|

विराटनगर : २०५३ सालबाट राजनीति यात्रा आरम्भ गरेकी मञ्जु भण्डारी धरान उपमहानगरपालिकाकी उपमेयर हुन्। लामो समय पार्टीको जिल्ला सदस्यमा रहेर कार्यभार सम्हालेकी उनी चितवनको सौराहामा सम्पन्न दशौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भइन्।

पार्टीको जिम्मेवारीसँगै उपमेयर पदको पाँचवर्षे अनुभव बटुलेर वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिका प्रमुखका लागि चुनावी मैदानमा उत्रिने भएकी छिन्। उनले ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३३९ को मत अन्तरले हराउँदै विजयी भएकी थिइन्।

२०७४ सालको स्थानीय निर्वाचनयता धरान उपमहानगरपालिकाको राजनीतिक अवस्था फेरिएको छ। ०७४ को स्थानीय निर्वाचनमा एमाले एक्लैले कांग्रेसलाई करिब ५ हजार मतले हराए पनि पछिल्लो समय एमालेभित्रको आन्तरिक द्वन्द्वले निम्त्याएको टुटफुटका कारण एमालेलाई धरान उपमहानगरको नेतृत्व हात पार्न कतिको सहज छ भन्ने विषयमा रहेर धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीसँग थाहखबरकर्मी सुजता लिम्बूले गरेको कुराकानी।

१. धरान उपमहानगरपालिकाको उपप्रमुखको पाँचवर्षे कार्यकाल कस्तो रह्यो?

मेरो उपप्रमुखको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको ठान्छु। उपप्रमुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी, दायित्व मैले पूरा गरेकी छु। जनताले अपेक्षा गरेअनुसार काम गरेकी छु र उहाँहरूले त्यो महसुस पनि गर्नुभएको छ।

२.  पाँचवर्षे कार्यकालमा तपाईंले गर्नुभएका उपलब्धिमूलक काम के के हुन्?

म उपमेयर मात्रै होइन‚ तत्कालीन मेयर तारा सुब्बाको निधनपछि मैले २ वर्ष मेयरको पनि भूमिका निर्वाह गरेँ। त्यो समयदेखि लिएर उपमेयरको पदभार सम्हालिरहँदा विषयगत जिम्मेवारीलाई पृथकतापूर्वक सम्पन्न गरेकी छु। न्यायिक समितिको न्यायसम्पादन प्रवाहलाई चुस्त बनाउने कुरा, न्यायसम्पादनलाई छिटो, छरितो बनाउनेदेखि लिएर न्यायसम्पादन प्रक्रियामा जनताको पहुँच बढाउने कुरा उपलब्धिमूलक रहे।

संघीयतापछिको पहिलो स्थानीय तहको नेतृत्वमा प्रवेश गरिरहँदा स्थानीय तह संरचना विहीन थियो। त्यसका लागि हामीले संरचना निर्माण सम्पन्न गरेका छौँ। ठूलठूला गौरवका आयोजना शुरु गरेका छौँ। धरानमा बसपार्क बनेको थिएन, अलपत्र थियो, त्यसलाई पूर्णता दिने काम गरेका छौँ। खानेपानी आयोजना टुंगो लागेको छ तर वितरण प्रणाली भएको छैन। वितरण प्रणाली मिलाउन प्रविधि र प्राविधिक सहित काम गर्न बाँकी छ। नगर गौरवका महत्त्वपूर्ण आयोजनामा धरान महानगरपालिका फोहोर व्यवस्थापन गर्नमा अब्बल छ।

३. हिजो पनि धरानवासीले पानीको अभाव वेहोर्दै आएका थिए। अझै पनि अभाव नै छ, पाँच वर्षमा सम्पन्न नभएको खानेपानी वितरणको योजना कहिले सम्पन्न हुन्छ?

