|

म्याग्दी : मध्य वैशाखको समय जिल्लाका ग्रामीण भेगका किसानलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामको चटारो छ। उनीहरू धानको बिउ राख्ने, मकै गोड्ने, गहुँ–जौ थन्काउने र आलु लगाउने लगायत काममा व्यस्त छन्।

किसान व्यस्त रहेर गाउँमा आयोजित चुनावी सभामा नआएपछि स्थानीय तहका उम्मेदवार खेतबारीमै पुगेर मतदातासँग भोट माग्न थालेका छन्। उम्मेदवारहरूलाई कसरी मत आफ्नो पक्षमा पार्ने भन्ने चिन्ता छ। 

चुनावी माहोलबाट पर रहेका किसान भने आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना रहेको बताउँछन्। मालिका गाउँपालिका ५ देवीस्थानका टेकबहादुर बूढालाई निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्ने चिन्ता छ। ‘जसले जिते पनि गाउँको विकास गर्ने होइनन्। सत्तामा पुग्न अनेक नारा बोकेर चुनावका वेला गाउँ आउँछन्’, उनी भन्छन्, ‘हामी त किसान। आफ्नो काम गर्‍यो, बस्यो।’

बेनी नगरपालिका २ का टेकबहादुर कार्की निर्वाचनको माहोलमा लागे वर्षभरि खाने अन्नपात नै प्रभावित हुने र हातमुख जोर्नै समस्या हुने बताउँछन्। मंगला गाउँपालिका ४ की राधिका सापकोटा पनि पुरानै उम्मेदवार, पुरानै योजना, पुरानै नेता भएकाले निर्वाचनको गतिविधिले आफूलाई नछोएको बताउँछिन्। 

बेनी नगरपालिका- ५ पुरण्य गाउँमा पिउने पानी र विद्युत् विस्तार गर्ने कुरा ०७४ कै निर्वाचनमा उठाइए पनि समस्या जस्ताको तस्तै छ । ‘पहिलेका चुनाव अघि गरेका प्रतिवद्धता जनप्रतिनिधिले सबै बिर्सिए’, स्थानीय तुलबहादुर परियारले भने ‘नगरपालिकामा बसेर पनि सहज रूपमा पानी पाइँदैन।  बिजुली बाल्न पाइएको छैन। केटाकेटीलाई पढाउन सहज छैन।’  यस्ता समस्या भोग्दै बस्नुपरेका कारण चुनावप्रति चासो नरहेको उनको भनाइ छ।

म्याग्दीको बेनी नगरपालिका-२ का डोलेन्द्र शर्मालाई भने कामको सिजन सुरु भए पनि छिटो काम सकेर चुनावी कार्यक्रममा जाने र नेताका कुरा सुन्ने धोको छ। 
‘स्थानीय निर्वाचनमा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ’ उनले भने ‘हामीलाई भने नयाँ बाली लगाउने र लगाएको बाली थन्क्याउने  चटारो छ ।’​​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.