, यसलाई कतिको चुनौतीको रुपमा लिनुभएको छ?

यस विषयलाई लिएर म खासै चुनौती देख्दिनँ। चितवनबासी सार्वभौमसत्ता सम्पन्न नागरिकहरु हुन्। हामी मिलेर आएका छौँ भनेर भोट बढ्ने र हामी मिल्या छैनौँ भन्दा नहाल्न पर्ने माहोल छैन।

हामीलाई स्थानीयले मत दिनुहुने हो। उहाँहरु आफूलाइ मन परेको मान्छेलाई मतदान गर्न स्वतन्त्र हुनुहुन्छ। कसैले कसैलाई बाध्य पार्ने होइन। महानगरपालिकालाई सुन्दर बनाउन कस्को नेतृत्व चाहिन्छ भन्ने कुरा भरतपुरबासीलाई राम्रोसँग थाहा छ।

हामी खुल्ला किताब हौँ। हामी सबैजनाको नजिक छौँ। ०६४ सालमा पनि मलाई चितवनबासीले सांसद बनाउन चाहनुभएको थियो तर, त्यहाँ पनि धाँधली भएको थियो, जसकारण उहाँहरुको चाहना पूरा हुन सकेन।

त्यसैले मप्रति त्यस क्षेत्रको सहानुभूति छ भने यति मात्र नभएर भरतपुर अस्पतालमा बसेर काम गरेको छु, प्रदेश सभामा बसेर काम गरेको छु, जनस्तरमा भिजेको छु , बिभिन्न सामाजिक, मानवीय कार्यमा अग्रसर रहेको छु भने पार्टीको जिल्ला नेतृत्व तहमा बसेर पनि सबै पार्टीसंगका नेता/कार्यकर्तासंग राम्रो सम्वन्ध कायम गर्दै यहाँ सम्म पुगेको छु त्यस कारण यसपालि उहाँहरुको छेउमा नै बसेर सेवा गर्ने मौका पाउँछु भन्ने कुरामा ढुक्क छु।

भरतपुर महानगरपालिकाको मेयरमा उठ्दै हुनुहुन्छ, जनतामाझ जान आफ्ना एजेण्डा, मुद्दा, परिकल्पना, योजना के कस्तो तय गर्नुभएको छ, यसबारे केही भनिदिनुहोस् न

पक्कै पनि। व्यवस्थित प्लानिङबाटै जनतामाझ जाने निर्णय गरेका छौँ हामीले। स्वच्छ महानगरपालिका हाम्रो सबैभन्दा प्रमुख मुद्दा रहनेछ। हामीले महानगरपालिकामा नेतृत्व पाए एक वर्षभित्रमा सडकमा एउटा प्लाष्टिकको टुक्रासमेत नपाउने तरिकाले प्रत्यक्ष जनताकै सहभागीमा उपलब्धिमूलक आय आर्जनको स्रोतको रूपमा फोहोर व्यवस्थापन गरेर अगाडि बढ्ने सोच बनाएका छौ भने अर्कोतिर म प्रदेशसभामा रहदा अगाडि बढाएको 'भरतपुर एक बगैंचा 'को परिकल्पनालाई निरन्तरता दिने योजना पनि बनाएका छौँ जसको फलस्वरूप हामीले फलफूलका बिरुवा बितरण संगै हरियाली-खुशियाली महानगरपालिकाको योजना तय गर्ने पनि सोच बनाएका छौँ।

अनलाइन प्रणालीबाट काम गर्ने व्यवस्था गर्छौँ। सवारीसाधन र सडको उचित व्यवस्थापन संगै साइकल लेन बन्ने छ। खोला नालाको सही व्यवस्थापन र पानीको निकास दिनेछौँ। अन्तर्राष्ट्रिय स्तरको नमुना शहर बनाउँछौँ।

विश्वभरमा रहेका भरतपुरबासीको अभिलेख हामीले राख्छौँ। भरतपुरमा कसैलाई भोको रहन दिँदैनौँ। युवाहरुलाई स्वारोजगार बनाउछौँ। बजार विस्तारमा ध्यान दिनेछौँ। कृषि क्षेत्रमा पनि नयाँ फड्को मार्ने गरेर निति तथा कार्यक्रम अगाडि सार्ने छौँ। नारायणी नदीको संरक्षण र सुधार,पर्यटन विकाश, खेलकुदमा लगानी ,महिला तथा युवा सशक्तीकरणका कार्यक्रम, विज्ञान र प्रविधिमाथि जोड, पूर्वाधार विकासमा अग्रसरता, बैकं र वित्तीय व्यवस्थापनका कुरा देखि शिक्षा, स्वास्थ्यमा आधुनिकीकरण, प्रशासनलाई जनमुखी, व्यवसायलाई उद्यममुखी बनाउने हाम्रा प्रमुख योजना रहेका छन। बिभिन्न जात जाति बर्ग समाज धर्म संस्कृतिलाई सम्मान र संरक्षण गर्दै सद्भाव कायम गराऊन सधैं अग्रणी भूमिका निर्वाह गर्नेछौँ यसरी भरतपुर महानगरपालिका देशकै नमूना बनाउने हाम्रो योजना रहेको छ।

अलि महत्वाकांक्षी मुद्दा, योजनाहरु त भन्नुभयो तर आम जनमानसमा रहेको विश्वास, भरोसा चाहिँ कसरी जित्नुहुन्छ र सिर्जित विकाशविरोधी भ्रम चिर्नुहुन्छ?

