|
सुशील ज्ञवाली

काठमाडाैं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत डा. सुशील ज्ञवालीले नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका निजी आवास तथा सम्पदाहरूलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्।

सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्र विगत ५ सय वर्षदेखि भूकम्प नगएको र त्यहाँ भूकम्पको इनर्जी जम्मा भएर बसिरहेकाले बेलैमा सतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले त्यहाँ रहेका निजी आवासहरूलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रबलीकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताए।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ बनेका सम्पदाहरू पुरानो र प्रविधिबिना बनेका भएकोले धेरै क्षति हुने अनुमान लगाउन सकिने बताए।

उनले बेलैमा प्राकृतिक विपद् बाट बच्न सरकारले सुरक्षित आवास कार्यक्रम बनाएर उक्त क्षेत्रमा काम गर्न आवश्यक रहेको स्पष्ट पारेका छन्।

उनले आगलागीको घटनाबाट बच्न खरका छाना हटाउने र प्रबलीकरण गरेर घर बलियो बनाउने कुरा कार्यान्वयन गर्न आवश्यक रहेको जानकारी दिए।

उनले मध्यपश्चिम र सुदूरपश्चिमका क्षेत्रहरु बाढी, पहिरो लगायतको बहुप्रकोपीय जोखिममा रहेकाले त्यसबाट पनि बच्ने गरेर सरकारले कदम चाल्नुपर्नेमा जोड दिए । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.