|

हेटौँडा : चितवनको भरतपुर महानगरपालिकामा स्थानीय तहको निर्वाचन पेचिलो बन्ने देखिएको छ। नेपाली काँग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएसँगै भरतपुरको  निर्वाचन रोमाञ्चक बन्ने देखिएको हो।

सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो। त्यसैअनुरूप सोमवार माआवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गराइसकेकी छिन्। यो सहमतिको विपक्षमा रहेका कांग्रेस नेता पौडेलले गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिएका हुन्। २०४९ सालको चुनावमा नेपाली कांग्रेसबाट भरतपुरको उपमेयरमा बनेका पौडेल राष्ट्रियसभाका सांसद भइसकेका व्यक्ति हुन्।

नेता पौडेलले भरतपुरको चौबिस कोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर सोमबार मनोनयन दर्ता गराए। उनको प्रस्तावकमा काँग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा काँग्रेस महासमिति सदस्य मीना खरेल छन्।

भरतपुरमा बागी उम्मेदवार उठ्दा गठबन्धनकी साझा उम्मेदवार दाहाललाई चुनौती थपिएको छ भने एमालेले राहतको महशुस गरेको छ। यसै सन्दर्भमा थाहाकर्मी श्रीजना नेपालले भरतपुरको मेयरका बागी उम्मेदवार पौडेलसँग गरेको कुराकानी–

पाँचदलीय गठबन्धनको सहमतिविरुद्ध भरतपुर महानगरपालिकामा तपाईँले किन उम्मेदारी दिनुभयो?

पाँचदलीय गठबन्धनप्रति मेरो नीतिगत सैद्वान्तिक कुरामा विमति छ। पहिला त गठबन्धनले लोकतन्त्रलाई अगाडि बढाउँदैन भन्ने मलाई लाग्छ। अर्को कुरा नेपालमा गठबन्धनको राजनीति सफल भएको  छैन। कम्युनिष्ट–कम्युनिष्टबीच भएको गठबन्धन पनि चलेन। कम्युनिष्टकै एकता त कायम हुन सकेन भने विचार, दृष्टिकोण र घोषणापत्र सबै फरक भएको ठाउँमा गठबन्धन कसरी स्वस्थ  हुन सक्छ?

गठबन्धनले अर्को एउटा के समस्या खडा गरेको छ भने कांग्रेसले जहाँ–जहाँ जित्ने हो त्यहाँ अर्को पार्टीलाई दिनुपरेको छ। नेकपा एमालेबाट फुटेर गएको समाजवादीलाई पोखरामा मेयर दिनु कतिको उपयुक्त छ? त्यसको त्यहाँ राजनीतिक सामर्थ्य के छ? अब त्यहाँ कांग्रेसको मान्छेले कसरी राजनीति गर्छन्? यसरी माथिका नेताहरूले आफ्नो अनुकुलको निम्ति निर्णय गरेर तलको मान्छेलाई लादेर राजनीति फस्टाउँछ? लोकतन्त्र फस्टाउँछ? त्यो कुनै स्वस्थ बाटो भएन। त्यसैले यो बाटो चुनौतीपूर्ण छ। चुनौतीको सामना कसै न  कसैले त गर्नैपर्‍यो। त्यो जिम्मा मैले लिएको हो।

असन्तुष्टि प्रकट गर्न मात्रै उम्मेदवारी दिनुभएको त होइन?

होइन। हिजो त यहाँ मानव सागर उर्लिएको थियो। औपचारिक उम्मेदवारको पछाडि मान्छे थिएनन्। साराका सारा साथीहरू, कार्यकर्ता, नेता, नागरिक समाजका व्यक्तिहरू, बुद्विजीवीहरू मेरै पछाडि थिए। जनमत कांग्रेसकै पक्षमा, मेरै पक्षमा छ। त्यसैले जित्नेमा पूर्ण आशावादी छु।

तपाईँकै पार्टीले तपाईलाई मत नहाल्नु रेनु दाहाललाई हाल्नु भनेर ह्विप जारी गर्‍यो भने त सबै उतै जालान् नि!

पार्टीले ह्विप त अगाडि पनि जारी गरेकै हो। त्यस्तो हो भने त मैले उम्मेदवारी दर्ता नै नगरेको भए हुन्थ्यो होला। मलाई कुनै पद चाहिएर  वा शर्त राखेर ‘बार्गेनिङ’ गर्न यो सबै गरेको होइन। मलाई चिन्ने मान्छेले म त्यो बाटोबाट जान्छु भनेर मान्छेले अनुमान पनि गर्दैनन्। त्यसैले सिद्वान्तको पछि लाग्नेहरू त्यतापट्टि लाग्दैनन्।

तपाईँका कारण तपाईँ आफैँ र गठबन्धन दुवैको हार भयो भने त एमालेले अवसर पाउला नि!

