|

डडेल्धुरा : नेकपा माओवादी केन्द्र डडेल्धुराले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। माओवादी केन्द्रले आइतबार २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेवारी चयन टुंग्याएको हो।

माओवादीले परशुराम नगरपालिकाको प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महतालाई उम्मेदवार बनाएको छ। माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्षसमेत हुन्।

उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५ सय ४५ मतले पराजित भएका थिए। साउदले ४ हजार ६ सय २९ र मालले ४ हजार ८४ मत ल्याएका थिए।

माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ। भागेश्वर गाउँपालिका अध्यक्षको उम्मेदवार विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ ले जानकारी दिए।

उनका अनुसार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा शशी अवस्थीलाई उम्मेदवार बनाइएको छ। अजमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले पहिलेकै दोहोर्‍याएको छ।

माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा भट्ट र भाडा अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए।

माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्ष पदका लागि धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुंग्ल्याएको छैन।

सबै उम्मेदवारले भोलि (सोमबार) मनोनयन दर्ता गराउने जिल्ला संयोजक भट्टले जानकारी दिए। यसअघिको स्थानीय तह निर्वाचनमा माओवादीले ७ तहमध्ये एउटा स्थानीय तह जितेको थियो। जिल्लामा रहेका ५२ वडामध्ये १६ वडाध्यक्षमा माओवादी विजयी भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.