|

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ।

कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजन भएको हो। विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि कांग्रेस र नेपाली कांग्रेस (बिपी) ले डडेल्धुरामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्ने भएका छन्।

कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुरा जिल्लाको प्रदेश (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पक्ष नेपाली कांग्रेस (बिपी) बाट स्थानीय तहमा उम्मेदवारी दिने तयारीमा जुटेको हो। कांग्रेस सभापति देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू कांग्रेस बिपीबाट स्थानीय तहको निर्वाचनमा जानुपरेको विद्यार्थी नेता तेजराज भट्टले बताए।

‘नेपाली कांग्रेसबाट उम्मेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रीय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरू नेपाली कांग्रेस बिपीबाट चुनावी मैदानमा जाने तयारी गरेको छौँ,’ महिला नेतृ कमला बिष्ट भनिन्। जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको कांग्रेस (बिपी)का जिल्ला संयोजक तिलक हमालले जानकारी दिए।

देशभरि गठबन्धनमा रहेका दलहरूले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरेपश्चात कांग्रेस फुटेर कांग्रेस (बिपी)बाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरामा कांग्रेसलाई साख जोगाउन मुस्किल पर्ने देखिन्छ।

यसअघि नै डडेल्धुरामा २०७८ फागुन ४ गते नेपाली कांग्रेस बिपीको संगठन निर्माण भएको थियो। ​पहिलैदेखि रुष्ट बनेको पूर्व जिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले एमालेसँग गठबन्धन गरेको हो।

एमालेसँग चुनावी तालमेल

आइतबार भएको दुईपक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णयसँगै भागबन्डा पनि गरेको छ। जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा बिपी कांग्रेसबाट हरिप्रसाद भट्ट नगर प्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन्।

परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुख बिपी कांग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ। यस्तै, आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेलाई दिने निर्णय भएको छ।

भागेश्वर गाउँपालिकाको अध्यक्ष भने एमालेलाई र उपाध्यक्ष बिपी कांग्रेसलाई दिइने भएको छ। अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र बिपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा बिपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेबाट लड्ने सहमति भएको छ।

उता गन्यापधुरामा बिपी कांग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली कांग्रेस बिपीका जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका छन्।

यसअघि मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिँदै आएका थिए। आफ्ना माग सुनुवाई नभएपछि कांग्रेस परित्याग गरी नेपाली कांग्रेस बिपीमा प्रवेश गरेको एक नेताले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.