|

म्याग्दी : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पाँचवटा स्थानीय तहमा चुनावी तालमेल हुन नसकेपछि म्याग्दीमा सोमबार (आज) कांग्रेस र माओवादी (केन्द्र)ले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार अन्तिम समयसम्म दुई दलका नेताहरू बैठक बसेर चुनावी तालमेलका विषयमा छलफल गर्दा पनि भागबण्डा नमिलेपछि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी (केन्द्र) एक्ला एक्लै निर्वाचनमा जाने गरी उम्मेदवारी दर्ता गराएका हुन्। एक नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको म्याग्दीमा धवलागिरि गाउँपालिकाबाहेक अन्य ५ वटा स्थानीय तहमा चुनावी तालमेल हुन नसकेको हो।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा भने कांग्रेस र माओवादीकाबीच चुनावी तालमेल भएको छ। बेनी नगरपालिकाको मेयर उपमेयरमा तालमेल नभए पनि १, २, ६, ८ र ९ नम्बर वडामा भने गठबन्धन भएको छ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा माओवादीले २ वडा सदस्य लिएर तालमेल गरेको छ। मंगला गाउँपालिकामा सहमतिको प्रयास भए पनि अन्तिम समयमा कुरा नमिल्दा माओवादीले अध्यक्षमा टेकबहादुर विक र उपाध्यक्षमा सुकमाया रोकालाई उठाएको नेकपा माओवादी केन्द्रले जनाएको छ।

आज अपरान्ह मनोनयन दर्ता गराउन जिल्ला समन्वय समितिमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सबैभन्दा पहिला नेपाली कांग्रेस पुगेको थियो। कांग्रेसको तर्फबाट बेनी नगरपालिकाको प्रमुखमा चिरञ्जीवी शर्मा र उपप्रमुखमा अमृतदेवी बानियाँले मनोनयन दर्ता गराएका छन्।

नेकपा एमालेले अन्तिम समयमा दिउँसो साढे २ बजेपछि मात्र उम्मेदवारको टुंगो लगाएको थियो। नेकपा एमालेको तर्फबाट बेनी नगरको प्रमुखमा सुरत केसी र उपप्रमुखमा  पशुपति शाहीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेकपा माओवादीको तर्फबाट प्रमुखमा धनीलाल जैसी र उपप्रमुखमा ज्योति लामिछानेले मनोनयन दर्ता गराएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट अध्यक्षमा कृष्णबहादुर विश्वकर्मा र उपाध्यक्षमा मुना बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। बेनी नगरपालिकाको वडा नं ७ मा २ जना स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा मिनाकुमारी शर्मा सापकोटा र उपमेयरमा एकेन्द्रबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन्।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट श्रीप्रसाद रोका र उपाध्यक्षमा पिपला बूढाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट अध्यक्षमा बेगप्रसाद पुन र उपाध्यक्षमा लक्ष्मीदेवी पुनले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा सुविन जुग्जाली र उपाध्यक्षमा गौरी सेन्चुरीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मालिका गाउँपालिकाले जनाएको छ।

रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट अध्यक्षमा प्रेमबहादुर कार्की र उपाध्यक्षमा यामकुमारी पुनले उम्मेदवारी दर्ता गराएका छन्। 

नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा मिना बिक र उपाध्यक्षमा रिम कटुवालले उम्मेदवारी दर्ता गराएका छन्। रघुगंगामा अध्यक्ष,उपाध्यक्ष र वडाअध्यक्ष पदका लागि ३ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मंगला गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा विरेन्द्र बूढाथोकी र उपाध्यक्षमा शर्मिला थापाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा टेकबहादुर विक र उपाध्यक्षमा सुकमाया रोकाले उम्मेदवारी दर्ता  गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उता अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा क्या.बलबहादुर तिलिजा र उपाध्यक्षमा  ललिता तिलिजा पुन, नेकपा एमालेको तर्फबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनले उम्मेदवारी दर्ता गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.