निर्वाचनमा उठ्न पाउने मेरो मौलिक अधिकारको कुरा हो। जनताले मलाई मत हाल्न  पाउने कुरा हो। मैले हार हुँदा सहनुपर्ने। अरुले सहन नपर्ने!

यसको अर्थ तपाईँ रेनु दाहाललाई हराउन उठ्नु भएको?

म नेपाली कांग्रेस पार्टी र लोकतन्त्र बचाउन उठेको हो।

एमालेले प्रतिगामी कदम चाल्यो भनेर बनेको गठबन्धनले नै एमालेलाई जित्ने अवसर दिने भयो होइन त?

एमाले १०० प्रतिशत प्रतिगमनमा हिँड्यो। तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद्  विघटन गरेको हो। संसद् भंग गरे पनि त संवैधानिक निकायहरू छन्। सर्वोच्च अदालतले त्यसलाई ‘करेक्सन’ त गर् यो नि। सरकारले गल्ती गर्न सक्छ। त्यसको करेक्सन हुन्छ। करेक्सन  गर्ने ठाउँ पनि हुन्छ। त्यो करेक्सन गर्ने ठाउँ भएको विषयलाई नीतिगत सैद्वान्तिक भनेर हुन्छ र! एमालेलाई प्रतिगामी भनेर के गर्ने? एमालेको सामना गर्न नसकेर गठबन्धनमा जाने किन भनेको?

एमालेले प्रतिगमनको बाटो समातेको वा संविधानविरुद्धको कदम चालेको भए ऊ स्वतः कमजोर भएकै थियो नि। कांग्रेसले किन कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्नुपर् यो? एकातिर एमाले प्रतिगमनकारी हो भन्ने। संविधानको रक्षाको निमित्त भनेर नारा दिने। एमालेलाई हराउनु पर्‍यो भनेर घोषणा गर्ने। अनि अप्राकृतिक गठबन्धन गर्ने? यी कुरा आफ्नो  राजनीतिक उद्देश्य पूरा गर्न मात्रै हो।

स्थानीय तहको निनर्वाचनमा गठबन्धन आवश्यक थिएन भन्न खोज्नु  भएको हो?

प्रतिगमनकारी कदम छ भने त्यो कदम सच्याउने हो। प्रतिगामीको विरुद्ध संगठित हुने  हो। तर, अर्कोलाई प्रतिगामी भन्नेले आफैँ प्रतिगमनको बाटो हिँड्न भएन नि। कम्युनिष्ट–कम्युनिष्टबीच नटिकेको गठबन्धन कांग्रेस र कम्युनिष्टबीच कसरी टिक्छ?

प्रतिगमनकारी कदम छ भने त्यो कदम सच्याउने हो। प्रतिगामीको विरुद्ध संगठित हुने  हो। तर, अर्कोलाई प्रतिगामी भन्नेले आफैँ प्रतिगमनको बाटो हिँड्न भएन नि। कम्युनिष्ट–कम्युनिष्टबीच नटिकेको गठबन्धन कांग्रेस र कम्युनिष्टबीच कसरी टिक्छ?

भागवण्डा नटुंगिदासम्म भरतपुर कांग्रेसले पाउनुपर्छ भन्नेहरू नै अहिले दुई ध्रुवमा विभाजित भएका छन्। एक पक्षले त केन्द्रको निर्णय स्वीकारिसकेको अवस्था छ नि!

केहीले स्वीकार पनि गरेका छन्। त्यो आफ्नो ठाउँमा छ। म एउटा सचेत नागरिकको हिसाबले मेरो ब्रह्मले जे देख्यो त्यो मैले गरेँ। म संघर्षबाट आएको मान्छे हुँ। हिजो जेलनेल बसेँ। फाँसीमा झुण्डिन सक्थे। मैले गलत कदमको समर्थन गर्दै हिडेँ भने लोकतन्त्रप्रतिको मेरो प्रतिबद्धताप्रति चुनौती हुँदैन? त्यो मैले गर्न मिल्दैन।

मैले त  पार्टीभित्र भएको गलत काम पनि सच्याऔँ भन्नुपर्‍यो। बाहिरको गलत कामको पनि विरोध गर्नुपर्‍यो।

नेपाली कांग्रेसको विधानले कांग्रेसले रुख चिह्नमा मतदान गर्ने भन्छ। कांग्रेसको झण्डालाई आदर गर्ने भन्छ। अब हामीले कांग्रेसको केन्द्रीय समितिको निर्णय मानेर हँसिया-हथौडामा भोट हाल्दा नेपाली कांग्रेसको विधान अनुकुल भयो त?

तपाईँको उम्मेदवारी मतदानसम्म टिक्दैन भन्ने चर्चा पनि छ नि!

मैले उम्मेदवारी किन फिर्ता गर्ने? मैले फिर्ता गर्न उम्मेदवारी दिएकै होइन। यो मेरो सिद्वान्तको लडाइँ हो। हेर्नुहोला मेरो उम्मेदवारी मत परिणामसम्मै  पुग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.