|

बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा सोमबार विभिन्न दलहरुकाे मनोनयन दर्ता भएको छ।

यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै मित्रवत प्रतिस्पर्धा गर्ने गरेर मनोनयन गरेका हुन्।

नेकपा एमाले पनि राप्रपासँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ।

नेपाली कांग्रेसले जिल्लाका सबै  १० वटा स्थानीय तहमा आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ। कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्र सिंह रावल र उपमेयरमा कौशिला चन्दको उम्मेदवारी दर्ता भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

यो नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसका उम्मेदवारले जीत हाँसिल गरेका थिए।

जिल्लाको पाटन नगरपालिकाको मेयरमा गौरीसिंह रावलको उम्मेदवारी दर्ता भएको छ।

यो पालिकामा कांग्रेससँग चुनावी तालमेल गरेको माओवादीकाे भागमा उपमेयर परेको छ। 

यस्तै मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती बिष्टको मनोनयन दर्ता भएको छ।

जिल्लाको पुर्चौंडी नगरपालिकाको मेयरमा दीपक बहादुर बम र उपमेयरमा मीना धानुकको उम्मेदवारी दर्ता भएको छ।

यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहराको उम्मेदवारी दर्ता भएको कार्यालय सचिव बिष्टले बताए।

जिल्लाको शिवनाथ गाउँपालिकामा कर्णसिंह साउँदको उम्मेदवारी दर्ता भएको छ। उपाध्यक्ष भने माओवादीको भागमा परेको छ।

यसैगरी पञ्चेश्वरको गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष एकीकृत समाजवादीको भागमा परेको छ।

यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीको मनोनयन दर्ता भएको छ भने उपाध्यक्ष माओवादीको भागमा परेको छ। 

डिलाशैनी गाउँपालिकाको उपाध्यक्षमा भगीरथ बोहराको उम्मेदवारी दर्ता भएको छ भने अध्यक्ष माओवादीको भागमा परेको छ।

जिल्लाको सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐरको उम्मेदवारी दर्ता भएको छ।

यो पालिकामा धामीले गएको स्थानीय तहको निर्वाचनमा विजय हाँसिल गरेका थिए।

उपाध्यक्षमा पनि कांग्रेसले नै जितेको थियो।

नेकपा एमालेले पनि सबै पालिकामा उम्मेदवारी दर्ता गराएको जनाएको छ।

उपसचिव लोकेन्द्र भण्डारीका अनुसार  डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी  दर्ता भएको छ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा पुष्करराज जोशी र उपमेयर सरस्वती नेपालीको उम्मेदवारी दर्ता भएको छ।

जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्।

यस्तै जिल्लाको पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उपमेयरमा हरु भट्टको उम्मेदवारी दर्ता भएको छ।

मेलौली नगरपालिकाको मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छ।

यस्तै पुरचौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुँवर र उपमेयरमा जानकी साउदले उम्मेदवारी दर्ता गराएका छन्।

सिगास गाउँपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन्। शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदले एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन्।

सुर्नया गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि अम्मर बहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।

सुर्नयामा एमालेले राप्रपासँग तालमेल गरेको छ। उसलाई उपाध्यक्ष पद दिइएको छ।

दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

दुवैले गएको स्थानीय तहको चुनावमा पनि दोगडाकेदार बाट जितेका थिए।

पञ्चेश्वर गाउँपालिकामा गोरख बहादुर चन्द र बीना भट्टले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुले पनि गएको स्थानीय तहको चुनावमा जीत हाँसिल गरेका थिए।

माओवादी केन्द्रले पनि जिल्लाको पुर्चौंडी र मेलौलीमा माओवादी एक्लै चुनावी मैदानमा उत्रेको छ।

पुर्चौंडीको मेयरमा विक्रम कुँवर (प्रतीक) र उपमेयरमा नन्दा शाहको उम्मेदवारी दर्ता भएको छ।

यस्तै मेलौलीको मेयरमा भीमबहादुर चन्द (भूकम्प) र उपमेयरमा मनिषा दयालको उम्मेदवारी दर्ता भएको छ।

माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीका अनुसार जिल्लाको दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको माओवादीले मेयरमा प्रेम सिंह थापाको मनोनयन दर्ता गराएको छ।

यस्तै पाटनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले उपमेयरमा कमलसिंह बोहराको मनोनयन दर्ता गराएको छ।

शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउँद, दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम) र सुर्नयाको उपाध्यक्षमा दिलाराम भट्टकाे उम्मेदवारी दर्ता गराएको छ।

यस्तै डिलाशैनीको अध्यक्षमा लोकेन्द्र राना (शितल)को उम्मेदवारी दर्ता भएको छ। जिल्लाको सिगास गाउँपालिकाको अध्यक्ष राजेन्द्र साउँद र उपाध्यक्षमा लक्ष्मी चन्दको उम्मेदवारी दर्ता भएको छ।

चन्द एमालेबाट असन्तुष्ट बनेर माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.