|
तस्वीर: उमेश सापकाेटा

काठमाडाैं : कुनै समय सरिता गिरीको सपना थियो उत्कृष्ट कराँते खेलाडी बन्ने, कम्मरमा ब्ल्याक बेल्ट बाँध्ने, देशका लागि खेल्ने र धेरै मेडल बटुल्ने।

एसएलसी सकिएपछि उनको कम्मरमा ब्ल्याक बेल्ट थियो, उनी राष्ट्रिय खेलाडी पनि बनिन्।

एउटा अन्तरराष्ट्रिय र थुप्रै राष्ट्रिय खेलहरू खेलिन् तर बाल मष्तिष्कले देखेका सपना पछि आँखा सामु नाच्दा त्यसमा कटु वास्तविकता पनि मिसिएको थियो।

राष्ट्रिय खेलाडी भएर बाँच्नु सपना देखे जस्तो मीठो थिएन। 

समयले उनलाई नाटकघर पुर्‍यायो। मुक्का, लात्ती हान्ने, विपक्षीलाई हराउने शारीरिक खेल खेलिरहेकी उनी भावनाको सागरमा डुबुल्की मारिन्।

कम्मरकाे ब्ल्याक बेल्ट फुकाएर ब्ल्याक बक्सभित्र पसिन्, जहाँ आँसु, खुशी, रिस, भय जस्ता जीवनमा देखिने विभिन्न रंग नजिकबाट नियाल्न पाइन्। 

हेर्दाहेर्दै उनले दुई दशकभन्दा लामो समय यो क्षेत्रमा बिताइसकेकी छिन्। झण्डै तीन सय नाटक, दर्जनभन्दा बढी फिल्म, क्विन अफ थिएटरको ताजसँगै यो समयमा उनले धेरै उतारचढाव पनि देखेकी छन्।

उनलाई धेरै पटक नाटक सधैँका लागि छोडि दिऊँ भन्ने विचारले खेदेको पनि छ।

गुरुकुलबाट आफ्नो नाट्य यात्रा थालनी गरेकी उनी नाटक लिएरै बंगलादेश, चीन, जापान, स्वीडेन, डेनमार्क लगायतका देश तथा भारतका डेढ दर्जन शहर भ्रमण गरिसकेकी छन्।

उनी नेपाली रंगमञ्चको पछिल्लो २० वर्षकी साक्षी हुन् नै यसका साथै नेपाली रंगमञ्च अहिलेको अवस्थामा आइपुग्नुमा उनको भूमिका पनि महत्त्वपूर्ण छ। 

पछिल्ला केही वर्ष फिल्ममा व्यस्त सरिता पाँच वर्षपछि नाटकमा फर्किएकी छिन्। नयनराज पाण्डेको उपन्यासमा आधारित, चे शंकरद्वारा निर्देशित नाटक 'उलार'बाट उनले पुनरागमन गरेकी हुन्।

जुन नाटक यतिवेला टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।

प्रस्तुत छ, उनै सरितासँग उनको रंग यात्रामा आएका उतारचढाव, नेपाली रंगमञ्चको अहिलेको अवस्था, उनको र रंगमञ्चको सम्बन्धका बारेमा गरिएको कुराकानीको सम्पादित अंश

रंग यात्राको दुई दशक
शुरुमा यो क्षेत्रमा प्रवेश गर्दा केही पनि थाहा थिएन। सिक्नुपर्ने धेरै थोक छ जस्तो लाग्थ्यो। आज २० वर्ष काटिसक्दा पनि मैले सिकेँ‚ जानेँ अब पुग्यो भन्ने भएको छैन। बरु पहिलेभन्दा बढी सिक्न बाँकी छ कि क्या हो जस्तो लाग्छ।

संसार हरेक दिन नयाँ बिन्दुमा पुग्छ, हामी हरेक दिन अपडेट भइरहनु पर्छ। नयाँ आउने भाइबहिनीहरूले धेरै नयाँ कुरा लिएर आएका हुन्छन् जुन कुरा मलाई थाहा हुँदैन। त्यसरी हेर्दा सिकेर, पढेर कहिल्यै पनि सकिँदो रहेनछ जस्तो पनि लाग्छ।

आर्टमा यति जाने यति पढेँ, पुग्यो भनेर भन्नका लागि कुनै सीमा हुँदैन। निखारिँदै जाने हो जुन सधैँ जारी रहन्छ। म पनि त्यही क्रममा छु। 

जाऊँ कि बसौँकाे अवस्था

गुरुकुलमा हाम्रो शुरुको सम्झौता दुई वर्षको थियो। त्यसपछि पनि लामो समय नियमित नाटक गर्‍यौँ। नाटक खेलेर तलब खाइयो, बोनस पनि खाइयो। त्यो दश बाह्र वर्ष हाम्रो लागि स्वर्णिम समय थियो।

