यस प्रकारको तालमेलले लोकतन्त्रलाई बलियो बनाउँदैन
यस प्रकारको तालमेलले लोकतन्त्रलाई बलियो बनाउँदैन
‘वर्षा भयो भ्यागुता टर्टराए, नेताहरू भोट माग्न जुर्मुराए।’ अचेल यस्ता भनाइ सामान्य हुँदै गएका छन्। चुनाव आउँदै गर्दा दल र त्यसका नेताविरुद्ध तिखा आलोचना आउने गर्छन्। तर माथि भनिएझैँ न त चुनाव वर्षा हो न नेताहरू भ्यागुता हुन्। बरु निश्चित समयको आवधिक निर्वाचन लोकतन्त्रलाई बलियो बनाउने अनिवार्य कडी हो र यो यथासमयमा भइरहनु पर्छ।
त्यसरी नै नेताहरू लोकतन्त्रका संवाहक, जनताका सेवक र समाजका स्रष्टा र अग्रगमनका द्रष्टा समेत हुन्। तर जब निर्वाचित जनप्रतिनिधिहरु पथभ्रष्ट हुन्छन् र जनताप्रति अनुत्तरदायी हुन थाल्छन् तब उनीहरूमाथि यस्ता अप्रिय आलोचना र नकारात्मक टिप्पणी आउने गर्छन्। यो पनि सामान्य हो।
समयमा चुनाव हुँदा जनताको शक्ति बलियो र निर्णायक हुँदै जान्छ अनि जनप्रतिनिधिलाई पनि आफ्ना मतदाताप्रति झुक्न र जिम्मेवार हुन कर लाग्छ। तर विडम्बना कस्तो छ भने सकेसम्म निर्वाचन पन्छाउन खोजिन्छ। भई हाल्यो भने निर्वाचनको वेला मात्र नेता जनताको घरघरमा बिन्ती बिसाउन पुग्छन्।
अरु वेला दुईचार वटा राजनीतिक दलको मात्र नाम सुनिने गरेकोमा त्यतिबेला अनेकाैँ दल निर्वाचन आयोगमा दर्ता हुन्छन्। उनीहरूको नाम पत्रपत्रिकामा आउँछ। दल र त्यसका नेताहरूबाट अनेक अनेक अभिनय शुरु हुन्छ। बाह्रै महिना सत्ताको मोलमोलाइमा लहसिने, सत्ता झगडामा लागेर देशलाई बन्धक बनाउनेहरूसमेत आश्वासनका पोका बोकेर जनताका घरआँगन र खेतीखलियानमा पुग्छन्।
हलो कोदालो समाइदिने, बाली काटिदिने र भारी बोकिदिने जस्ता नाटक शुरु हुन्छ। जनताका लागि यो असाध्यै पिरोलिएको अभिनय हुन्छ। कतिले यसैको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्छन्। अनि निर्वाचन हुने भएपछि चुनावी तालमेलको कुरा पनि सँगसँगै आउँछ। काले–काले मिलेर खाऊँ भाले भन्ने कुरा हुन्छ। परस्परमा काटाकाट गर्न पछि नपर्ने दलहरू पनि त्यतिबेला चाटाचाट गर्ने अवस्थामा आइपुग्छन्। अन्त्यमा मतदातालाई रनभुल्ल पारेर मत लट्पट्याउँछन्।
निर्वाचन सकिएपछि मतदाता आँखा चिम्लिन्छन्, फेरि नेता मात्तिन थाल्छन्। जब निर्वाचन आउँछ तब मतदाताका आँखा खुल्छन् र यस्ता भनाइ आउन थाल्छन्। यो चक्र घुमिरहेकै छ।
एकै किसिमको दर्शन, नीति , सिद्धान्त बोकेर हिँड्ने राजनीतिक दलहरू छरिएर रहुनु भन्दा एकता गरेर एउटै हुनु राम्रो हो। यसले राष्ट्र र जनताको शक्ति एकीकृत हुन्छ। देशलाई बलियो बनाउन मद्दत पुग्छ। जनतालाई पनि अलमल नभई पार्टी छनोट गर्न सजिलो हुन्छ।