हिजो पानी नै भएको अवस्था थियो। अहिले पनि छ तर वितरण प्रणाली मिलेको छैन। पाँच वर्षसम्म संस्थान मर्जका लागि योजना सम्पन्न हुन नै समय लाग्यो। आयोजना सम्पन्न नभएसम्म यत्तिकै शुरु हुँदैन। यो हामी नेतृत्वमा आउनुभन्दा अगाडिकै प्रोजेक्ट हो। सन् २०११ मा शुरु भएको प्रोजेक्ट २०१९ मा सकियो र यसलाई संस्थागत रूपमा विकास गर्न समय लाग्छ, यसको दिगो विकासका लागि हामी योजना बनाउँछौँ। धरानमा खानेपानी अभाव नहुने म प्रतिबद्धता गर्छु र थप प्रोजेक्टका लागि पनि पहल कदमी गर्नेछु।

३. पाँच वर्षअगाडि निर्वाचनको मैदानमा उत्रिदै गर्दा जनतासमक्ष जुन घोषणापत्र जारी गर्नुभएको थियो, त्यो पूरा गरे जस्तो लाग्छ कि लाग्दैन ?

जनतासमक्ष राखेका घोषणापत्रमा उल्लेख भएका वाचा हामीले पूरा गरेका छौँ। हामीले भनेका थियौँ, बसपार्क निर्माण गर्छौं भनेर २५ प्रतिशत काम सम्पन्न भइसकेको छ र काम हुँदै छ। यसका लागि केन्द्रीय सरकारसँग समन्वय भएर बजेट केन्द्रबाट पठाइएको छ। हामीले सुकुमवासी व्यवस्थापनको विषयमा कुरा उठाएका थियौँ। पार्टीको आन्तरिक विवाद र त्यसपछि आएको फुटका कारण लालपुर्जा वितरण गर्न सम्भव भएको छैन।

कति सुकुमवासी धरानमा बसोवास गर्नुहुन्छ‚ त्यसको तथ्यांक हामीले तयार गरेर राखेका छौँ। उहाँहरू कस्तो अवस्थामा हुनुहुन्छ र कस्तो जमिनमा बस्नुभएको छ भनेर हामीले तथ्यांक तयार गरेर घर नम्बर वितरण गरेका छौँ र घर नम्बरको आधारमा हामी लालपुर्जा वितरण गर्छौं।

४. पाँच वर्षसम्म उपमेयर पद सम्हालिसक्नुभएको छ, अब आउने निर्वाचनमा मेयरका लागि चुनावी मैदानमा जाँदै हुनुहुन्छ, तपाईंलाई जनताले भोट दिने आधार के छ ?

मलाई जनताले भोट दिने आधार प्रशस्तै छन्। आधार के छ भने म नगरको स्रोतबाट मात्रै होइन, केन्द्रको आधारमा पनि महत्त्वपूर्ण समन्वय गर्नसक्छु भन्ने मलाई लाग्छ। त्यसैले धरानको जनताले यो नगरको विकासका लगि केन्द्रसँग जोड्न सक्ने व्यक्तित्व खोजिरहेको छ र केन्द्रबाट आफ्नो पहुँच वृद्धि गर्ने नेतृत्वको खोजी गरिरहेको हुँदा जसको केन्द्रसँग पहुँच छ, जसले विकासलाई केन्द्रसँग जोडेर बजेट यहाँ ल्याउन सक्छ, त्यो व्यक्तित्वलाई धरानले खोजिरहेको छ।

धरानको आवश्यकता भनेको पनि अहिलेसम्म केन्द्रीय नेतृत्व प्राप्त गर्न नसक्नु हो, अहिले म पार्टीको केन्द्रीय सदस्य पनि हुँ। यसले पनि केन्द्र र धरानको सम्बन्धमा मैले राम्रो भूमिका निर्वाह गर्नसक्छु जस्तो लागेको छ। यस आधारले पनि धरान र धरानका जनताले मलाई राम्रोसँग चिन्नुभएको छ। मैले कसरी काम गर्छु भन्ने यहाँको जनतालाई थाहा छ। यसले पनि यहाँका जनताले मलाई भोट दिनुहुन्छ भन्नेमा विश्वस्त छु।

५. यतिवेला जिल्ला, जिल्लामा पाँचदलीय गठबन्धन चुनावी मैदानमा छ, यो गठबन्धन दलसँग तपाईं कसरी टिक्न सक्नुहुन्छ ?

