|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि १७ र उपमेयरका लागि १० जनाले उम्मेदवारी दिएका छन्। राजनीतिक दलका तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।​ ​उपमेयरमा राजनीतिक दलका तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार छन्। 

सत्तारूढ गठबन्धनका तर्फबाट मेयरका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रिताकुमारी मिश्रले उम्मेदवारी दिएका छन्। नेकपा एमालेका तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस छाडेर आजै एमाले प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन्।

करिब ५ दिन अगाडि एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि आजै एमाले त्यागेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको समूहबाट उपमेयरमा  सरोजकुमार मिश्रले मनोनयन दर्ता गराएका हुन्।

नेपाल जनता पार्टीबाट मेयरमा मुरलीमनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेयले उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट मेयरमा अनितादेवी साह र उपमेयरमा संतोषकुमार साहले मनोनयन दर्ता गराएका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र इश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। जनकपुरधामको मेयरमै नेकपा मालेबाट गीताकुमारी मण्डलले उम्मेदवारी दिएकी छन्।

मेयरमै स्वतन्त्रतर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिरकुमार महतोको उम्मेदवारी परेको छ।

यसअघि एमालेले मेयरको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मलकुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दल दर्ता भएका छन्।

यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन्। यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३ सय २७ मतदानस्थल र ५ सय ४८ मतदान केन्द्र थिए।

यसपटक मतदानस्थल घटेर ३ सय २३ भएका छन् भने मतदान केन्द्र बढेर ५ सय ९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिएका छन्। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३ सय २८ जना मतदाता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.