थोरै समय लाग्ला तर काम हुन्छ। जानेबित्तिकै सबै एकैपटक हुँदैन। म महानगरपालिका जानेबित्तिकै सबैभन्दा पहिला कर्मचारीहरुसँग सल्लाह गर्छु। यसअघि गरेका कामभन्दा फरक तरिकाले काम गर्नको लागि हामी तयार हुन्छौँ। अबको दिनमा पाँच वर्षभित्र महानगरपालिकालाई यस्तो बनाउनु छ, तयार रहनुहोला भनेर भन्नेछु।

सबै जनालाई महानगरपालिका राम्रो बनाउने तीव्र इच्छा छ। अहिलेसम्म नेतृत्वको कमजोरीका कारण काम हुन नसकेको हो। कर्मचारीको यसमा केही दोष छैन। भिजन भएको नेतृत्व पुगेपछि काम गर्न समस्या हुँदैन। सम्पूर्ण महानगरबासीको जिम्मा हामी लिन्छौँ। सबै दलले हामीलाई साथ दिनुहुनेछ। महानगरबासीले पनि साथ दिनुहुनेछ। सबैको साथ भएपछि नसकिने के छ र?

तपाईहरुकै पार्टी एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पनि गठबन्धनमा छ, यस्तो अवस्थामा पार्टी फुटको असर र त्यसले निम्ताउन सक्ने चुनावको सम्भावित परिणाम माथि तपाईको बुझाई के रहेको छ?

 विभिन्न धारणाहरु होला तर यसमा खास म त्यस्तो देख्दिनँ। झट्ट हेर्दा पार्टी फुटेको देखिए पनि सांगठित रुपमा पार्टी विभाजन भएको मैले मानेको छैन।

उहाँहरुको पार्टी परिवर्तन भए पनि विचार उही छ। मलाई नै सबै जनाले भोट हाल्नुहुन्छ। सबैको माया र साथ मलाई छ। अहिलेसम्म मैले धेरै काम गरेको छु। म भरतपुर महानगरलाई कसरी राम्रो बनाउने भन्ने कुरामा निरन्तर संघर्षरत छु। त्यसैले कुनै दल, राजनीतिक आस्थाभन्दा पनि मसँग केही सम्भावना देखेर मत सबैले दिनुहुनेछ भन्ने आशा छ।

अहिले रहनुभएको बहालवाला मेयरको पाँच वर्षीय कार्यकाललाई कसरी लिनुभएको छ तपाईंले?

यस विषयमा अहिले म केही पनि बोल्न चाहन्नँ। सबै जना भरतपुरबासीहरुले महशुस गरिरहनुभएको छ र प्रत्यक्ष देखिराख्नु पनि भएको छ र निर्वाचनमा उहाँहरुको भावना देखिनेछ।

चितवन जिल्ला आफैँमा चेतनाशील मान्छेको बसोबास भएको क्षेत्र हो जहाँ लगभग ७७ जिल्लाकै मान्छेको बसोबास रहेको छ। मैले के गर्छु भनेर म भन्छु, म अरुको आलोचना गर्न चाहन्नँ। म अहिले उम्मेदवार हुँ र त्यसको मर्म र भावनालाई समेटेर आबेग, आलोचना गर्नुभन्दा भोलि काम गरेर देखाउने कुरामा दृढ छु म। 

भरतपुरमा एमालेले राप्रपा नेपालसँग तालमेल गरेर जाने चर्चा पनि चलेको सुनिन्छ,यसबारे के भन्नुहुन्छ?

हैन हालसम्म त्यस सम्बन्धित स्थानीय तह र जिल्ला तहमा कुनै बहस, छलफल भएको अवस्था छैन। सुन्नमा आएअनुसार केन्द्रीयस्तरमा चाहिँ राप्रपा नेपालले सूर्य चिन्हमै चुनाव लड्ने भन्ने कुरा आए पनि निर्वाचन आयोगका विभिन्न कानुनी कुराहरु पनि बाझिएको र केहि जटिलता रहेको हुनाले के गर्ने भन्ने कुरा छलफलमै होला।

तर, स्थानीय तहमा चाहिँ हालसम्म त्यस्तो केही छैन बाँकी अब पछि पार्टीको निर्णयअनुसार के कस्तो तालमेल रहन्छ हेर्दै जाऊँ। 

अन्त्यमा, चुनाव जित्ने कुरामा चाहिँ कत्तिको ढुक्क हुनुहुन्छ

जहाँसम्म जित र हारको कुरा छ त्यो चुनावमा स्वाभाविक नै हो तर म चाहिँ के कुरामा आशावादी छु भने हिजो विभिन्न अवस्थामा मलाई जुन साथ, सहयोग, विश्वास र भरोसा गर्नुभयो महानगरबासी तमाम् जनताले ,यसपटक पनि यो अवसर दिनुहुन्छ भन्ने कुरामा ढुक्क नै छु भनौं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.