गठबन्धन आज मात्रै होइन। अहिले पाँचदलीय गठबन्धन छ, हिजो ०७४ सालमा उठ्दा नौदलीय, दशदलीय गठबन्धन थियो। गठबन्धन स्वभाविक रूपमा हुन्छ नै र गरेका पनि छन्। गठबन्धन हुँदाहुँदै पनि धरानमा नेकपा एमालेले चुनाव जित्नेमा हामीलाई विश्वास छ।

६. तपाईलाई गठबन्धनको अगाडि जित्ने सम्भावना छैन भन्छन् त ? यो चुनौतीसँगै तपाईंलाई उम्मेदवारीका लागि उम्मेदवारी दिए जस्तो लाग्दैन ?

मलाई पार्टीले नै जित्ने उम्मेदवार हो भन्ने हिसाबले छनौट गरेर पठाएको छ। देशैभर गठबन्धन छ। गठबन्धनले गर्दा संविधान कार्यान्वयनमा प्रश्न उठेको अवस्था छ। गठबन्धनको नाममा आज महिला नेतृत्वको सुनिश्चितता हुन सकेको छैन। यो अवस्थामा पनि हाम्रो पार्टीले धरान उपमहानगरपालिकामा महिलालाई उम्मेदवारी दिएको छ। पार्टीले गरेको विश्वासप्रति आभारी छु। धरान आफैँमा बौद्धिक क्षेत्र हो। यहाँका जनताले हामीले गरेका काम नियाल्नुभएको छ।

७. २०४६ सालपछि सधैँ कम्युनिस्ट पार्टीले जित्दै आएको धरानमा मेयर तारा सुब्बाको निधनपछि ०७६ मा भएको उपनिर्वाचनमा वामपन्थी विजयको विरासतलाई निरन्तरता दिनेमा विश्वस्त रहेको थियो। तर पार्टीको अपेक्षाविपरीत परिणाम आयो अर्थात् कांग्रेसले विजय प्राप्त गर्‍यो। अबको निर्वाचनमा वामपन्थी विरासत फर्काउछु भन्नेमा कतिको विश्वस्त हुनुहन्छ ?

हिजोको वामपन्थी विरासत फर्काउनेमा हामी ढुक्क छौँ। किनभने हामीले गरेको काम नै काफी छ। हिजो वामपन्थी गठबन्धन भएको अवस्था थियो। वामपन्थी एकता भएका कारणले गर्दा हामी मिलेका थियौँ तर हामी भित्रभित्रै अन्तरघात भएको अवस्था थियो। पार्टी एकता त भयो तर सशक्त रूपमा जुन एकताको मर्म र भावनाको रूपमा संगठन निर्माण गरेर अघि बढेको अवस्था थिएन।

एकता मजबुत नभएकै कारण हामीले ०७६ को उपनिर्वाचनमा हार वेहोरेका हौँ। यो पटक हामीले संगठन मजबुत बनाएका छौँ। हाम्रो निर्वाचन जित्ने आधार भनेकै पार्टीको संठन हो। हाम्रो संगठन मजबुत भएको कारणले गर्दा २० वटै वडामा उम्मेदवार उभ्याएका छौँ। सबै लोकप्रिय हुनुहुन्छ। जनताको मुद्दामा उभिएको उम्मेदवार भएकाले जनताले हामीलाई निर्वाचित गराउनुहुन्छ।

८. अन्त्यमा पाँच वर्ष उपमेयरको पद सम्हालिरहँदा उपमहागनर प्रमुखबाट कतिको सहयोग पाउनु भयो ? महिला नै भएर असहयोग भएको अनुभव छ कि छैन ?

प्रमुख र उपप्रमुखको सहकार्य अहम् रहन्छ। प्रमुख र उपप्रमुखले कुनै पनि काम गर्दा समन्वय गरेर अघि बढ्दा सहज हुन्छ। एकअर्कामा समन्वय नहुँदा असहज सृजना हुने हो, त्यो कति कुरा हामीले भोगिसकेका छौँ। समन्वय र सहकार्य हरेक कुरामा स्थानीय तह भनेको पनि समन्वय गर्ने ठाउँ हो। यो पक्ष, प्रतिपक्ष भन्ने परिकल्पना स्थानीय तहमा गरिएको छैन र महिला भएकै कारणले मैले अन्याय भोगेकी अथवा असहयोग पाएकी भने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.