गुरुकुलबाट १० मिनेट पर बानेश्वरमा मेरो घर थियो तर म हप्तामा एक दिन घर जान्थेँ बाँकी समय गुरुकुलमै हुन्थेँ। 

जब गुरुकुल बन्द भयो मनमा पहिलो पटक अब के गर्ने भन्ने प्रश्न आयो। नाटक नै गर्ने कि अरू विकल्प खोज्ने? देशमै बस्ने कि विदेश जाने? त्यसै बीचमा मण्डला थिएटर ओपनिङ भयो।

पहिलो नाटक नै मेरो सोलो पफर्मेन्स भएको मिस मार्गरिटा भयो। मिस मार्गरिटा १५ दिन नियमित मञ्चन भयो त्यतिबेलाका लागि त्यही नाटकले रोक्यो।

अब भयो नाटक छोड् अरू बाटो खोज भन्ने विचारले त्यसपछि पनि धेरै पटक खेदायो। जाऊँ कि बसौँको अन्‍तरद्वन्द्व चलिरहेका बेला हामी एउटा नाटक लिएर नेशनल स्कुल अफ ड्रामा पुगेका थियौँ।

त्यहाँ ७ वर्षको बच्चादेखि ७० वर्षको बूढासम्मले तबला बजाएको देखेर आफ्नो इनर्जी फुल हुन्थ्यो। नेपाल आएर एक वर्ष त्यही इनर्जीले काम गर्थेँ।

जति जति वेला मैले लो फिल गरेँ, अब यो क्षेत्र छोडौँ भन्ने विचार आयो त्यति त्यति वेला कहिले नाटक, कहिले कुनै वर्कसप, कहिले बाहिरको भ्रमण त कहिले कुनै फिल्म आयो जसले मलाई यो क्षेत्र छोड्न दिएन।

मलाई डा.अभि सरले भनिराख्नुहुन्छ- यो रंगमञ्चमै जन्मिएकी हो रंगमञ्चमै मर्छे। मलाई पनि त्यस्तै लाग्छ। अब त मैले छोड्छु भने पनि यसले छोड्दैन। 

दुई दशकमा कमाएकाे धन
यो दुई दशकमा साढे २ सयदेखि तीन सयवटा नाटक गरेँ हुँला, त्यति नै क्यारेक्टर पनि। जसमा भिक्षुणीदेखि, मैजुदेखि बादिनीसम्म छन्। कुनै पात्रको चरित्र निभाउँदै गर्दा ती पात्रको सामाजिक स्थिति, धार्मिक आस्था, विचार समाजलाई हेर्ने दृष्टिकोण लगायतका धेरै कुरा नजिकबाट हेर्न पाएँ।

ती पात्र कसरी त्यस्ता भए? उनीहरूले समाजलाई हेर्ने दृष्टिकोण कस्तो छ? त्यो दृष्टिकोण कसरी बन्यो? उनीहरूले जीवनमा केके भोगे? ती कुरा थोरै भए पनि मैले बाँचेँ, महसुस गरेँ। एउटा जीवनमा त्यति धेरै जीवनका कुरा थाेरै भए पनि भोग्न पाएँ। मेरो धन भनेको त्यही नै हो।

आफैँले गरेका केही क्यारेक्टर केही यस्ता हुन्छन् जो आजीवन आफू नजिकै फिल हुन्छ। बोक्सीको घर नाटक हेर्न दुईजना आमाछोरी आउनु भएको थियो। 
नाटक हेरेर बाहिर निस्केपछि आमाछोरी बाहिर बसेर थर्रर काम्दै भुई‌मा बसिरहनु भएको रहेछ। ला मैले के गरेँ जस्तो महसुस भयो। 

नजिक गएर के भयो आमा भनेर सोधेँ। उहाँहरूको कथा र मैले नाटकमा गरेको पात्रको कथा ठ्याक्कै मिल्दो रहेछ। उहाँले रुँदै भन्नुभयो, 'तिमीले न्याय पायौ कि पाइनौ थाहा छैन तर मेरी छोरीले न्याय पाएकी छैन। मेरी छोरी पनि त्यसरी नै कराएको वर्षौँ भयो। कसैले सुनेको छैन। सिंहदरबार यहीँ नजिकै छ‚ तिम्रो आवाज त्यहाँसम्म पुगेको छ त?' 

