|

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १८ दिन मात्र बाँकी छ। विभिन्न राजनीतिक दलले स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिस्पर्धामा उत्रिन धमाधम उम्मेदवार छनोट गरिरहेका छन्।

स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्। कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। विभिन्न दलले आफ्नो उम्मेदवार दर्ता गरिरहेका छन्। 

चुनाव नजिकिँदै गर्दा राजनीतिक दलबीच कसलाई जिताउने भन्ने हाेड चलेको छ। तर कतिपय यस्ता व्यक्ति पनि छन् जो  कुनै राजनीतिक दलमा आबद्ध नभएर स्वतन्त्र रुपमा ५० वर्षदेखि निरन्तर वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। 

ललितपुर महानगरपालिका–१० का वडाध्यक्ष नर्सिङ व्यञ्जनकार जसले २०२९ सालदेखि वडाध्यक्षको जिम्मेवारी निरन्तर सम्हालीरहेका छन्। ८२ वर्षीय व्यञ्जनकारले ११ औं पटक उम्मेदवारी दर्ता गराएका छन्। उनीसँग आगामी योजना हालसम्म भएका कामका विषयमा थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानीः 

ललितपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षका रुपमा ५० वर्ष बिताउनु भयाे‚ तपाईंका अनुभव बताइदिनुस् न! 

ललितपुर महानगरपालिका १० नम्बर वडाको जिम्मेवारी सम्हालेको ५० वर्ष पुग्यो। २०२९ सालदेखि हालसम्म वडाध्यक्षको रूपमा निर्वाचित भएको छु। हाल पनि ११ औं पटक वडाध्यक्षका लागि उम्मेदवारी दिएको छु।

शुरुवाती दिनदेखि हालसम्म वडाध्यक्षका रुपमा काम गर्न पाउँदा खुशी छु। मलाई जनताले रुचाएका छन्। जनताको काम गर्न पाउँदा म पनि ज्यादै सन्तुष्ट छु। आधा शताब्दी वडाको नेतृत्व सम्हालीसकेँ।

मैले जनताका लागि गरेका कामबाट वडावासी पनि खुसी छन्। अनुभव त धेरै भयो। ५० वर्ष गरेको कामलाई बताउन त सकिँदैन तर समग्रमा राम्रो काम भएको छ। जसकारण जनताले मलाई रुचाएका छन्। 

पहिले र अहिले के फरक पाउनु भएको छ?  

आजभन्दा ५० वर्ष अगाडि र अहिलेको कुरा गर्दा आकाश पातालको फरक छ। हिजो कुनै प्रविधिको विकास भएको थिएन। अहिले प्रविधिले फड्को मारिसकेको छ। धेरै काम अनलाइनबाट गर्न सकिन्छ।

आफ्नो काम गर्नका लागि वडा कार्यालय वा जनप्रतिनिधिको घर-घर धाउनुपर्ने अवस्था छैन। काम गर्ने तरिकामा पनि फरक भएको छ। यसरी भन्नु पर्दा सबै कुरा परिवर्तन भइसकेको छ।

१० पटकसम्म वडाध्यक्ष हुन कसरी सम्भव भयो? 

मबाहेक अरु कोही पनि यति लामो समयसम्म वडाध्यक्ष बनेको मैले पनि सुनेको छैन।  लामो कार्यकाल वडाको जिम्मेवारी सम्हाले त्यसमा म खुशी छु। जनताको चाहनाअनुसार नै आएको हुँ। मैले गरेको काम चित्त बुझेर नै फेरि पनि उठ्न सबैले भन्नु भएको हो। जनताको चाहना र मेरो लगनशीलताले यो सम्भव भयो।

स्वतन्त्र रुपमा उठ्नु भएको छ नि किन? 

हो‚ यति लामो कार्यकाल बिताए पनि म स्वतन्त्र नै उठेको  छु। कुनै पनि पार्टीसँग आबद्ध भएर काम गर्ने रहर पनि लागेन। काम गर्नका लागि कुनै पार्टीबाट नै जानु पर्छ भन्ने पनि छैन। काम गर्न नसक्ने ठाउँमा गएर के काम !

कुनै पार्टीमा नलाग्दा पनि जनताको काम गर्न पाएँ। आउने चुनाव जितेँ भने त यति लामो समयसम्म वडाको नेतृत्व गर्ने म नै हो। यदि यो चुनाव पनि जितेँ भने अब त मेरो नाम गिनिज बुकमा नै लेख्न मिल्छ भन्ने सुनेको छु।

फेरि पनि पक्का जित्नु हुन्छ त? 

हो‚ अहिले पनि वडाध्यक्षमा जित्ने पक्का छ। किनभने मलाई वडा अध्यक्षमा उठ्नका लागि जनता अर्थात् वडावासीले प्रोत्साहित गरेका छन्। यसअगाडि भएका कामको मूल्यांकनका आधारमा पनि जनताले मत दिने हो। मलाई लाग्छ‚ फेरि पनि जनताले मलाई नै चुन्नु हुन्छ त्यसमा म ढुक्क छु। 

अब वडाध्यक्ष बनेर आफ्नो वडालाई कस्तो बनाउने सोच्नु भएको छ? 

यो पटक काठमाडौंबाट ललितपुर जाँदा नाक थुनेर जानुपर्ने अवस्था छ। अब वडा अध्यक्ष भएँ फोहोर व्यवस्थापनको काम गर्ने छु। हाल युएन पार्कदेखि टेकुसम्म नै वडा नम्बर १० पर्छ। उक्त वडा ललितपुर र काठमाडौँ जिल्लाको सिमानामा छ।

सीमा छुट्याउने बागमतीमा पानीसँग फोहोर र ढल मिसिएकाले यो कार्यकालमा म त्यो फोहोर सफा गर्न चाहन्छु। यो चुनाव सकिएपछि फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायले काम गरेन भने आन्दोलन गर्ने हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.