|

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १९ दिन मात्र बाँकी छ। विभिन्न राजनीतिक दलले स्थानीय तहहरुमा पाटीका तर्फबाट प्रतिस्पर्धामा उत्रिने धमाधम उम्मेदवार छनोट गरिरहेका छन्।

स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्। कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। 

यता एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) नेपाल, परिवार दलसँग सत्ता गठबन्धनविरुद्ध चुनावी तालमेल गरेको छ। सत्ता गठबन्धन र विपक्षी गठबन्धन आसन्न निर्वाचनको नतिजा आ–आफ्नो पक्षमा पार्न तल्लिन भएर लागेका छन्। 

 एमालेको शनिबार बसेको बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा पूर्व मिस नेवा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ। डंगोल यस अघि कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध थिइनन्।  

मेयरको दाबी गरिरहेकी डंगोल फेरि किन नेकपा एमालेबाट उम्मेदवार बनिन्? जितको आधार के के छन्? र उनका आगामी योजनालगायत विषयमा थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको गरेको कुराकानी:

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखमा उम्मेदवार बन्नु भएको छ, तयारी कस्तो छ? 

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ। जसमा मैले महानगरपालिकाको उपमेयरको उम्मेदवारी पाएकी छु। यहाँसम्म आउनका लागि विभिन्न चरणमा तयारी गरिएको थियो। अब चुनाव नजिकिँदै छ। जसका लागि हामी विभिन्न चरणमा तयारीमा लागेका छौं। अझ मेरो व्यक्तिगत कुरा गर्नुपर्दा बलियो भएर अगाडि बढ्ने कोसिस गरिरहेकी छु।

हामी यतिबेला चुनावी मैदानमा रहेकाले तयारी धेरै गर्नुपर्ने अवस्था छ। युवा नेतृत्वको प्रतिनिधित्व गर्दै अगाडि बढ्नेछु। मेयरका लागि घोषणा गर्दा आम जनताले देखाउनु भएको माया र सद्भावना समेट्दै निर्वाचनको तयारीमा लागेकी छु। काठमाडौंप्रतिको मेरो जिम्मेवारी अझ बढेको छ। जसलाई सुरक्षित, व्यवस्थित बनाउने मेरो जिम्मेवारी थपिएको छ। 

राजनीतिमा प्रवेश गर्ने सोच कसरी आयो अर्थात राजनीतिमा प्रवेश गर्ने प्रेरणा कसरी पाउनु भयो?

काठमाडौंवासीको माया, साथ र सहयोग पाइरहँदा मैले भन्नु नै पर्छ यो मेरो राजनीतिको पहिलो खुड्किला हो। धेरै पहिलादेखि नै म राजनीतिक आस्था बोकेको  मान्छे हुँ। तर कुनै पाटीमार्फत देखिएको थिइनँ। मेयरका लागि घोषणा गर्दा काठमाडौंवासीको साथ सहयोग पाएँ। त्यसैले राजनीतिमा प्रवेश गरेकी हुँ। काठमाडौंप्रति अझै धेरै दायित्व महसुस गरेकी छु। 

केही समयअगाडि काठमाडौं महानगरपालिकाको  मेयरमा स्वतन्त्रबाट उठ्ने भन्दै घोषणापत्र  नै सार्वजनिक गर्नु भएको थियो। फेरि एमाले प्रवेश गर्नु भयो नि? 

मेयरको उम्मेदवार दिँदादेखि नै स्वतन्त्र उमेदवार हुँ भनेको थिइनँ। कुनै न कुनै पार्टीसँग आबद्ध भएर आउने बताएकी थिएँ। जसमा मेरो सोच भावनामा मिल्ने पार्टी एमाले प्रवेश गरेँ। मैले मेयरमा घोषणा गर्दै गर्दा आम नेपालीको साथ र सहयोग पाएकी थिएँ। एक्लैभन्दा पनि कुनै पार्टीबाट एजेण्डाअगाडि सार्दा राम्रो प्रभावकारी हुने देखेकी थिएँ। जसका लागि  सानादेखि ठूला सबै दलसँग छलफल भइरहेको थियो।