लोकतन्त्रमा दलहरु सधैँभरि एकिकृत भइरहन्छन् भन्ने हुँदैन। समाज विकासक्रममा विविध चरित्रका दल देखा पर्छन्। गठन, विघटन र गठबन्धनका अनेकन प्रकृया पनि चलिरहन्छन्। यहाँ ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन’ भन्ने मदन भण्डारीको भनाइ लागु हुन्छ। व्यक्ति दलबदलका परिघटना भइरहन्छन्,जसलाई सामान्य र स्वाभाविक मानिन्छ।
यो स्वार्थबस ऐन मौकामा मात्र हुन थाल्यो भने त्यसलाई विकृतिको रूपमा लिनुपर्ने हुन्छ। अरु वेला आफ्नो अलग नीति सिद्धान्त र दर्शनको वकालत गरेर जनतालाई अल्मल्याउने अनि ऐनमौकामा सत्तामा जान र निर्वाचनमा मात्र गठबन्धन गर्ने कुरा घोर अवसरवाद हो र जनतामाथि ठूलो धोका हो ।
अलग अस्तित्वका राजनीतिक दलहरू जनताबीच एक्लाएक्लै जान र अग्निपरीक्षामा खारिन तयार हुन सक्नुपर्छ, अन्यथा अलग हुनुको औचित्य समाप्त हुन्छ। आफ्ना नीति, सिद्धान्त, दर्शन र व्यवहारमाथि कसैले उठाउने प्रश्न र जिज्ञासाको चित्तबुझ्दो ढंगले जवाफ दिन पनि सक्नुपर्छ।
विगतमा सत्तामा रहँदा आफूले गरेको कामलाई जनताले कतिसम्म मन पराए र कुन किसिमले मूल्यांकन गरेका रहेछन्, त्यसको समीक्षा गर्न पनि दलहरू एक्लै चुनावमा खडा हुनु जरुरी छ। दलहरू एक्लाएक्लै उठे भने जनताले पनि स्वतन्त्र मूल्यांकन गर्न पाउँछन्।
हार होस् वा जीत; दलीय व्यवस्थामा जिम्मेवार पार्टीहरूले एक्लाएक्लै चुनाव लड्ने साहस देखाउन सक्नु नै ठूलो नैतिक विजय हो। यसले दलहरूलाई आफ्नो धरातल राम्ररी थाहा पाउन सहयोग पुग्छ। देशको कुनाकाप्चा सबैतिर संगठन विस्तार हुन्छ र स्थानीय तहमा नेतृत्वको विकास हुन्छ। तर गठबन्धन गर्दा उपलब्धिलाई आफ्नो ठान्ने र असफलता, दोषजति अर्कालाई पन्छाउने प्रवृत्ति हुने हुँदा आफ्नै पनि सबल र कमजोर पक्ष पत्ता लगाउन सकिँदैन। यसले संगठन कमजोर हुन्छ। फेरि अर्काको भरमा अडिएको संगठन संकटका वेला बलियो गरी खडा हुन सक्दैन।
सबै दल अलगअलग ढंगले निर्वाचनमा जाँदा जनता अन्योलग्रस्त अवस्थाबाट मुक्त हुन्छन्। निर्वाचन प्रक्रियामा जति धेरैको सहभागिता हुन्छ त्यति नै लोकतन्त्र पनि बलियो हुन्छ। जनतालाई आफ्नो नेता छनोट गर्ने धेरै विकल्प उपलब्ध हुन्छन्।
आवधिक निर्वाचन असल, सक्षम र योग्य नेतृत्व स्थापित गर्ने र अयोग्यलाई किनारा लगाई राजनीतिक पद्धतिलाई पुनर्ताजगी गर्ने अवसर पनि हो। निर्वाचनमा गलत गर्नेलाई सजाय हुने र राम्रो गर्ने पुरस्कृत हुने हुँदा यसबाट सिँगो समाज, दल र उमेद्वार पनि प्रशिक्षित र सजग हुन्छन्। भ्रष्टहरू विभिन्न तिगडमबाट जुकाजस्तै टाँसिएर सत्तामा बसिरहन चाहन्छन् र यसका लागि हरेक किसिमको गठबन्धन बनाउँछन्। विविध नाटक गर्छन्।
बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुन्छ र हुनुपर्छ। काममा योग्यता देखाएर प्रतिस्पर्धा गर्दा भविष्यमा अझै राम्रा व्यक्तिहरू आउन सक्छन् । तर जब सत्ता प्राप्तिका लागि दलहरू आफ्ना नीति सिद्धान्त एकातिर थन्क्याएर साम, दाम, दण्ड, भेदका हतियार बोकेर गठबन्धन गरी आउँछन् त्यतिबेला आम सर्वसाधारण अन्योलमा पर्न सक्छन् र जनप्रतिनिधिबीच पनि स्वार्थको प्रतिस्पर्धा शुरु हुन्छ।
गठबन्धन गर्दा, सिट बाँडफाँडमा ‘बार्गेनिङ’ भएर अयोग्य, भ्रष्ट र पहुँच भएकाहरू उमेदवार बन्ने र इमानदार वञ्चित हुने खतरा हुन्छ। गठबन्धनबाट कहिलेकाहीँ अनपेक्षित परिणाम पनि आउन सक्छ। खराब मान्छे विजयी हुने र राम्रा उमेदवार पनि पराजित हुनसक्ने खतरा रहन्छ। त्यस्तो भएमा विजयीहरू त खुशी होलान्, व्यवस्थाप्रति नै जनताको नकारात्मक धारणा बन्छ, लोकतन्त्रको पराजय हुनेछ। जनताको दु:ख पनि अझ थपिन्छ।
निर्वाचनको परिणाम राम्रो आए आफ्नो प्रभावको करामत भन्ने र पराजय भए अर्काे पक्षको कमजोरी देख्ने कारण गठबन्धनमा कोही पनि जिम्मेवार देखिँदैनन्। असफलताको दोष एकले अर्काेलाई पन्छाउने हुँदा त्यसपछिको एकता पनि टिकाउ हुन सक्दैन। यदि एक्लाएक्लै चुनावमा जाने हो भने दलहरूलाई आफ्ना बारेमा स्पष्टीकरण दिन, गल्तीमा क्षमायाचना गर्ने अनि कमजोरी सुधार्ने नयाँ प्रतिबद्धता सम्प्रेषण गर्नसमेत सजिलो हुन्छ। मतदातालाई पनि आफ्नो मूल्यांकन र रोजाइ दलहरूले बुझ्नेगरी प्रष्ट पार्न सजिलो हुन्छ।
जुन दलहरु स्वार्थमा चुर्लुम्म डुबेका हुन्छन् उनीहरु चुनावका बेला जनतासँग डराउँछन्। आफ्ना कर्महरूका कारण आत्मविश्वास घट्दै जान्छ र गठबन्धनको सहारामा पुग्दछन्। यस्ताबाट जनताले के आश गर्ने ? सबैलाई थाहा भएकै कुरा हो स्थानीय निकायले प्रत्यक्षरूपमा जनताका दैनन्दिनका समस्या र कामसँग सरोकार राख्दछ।
स्थानीय निकायको नेतृत्व जनतासँग भिजेका असल, योग्य मानिसले गर्न पाए भने मात्र सबैको हितमा निष्पक्षरूपमा राम्रो काम हुन सक्छ। त्यस्ता व्यक्ति छान्न मतदाताले उम्मेदवारको स्वतन्त्र मूल्यांकन गर्न पाउनुपर्छ। छुट्टाछुट्टै मूल्यांकन गर्न नसकिने व्यक्तिलाई भोट दिनु भनेको मिलिजुली खाओ भनेर स्वीकृति मात्र दिनु हो।
संविधान निर्माणताका सबैको साझा सहमति एकदमै जरुरी थियो। त्यतिबेला गठबन्धन अनिवार्य आवश्यकता थियो। तर त्यतिबेला उल्टो बाटो हिँडेर अनावश्यक प्रतिस्पर्धा गरी द्वन्द्व बढाउने काम गरे। जनताले त्यति ठूलो संघर्ष, त्याग गरेर ल्याएको संविधानसभा त्यसको माग गर्ने दल आफैँले नै भंग गरिदिएर संविधान निर्माण नै अलपत्र हुन पुग्यो।
नेकपा एमालेको बलियो अडानको कारण मात्र संविधान घोषणा हुन सक्यो। त्यतिबेला संविधानसभा भत्काउने नाइकेहरू नै अहिलेको गठबन्धनका शिल्पकार हुन आइपुगेका छन्। विभिन्न निहुँ र नामबाट यतिबेला पनि उनीहरूको उल्टो यात्रा जारी नै छ। अहिले केका लागि गठबन्धन जरुरी? मिलिजुली खानका लागि?
