|

धनकुटा : आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दललाई उम्मेदवारको नाम तय गर्ने भ्याइनभ्याइ छ।

धनकुटामा मूल त चार पक्षबीच भीडन्त हुने भएको छ। एकातिर सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी तालमेल गरेर भिड्ने भएका छन्। अर्कोतिर प्रमुख प्रतिपक्ष दल एमाले चुनावी मैदानमा रहने भएका छन्।

सत्ता गठबन्धन भागबण्डा नमिलेपछि जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा छन्। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी आफ्नो पकड रहेको क्षेत्रमा उमेदवार दिने तयारीमा छन्।

यता, गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र तथा एक्लै भीड्ने तयारीमा रहेको जिल्लाको ठूलो दल एमालेले उमेदवार छनौटलाई तीव्रता दिएका छन। गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रले शनिबार बेलुकासम्म भागबण्डा टुंग्याउने बताएका छन्।

जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष बलबहादुर राईले आफ्नो पार्टी गठबन्धनबाट नबाहिरिने बताए। उनले गठबन्धनमा साँगुरीगढी र चौविसे गाउँपालिका प्रमुख र महालक्ष्मी नगरपालिकाको उपप्रमुख दाबी गरेको जानकारी दिए। संगठन राम्रो भएका ठाउँमा दाबी गरेको र त्यो नभए आफ्नो तयारीमा उमेदवार दिने उनले बताए।

एमालेबाट को को उम्मेदवार?

नेकपा एमाले धनकुटाले धनकुटाका ४ वटा स्थानीय तहमा उमेदवार टुंग्याएको जनाएको छ। एमाले धनकुटा सचिब निरन राईका अनुसार धनकुटा नगरपालिकामा प्रमुखमा चिन्तन तामाङ र उपप्रमुखमा भीमा खनाल, पाख्रिवास नगरपालिकामा प्रमुखमा भीम राई र उपप्रमुखमा नम्रता देउजा तथा महालक्ष्मी नगरपालिमामा प्रमुखमा दीपक बुढाथोकी र उपप्रमुखमा मञ्जु कार्कीलाई उमेदवार बनाउने तय भएको छ।

यस्तै, चौविसे गाउँपालिकामा अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्षमा टंकमाया मगर उमेदवार बन्ने भएका छन्। छथर जोरपाटी गाउँपालिकामा अध्यक्षमा शेरबहादुर लिम्बूको टुंगो लागेको भएपनि उपाध्यक्ष टुंगिन बाँकी रहेको सचिब राईले बताए।

यता, साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा उमेदवार तय हुन बाँकी रहेको उनले जानकारी दिए। साँगुरीगढी गाउँपालिकामा अध्यक्षको उमेदवारमा कुमारजंग याखा र देउमान राईको नाम चर्चामा छ भने सहिदभुमि गाउँपालिकामा अध्यक्षको उमेदवारमा मनोज राई र निर कुमार राईको नाम चर्चामा रहेको बताइएको छ।

गठबन्धनमा के हुँदैछ?

धनकुटामा तालमेलमा रहेका दल कांग्रेस तथा माओवादीले धनकुटा नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख माओवादी केन्द्रले पाउने गरी छलफल गरिरहेका छन्।

जसमा कांग्रेसबाट सभापति दिनेश राई र जिल्ला सदस्य तथा पूर्व-डिआइजी दिनेश अमात्य उमेदवार बन्ने सम्भावना रहेको छ। उपप्रमुखमा माओवादीले गणेश विष्टलाई उमेदवार बनाउने तयारी गरेको छ।

पाख्रिबास नगरपालिकामा प्रमुखमा कांग्रेसले ज्ञान बहादुर गुरुङलाई उमेदवार बनाउने भएको छ भने माओवादीले उपप्रमुखमा ओमप्रकाश निरौलालाई बनाउने भएको छ।

यता, महालक्ष्मी नगरपालिकामा कांग्रेसका ध्रुवराज राया र महेन्द्र निरौलामध्ये १ जना प्रमुखमा र माओवादीका प्रेम खड्का उपप्रमुखमा उमेदवार बन्ने भएका छन्।

छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका छत्र सुब्बा अध्यक्षमा र माओवादीको गीता खेवा उपाध्यक्षमा भीड्ने पक्काकक्की भएको छ। गठबन्धनले साँगुरीगढी गाउँपालिका, चौविसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा उमेदवार टुग्याउन सकेको छैन।

स्थानीय तहको नतिजाले एमाले बलियो

२०७४ असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका ७ वटै स्थानीय तहमा  प्रमुख र उपप्रमुख जितेको एमाले जिल्लामा खसेको ६९ हजार १६ मत मध्ये प्रमुखमा मात्रै २९ हजार ३ सय ९८ मत पाएको थियो। त्यसबेला माओवादी केन्द्रले १० हजार २९ मत ल्याएको थियो।

त्यस्तै, राप्रपा र कतै संघीय समाजवादीसँग तालमेल गरेको कांग्रेसले १७ हजार ९ सय ५८ मत ल्याएको थियो। यसलाई आधार मान्ने हो भने एमालेले एक्लैले २९ हजार ३ सय ९८ मत पाएको छ भने सत्ता गठबन्धनले २७ हजार ९ सय ७८ मत पाएको थियो।

हुन त गत स्थानीय तहको निर्वाचनमा एक रहेको एमाले विभाजन भएको छ भने माओवादीका केही कार्यकर्ता एमालेमा गएका छन। २०७४ को स्थानीय तहको निर्वाचनभन्दा अहिले एमाले अझ बलियो भएको एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले बताए।

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै ५७ दशमलव १३ प्रतिशत मत ल्याएको थियो।

२०७४ को स्थानीय तहको जिल्लाका ६० वडामध्ये ४३ वटामा एमालेले, ९ वटामा कांग्रेसले र  ५ वटामा माओवादी केन्द्र र ३ वटामा जनता समाजवादी विजयी भएका थिए। एमालेबाट जितेका ३ जना वडाध्यक्ष विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन्।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बलियो

धनकुटामा २०७४ मा भएको प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनमा धनकुटामा ७० हजार २ सय ८० मत खसेको थियो। जसमा ३ हजार ५ सय १६ मत बदर भएको थियो। सदर मतमध्ये बाम गठबन्धनका राजेन्द्र राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गरे भने लोकतान्त्रिक गठबन्धनका सुनिलबहादुर थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए। राई एमाले र माओवादीका उमेदवार थिए भने थापा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको तर्फबाट उमेदवार बनेका थिए।

सो बेला माओवादीले समानुपातिकमा ७ हजार मत पाएको थियो। सो मत अहिलेको सत्ता गठबन्धन पक्षधर हुँदा त्यो बेला अहिलेको गठबन्धनको मत ३३ हजार हाराहारी हुने र एमालेको मत ३० हजार हाराहारीको मतमा केही मत एकीकृत समाजवादीको हुने पक्का छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.