युवाको आवाज समेट्ने, साँस्कृतिक सामाजिक अभियन्ताको आवाज बुझ्दै दलहरूसँग सहकार्य गर्न सकिन्छ है भन्दै अगाडि बढेको हो। त्यही दौरानमा विज्ञताको कदर गर्ने र युवाको आवाज समेट्ने ‘सुखी नेपाल समृद्ध नेपाली’ नाराको साथमा एमालेबाट आएकी हुँ। सम्पूर्ण नेपाली युवाको प्रतिनिधित्व गर्नका लागि अगाडि आएकी हुँ।

के के छन् तपाईंका चुनावी एजेण्डा?

चुनावी एजेण्डा चुनावमा जनताको भोट बटुल्ने खालको मात्र हुने गरेको अथवा बाचा पूरा नभएको सुनिन्छ। तर मेरो चुनावी एजेण्डा त्यसरी बाटोमा नै हराउने या पूरा गर्न नसकिने बाचा जनतासामु गर्दिनँ। जनतासामु जति बोल्छु त्यति नै काम गरेर देखाउँछु। 

अल्पकालीन तथा दीर्घकालीन योजना अगाडि सारेकी छु। स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्टका साथै काठमाडौंलाई साँच्चिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन प्रतिबद्धता गरेर अगाडि बढ्नेछु। 

काठमाडौंलाई सुरक्षित‚ व्यवस्थित र युवाको प्रतिनिधित्व बनाउन नै हो म अघि बढेकी। मैले अगाडि सारेका एजेण्डा पाटीको घोषणा पत्रमा समेटिएको छ। जसलाई कार्यान्वयन गरी काठमाडौंलाई सुरक्षित‚ विकसित साथै सास्कृतिक नगरको रुपमा विकास गर्ने योजना छ।  

काठमाडौंको उपमेयरमा तपाईंको जितको आधार के छ? 

मैदानमा उत्रिएपछि जित हार भन्ने कुरा सामान्य विषय हो। यो मतदाताले दिने साथ सहयोगमा भर पर्छ। जनताले यतिवेला भिजन भएको युवा नेतृत्वको खोजी गरिरहेका छन्। नसक्ने काम गर्छु भन्ने घोषणा मैले गरेकी छैन‚ जति बोल्छु त्यति काम नै गरेर देखाउँछु। त्यसकारण पनि युवा नेतृत्वले जित्ने देखिन्छ।

अर्कातिर गौरवशाली पार्टी एमालेले हालसम्म गरेका कामहरू पनि  उपलब्धिमूलक छन्। यदि मलाई आम जनताले विश्वास गर्नु भयो भने जित्न सक्छु। जनता नै  मेरो जितको आधार हो। 

हाल काठमाडौं महानगरपालिकामा उपप्रमुखको भूमिकालाई कसरी हेर्नु भएको छ? 

यतिवेला काठमाडौं महानगरपालिकामा धेरै काम भएका छन्।  के भयो  के भएन भन्ने अर्थात टीका टिप्पणी  गर्नु उचित हुँदैन। काम भएको छ। जसलाई अझ काम गरेर देखाउनका लागि सक्षम युवा अगाडि बढ्नुपर्छ। काम गर्नका लागि म अगाडि सरेकी छु। जनताले साथ दिएको खण्डमा हिजो के भयो आज के भयो सो मूल्यांकन जनताले नै गर्ने अवसर पाउनु हुनेछ। 

अन्त्यमा हेरेर पार्टीले युवालाई अगाडि बढाइने कुरा गरिरहे पनि व्यावहारिक हुन सकेको थिएन। सो विषय कार्यान्वयन गर्नका लागि एउटै मात्र पार्टी एमालेले सो आवाज उठाएको छ। व्यक्ति विशेषका लागि नभइ हरेक युवा, महिला, अभियन्ताका लागि यो अवसर हो। सूर्य चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.