दलहरू आ-आफ्नो घोषणा पत्र लिएर एक्लाएक्लै निर्वाचनमा आउन सक्नुपर्छ। यदि एक्लै आउने आँट नगर्ने हो भने त्यो पार्टीको औचित्य नै छैन। विघटन गरिदिए हुन्छ। जनतालाई अनेक नामबाट अल्मल्याउन हुँदैन। एक्लै चुनावमा आउने आँट नभएका दलहरू एउटै पार्टीको रूपमा ‘मर्ज’ हुँदा राम्रो हुन्छ। मन मिल्छ भने एउटै पार्टी किन नबनाउने?
पार्टी अलग हो भने एक्लाएक्लै चुनाव लडेर जनताबाट अनुमोदित हुने आँट गर्न सक्नुपर्छ। एकता पवित्र कुरा हो। गठबन्धन अपवित्र। निर्वाचन गठबन्धन गर्ने समय होइन, प्रतिस्पर्धाको समय हो। गठबन्धन गरेर आउनेहरूलाई जनताले के आधारमा भोट दिने? निर्वाचन जसरी पनि जित्नकै लागि लड्नुपर्छ भन्ने हो भने निर्वाचन शब्दमै नै पनि प्रश्न उठाउनुपर्ने हुन्छ।
निर्वाचनपछि पनि कसैको बहुमत आएन भने त्यतिबेला गठबन्धनको समय आउँछ। सरकार चलाउन मेलमिलाप र सहकार्य जरुरी हुन्छ। निर्वाचनपछि विजयी सबै मिलेर सरकार चलाउनु राम्रो हुन्छ। चुनावमा विजयी भएको आफ्नै पार्टी विभाजन गर्ने अनि हिजो एक अर्काले टाउकोको मूल्य तोक्ने ‘जानी दुश्मन’हरू मिलेर गठबन्धन गर्ने?
कसैले प्रतिगामी र ‘होली वाइन’ भनेर आफैँले गाली गरेकासँग गठबन्धन गर्ने। यो कस्तो राजनीति हो ? हिजो आफैंले भनेको होइन उनीहरू मध्ये, एउटाले गाउँगाउँ आतंक मच्चाएर र अर्काेले दरबारमा बुझाएर जनताको अधिकार खोसेको? यिनैका अदूरदर्शी नेतृत्व, घमण्ड र उत्तेजनाका कारण मुलुकमा १७ हजार मानिसको ज्यान गएको भनिएको होइन र?
यस्ता अदूरदर्शीहरूको गठरीले मुलुकको अग्रगमनलाई गाँठो पारेर फेरि अर्काे कुनै दुर्घटना निम्त्याउँदैन भन्ने कसरी विश्वास गर्ने?
तपाईंको ईमेल गोप्य राखिनेछ ।