त्यो आमाको प्रश्नको उत्तर मसँग थिएन। कहिले दर्शकको आफ्नै कथा भन्ने पात्र बनेँ कहिले दर्शकले मन नपराएका पात्र पनि बनेँ। धेरै पटक नाटक हेरेर तिमीले किन यस्तो पात्रको भूमिका गरेको पनि भन्नु भएको छ तर ती पात्र पनि समाजमै थिए। 

पाँच वर्षपछि नाटकमा
बीचमा फिल्मतिर बढी व्यस्त भइयो। अहिले मञ्चमा जाँदा पहिलेको जस्तो इनर्जी फिल भइरहेको छ। 

स्टेजमा रहनु, नाटक गर्नु, यो पछिल्लो पाँच वर्षमा मैले सबैभन्दा बढी मिस कुरा हो। यसपालि समय पनि मिल्यो। त्यसैले चेले 'दिदी यस्तो नाटक छ' भन्नेबित्तिकै दुईपटक पनि नसोची खेल्छु भनेकी थिएँ। पहिलेका सबै कुरा ताजा भएर आए। अर्को नाटक कहिले हुन्छ जस्तो भइसक्यो।

विदेशको नाटक
सन् २००२ तिरको कुरा होला नाटककै लागि हामी डेनमार्कमा थियौँ। त्यहाँको नाटकको सेट देखेर हामी छक्कै पर्‍यौँ। हाम्रोमा भर्खर ब्ल्याक बक्स थिएटरको अभ्यास हुँदै थियो, त्यहाँ स्टेज नै पुरै घुमेको देख्नु हाम्रा लागि जादु जस्तो थियो। सेटमा कुनै सम्झौता छैन। कल्पना गरेको कुरालाई जस्ताको त्यस्तै मञ्चमा उतारेका छन्। ती कुरा आज पनि हाम्रो कल्पनाभन्दा बाहिर नै छन्। 

हाम्रोमा अझै पनि सेटको जिम्मा कलाकारलाई नै लगाउँछौँ। कलाकारले आफ्नो क्यारेक्टरको मुड त बोकी हिँड्नुपर्छ नै साथै प्रप्सहरू बोक्ने सार्ने काम पनि कलाकारकै हुन्छ। यो हाम्रो कल्चर नै भइसक्यो। धेरै नयाँ प्रयोगहरू लेखक, निर्देशकको दिमागमा मात्रै सीमित छन्। त्यसका कारण छन्। एउटा मुख्य कारण लगानी हो। 

उताको हेरी हामी पछाडि छौँ तर हाम्रै हिजोलाई हेर्ने हो भने प्राविधिक रूपमा धेरै विकास पनि भएको छ। दर्शकले रोजेर फरक फरक स्वादका नाटक हेर्न पाइरहेका छन्। त्यही अनुसार दर्शकको अपेक्षा पनि फेरिएको छ। 

नफेरिएको एउटा कुरा
थिएटरमा लगानी गर्ने मान्छे पहिले पनि थिएनन्, अहिले पनि छैनन्। एउटा नाटक गर्न पोस्टर छाप्नेदेखि प्रप्स बनाउने पैसा कलाकार र निर्देशकले नै मिलेर उठाउनुपर्छ, पारिश्रमिक भनेको आज पनि टिकटबाट उठेको पैसा नै हो। एउटा नाटक गरेर एक महिना बाँच्न पुग्ने पैसा उठ्दैन। अनि रंगकर्मी किन भड्किँदैनन्? किन पलायन हुँदैनन्?

अरू क्षेत्र जस्तै थिएटर पनि व्यवसायिक हुनुपर्छ। नाटक मात्रै चलेर हुँदैन, नाटक गर्नेहरूको घर पनि चल्नुपर्छ। कलाकारहरू बाँच्नुपर्छ। कलाकारहरू आत्मसन्तुष्टिका लागि काम गर्छन् तर त्यतिले मात्रै जीवन चल्दैन। 

अनि यो समस्या कसलाई भन्ने हो? भन्यो भने पनि तिमीलाई हामीले नाटक खेल भनेको हो र? भन्ने जवाफ आउँछ। अरू देशमा रंगमञ्चलाई सरकारले नै महत्त्व दिएर संरक्षण गरिरहेको हुन्छ। हाम्रो देशमा पनि सरकार छ, कला संस्कृति संरक्षण गर्ने दायित्व सरकारको हो भन्छन्, गरिरहेको छ भन्छन्। तर, खोइ त हामीले महसुस गरेको? 

यस्ता प्रश्न जति टर्रो सुनिन्छ उत्तर उति नै नमिठा र तिता छन्। यतिका वर्ष यो क्षेत्रमा लागेर पाएको भनेको नाम हो। हो, ४०/५० हजारजनाले चिन्नुहुन्छ तर दुःखको कुरा त्यो नाम कोट्याएर खान मिल्दैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.